सल्यान : नेपालका शक्तिपीठहरूमध्ये बलि नचढाइने एकमात्र शक्तिपीठको रूपमा चिनिने सल्यानको छत्रेश्वरी मन्दिरको विशेष धार्मिक महत्त्व छ । धार्मिक विश्वासअनुसार, यहाँ सर्वप्रथम अष्टभैरवले पूजा–आराधना गरेका कारण कुनै पनि अवसरमा बलि चढाइँदैन । स्कन्दपुराणको दशौं अध्यायमा वर्णित प्रसिद्ध छत्रेश्वरी शक्तिपीठमा साउनको अन्तिम सोमबार आज बिहानैदेखि दर्शनार्थीहरूको भिड लागेको छ । छत्रेश्वरी गाउँपालिका–६ स्थित यो मन्दिरमा स्थानीयबासीदेखि देशका विभिन्न स्थानका भक्तजनहरू पूजाअर्चनाका लागि बिहानैदेखि आएका हुन् ।
मन्दिर परिसरसँगै रहेका छायाँढुंगा, पिशाचेश्वर मन्दिर, शंखपार्क, लान्तीस्थित १०८ शिवलिङ्ग तथा राप्ती राजमार्गको मरठाचौर शिवमूर्ति लगायतका धार्मिक स्थलहरूमा पनि भक्तजनहरूको घुइँचो लागेको छ। साउन महिनाभर व्रत बसेका महिलाहरूले यस दिन विशेषगरी छत्रेश्वरी मन्दिरमा विधिपूर्वक पूजा गरेर व्रत सम्पन्न गर्ने परम्परा रहेको छ ।
छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले बिहानै आफूले पनि मन्दिरको दर्शन गरेको बताउँदै जिल्लाका विभिन्न स्थानबाट भक्तजनको आगमन भइरहेको जानकारी दिए । “पछिल्ला वर्षमा पदमार्ग, प्रतिक्षालय र बिसौनी जस्ता संरचना निर्माण गरी मन्दिर परिसरको विकासमा प्राथमिकता दिइएका छौं,“ उनले भने । गाउँपालिका धार्मिक आस्थाको केन्द्रको संरक्षण र प्रवर्धनका लागि निरन्तर सक्रिय रहेको उनले बताए ।
सत्ययुगकालीन ऐतिहासिक सन्दर्भसँग जोडिएको यो शक्तिपीठबारे जनश्रुतिअनुसार भगवान् शिवले सतीदेवीको मृत शरीर बोकी विश्व भ्रमण गर्ने क्रममा यही थुम्कोमा सतीदेवीको शरीरको शेष अङ्ग खसेको थियो। त्यसयता यो स्थान शक्तिपीठको रूपमा प्रतिष्ठित रहँदै आएको छ ।
महाशिवरात्रि, तीज, चैतेदशैं, पौष पूर्णिमा लगायतका प्रमुख पर्वमा वर्षेनी हजारौं भक्तजन यहाँ दर्शनका लागि आउने गर्दछन् । धार्मिक पर्यटनका दृष्टिले पनि यो स्थल महत्वपूर्ण गन्तव्यको रूपमा स्थापित हुँदै आएको छ। प्राकृतिक सौन्दर्य, हरियाली वन र ऐतिहासिक महत्त्वका कारण छत्रेश्वरी शक्तिपीठ वर्षभर आकर्षणको केन्द्र रहन्छ ।
भौगोलिक रूपमा, मन्दिर सदरमुकाम सल्यान खलङ्गादेखि पूर्वतर्फ करिब २३ किलोमिटर दूरीमा राप्ती राजमार्गको शंखमूलबाट ४ किलोमिटर माथि थुम्कोमा अवस्थित छ । यहाँको शान्त वातावरण, घण्टीको मधुर ध्वनि, धुप–दीपको सुगन्ध र भजन–कीर्तनले भक्तजनहरूलाई आध्यात्मिक शान्ति र मानसिक सन्तोष प्रदान गर्ने विश्वास गरिन्छ ।
आज बिहानैदेखि देखिएको भिड र धार्मिक उल्लासले यो पवित्र स्थलप्रतिको श्रद्धा र आस्था अझ स्पष्ट रूपमा प्रकट गरेको छ । स्थानीयवासी र धार्मिक व्यक्तित्वहरूका अनुसार, यस प्रकारका अवसरहरूले छत्रेश्वरी शक्तिपीठलाई न केवल धार्मिक तर सांस्कृतिक र पर्यटन गन्तव्यका रूपमा पनि परिचित गराइरहेको छ ।