सल्यान : सल्यानमै प्राविधिक शिक्षाको अवसर उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा आएका प्राविधिक धारका कक्षाहरू विद्यार्थी अभावका कारण बन्द हुने अवस्थामा पुगेका छन् । हाल सल्यानमा सीटीइभीटी, आंगिक तथा विभागीय मान्यता प्राप्त एक निजीसहित १६ वटा प्राविधिक धारका कक्षा सञ्चालनमा छन् ।
तर विद्यार्थी नपाएकाले केही धारहरू बन्द भइसकेका छन् भने केही बन्द हुने अवस्थामा पुगेका छन् । सीटीइभीटीबाट मान्यता पाएका ५ विद्यालयमा त भर्नानै नभएर पठनपाठन रोकिएको छ ।
२०७५ सालमा सीटीइभीटीको आंगिक शिक्षालयका रूपमा नेत्रलाल बहुप्राविधिक शिक्षालय स्थापना गरिएको थियो । सुरुका वर्षहरूमा बाहिरी जिल्लाबाट समेत विद्यार्थी अध्ययन गर्न आउँथे । तर पछिल्ला दुई वर्षयता विद्यार्थी संख्या तीव्र गतिमा घटेको शिक्षालय प्रमुख अर्जुन श्रेष्ठले जानकारी दिए । ‘यस वर्ष ४८/४८ जनाको कोटा रहे पनि सिभिल इन्जिनियरिङमा १९ र भेटेरिनरीमा १६ जनाले मात्र आवेदन दिएका छन्,’ उनले भने, ‘अहिले अधिकांश विद्यार्थी ११÷१२ पढेर वैदेशिक रोजगारीतर्फ जाने भएकाले सीटीइभीटीमा पढ्ने संख्यामा कमी आएको छ ।’
यस्तै, २०६९ सालदेखि शारदा नगरपालिका–१ स्थित शिवजन मावि शीतलपाटीमा सञ्चालन हुँदै आएको तीन वर्षे डिप्लोमा कार्यक्रम पनि विद्यार्थी नपाएकै कारण दुई वर्षयता बन्द छ । यस वर्ष १८ महिने कृषि जेटीएमा १० र भेटेरिनरी जेटीएमा ११ जनाले मात्र आवेदन दिएका छन् ।
शारदा मावि शंखमूलले सञ्चालन गर्दै आएको बाली विज्ञान र पशुविज्ञान कार्यक्रम पनि दुई वर्षदेखि ठप्प रहेको विद्यालयकी प्रधानाध्यापक जीवनी रावतले बताइन् । ‘हामीले गाउँ–गाउँमा गएर काउन्सिलिङ र प्रचार–प्रसार गरे पनि विद्यार्थीको संख्या झन् घट्दै गएको छ,’ उनले भनिन् ।
हाल सञ्चालनमा रहेका १६ प्राविधिक धारमध्ये ८ वटा शिक्षा विभागले मान्यता दिएको कक्षा ९ देखि १२ सम्मका हुन् । बाँकी ६ विद्यालय सीटीइभीटीसँग सम्बन्धन प्राप्त छन् । यीमध्ये ५ विद्यालयमा विद्यार्थी अभावका कारण पठनपाठन नै रोकिएको छ । विभागीय धारमा पनि विद्यार्थी संख्या घट्दो क्रममा छ । सरोकारवालाका अनुसार, पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिए पनि परिणाम देखिएको छैन । योजनाविनै समान खालका कार्यक्रम सञ्चालन हुनु, रोजगारीको सुनिश्चितता नहुनु र वैदेशिक रोजगारीतर्फ युवाको आकर्षण बढ्नु भर्नादर घट्नुका मुख्य कारण हुन् ।