२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

सिंहदरबारभित्र अनुत्पादक भिड

ADV
२०८१ साउन ३ गते ०६:४५
सिंहदरबारभित्र अनुत्पादक भिड

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २१ वटै मन्त्रीहरुको शपथ र पदभार ग्रहण आफूसँगै गराएका थिए । राष्ट्रपति कार्यालय शितल निवासमा ३१ असारमा आयोजित शपथ समारोहमै प्रधानमन्त्री ओलीले दुई उपप्रधान सहित २२ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए । शपथ लिएपछि प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरु पदभार ग्रहण गर्न सिंहदरबारस्थित कार्यकक्ष पुगेका थिए । जबकी २८ असारमा मात्र निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभामा अल्पमतमा पर्दै पदमुक्त भएका थिए । तर नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्ड पदमुक्त भएको तीन दिनभित्रै नयाँ मन्त्रिपरिषद्ले पूर्णता पायो । तीन दिनभित्रै सबै मन्त्रालयले विभागीय नेतृत्व पाउनुमा नवनियुक्त प्रधानमन्त्री ओलीको तत्परता महत्वपूर्ण छ । फटाफट काम गर्ने चाहनाकै कारण मन्त्रिपरिषद् गठनमा अलमल नगरिएको हुन सक्छ । 

जबकी मन्त्रिपरिषद् बनाउनु सजिलो भने थिएन । नेपाली कांग्रेस र नेकपा एमाले जस्ता ठूला दलहरु सम्मिलित गठबन्धनबाट प्रधानमन्त्री बनेका ओलीले शक्ति सन्तुलन मिलाएर मन्त्री चयन गर्नु सजिलो थिएन । अझ कांग्रेसभित्र धेरै शक्ति केन्द्रहरु छन्, जसलाई मिलाएर मन्त्री बनाउने सभापति शेरबहादुर देउवाको चाहना बेवास्ता गर्ने हैसियतमा ओली छैनन् । आफ्नै दलभित्रका मन्त्रीहरु छान्नु र अरु साना दलहरुलाई मन्त्रालय भाग पुर्‍याउनु सजिलो नहुँदा मन्त्रिपरिषद् गठनमा समय लाग्ने अनुमान गरिएको थियो । तर पूर्वानुमान गलत सावित गर्दै ओलीले फटाफट मन्त्रिपरिषद्लाई पूर्णता दिए । पहिलो मन्त्रिपरिषद् बैठकमै मन्त्रीहरुलाई एक महिनाभित्र देखिने काम गर्न निर्देशन पनि प्रधानमन्त्री ओलीले दिएका छन् । 

तर प्रधानमन्त्रीको निर्देशन बमोजिम परिणाम देखिनेगरी काम गर्नुको साटो उल्टै हिजोआज सिंहदरबार मेलामा परिणत भएको छ । मन्त्रीहरुलाई बधाई दिन जानेहरुले मन्त्रालय भरिभराऊ भएका छन् । त्यसैपनि ठूलो संगठन रहेको कांग्रेस र एमालेको संयुक्त सरकार भएकाले कार्यकर्ताको भीड हुने नै थियो । मन्त्रीसँग उभिएको तस्वीर खिचेर सामाजिक सञ्जालमा प्रचार गर्ने मोह र कतिपयलाई त्यही तस्वीर शक्ति देखाउने अवसर समेत भएकाले भीड बढेको छ । यस्तो भीडले न राम्रो संस्कृतिको निर्माण गर्नेछ, न मन्त्रीहरुलाई काम गर्ने बातावरण बन्नेछ । बरु अनुत्पादक रुपमा बधाई दिन/लिन लामो समय खर्च हुने देखिन्छ । बिगतका नजीरहरु हेर्दा कम्तिमा एक साता बधाईमै मन्त्रीहरुको समय जाने अनुमान गर्न सकिन्छ । जबकी यतिबेला मुलुक बाढी, पहिरो र डुबानको पीडामा छ । उद्धार, राहत र पुनस्र्थापनामा हातेमालो गर्नुपर्ने शक्ति बधाई दिने/लिनेमा खर्च भइरहेको छ । तत्काल यस्तो प्रवृत्ति अन्त्य गरेर मन्त्रीहरुलाई काम गर्ने बातावरण सिर्जनामा सबैको सहयोग पुग्न जरुरी छ ।

ADVADV

सम्बन्धित खबर

Advertise