डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बगर बजारमा सोमबार अनुगमन गरिएको छ । पालिकाकी उप प्रमुख देवी घर्तीको संयोजकत्वमा भएको अनुगमनमा पालिकाको केन्द्रसमेत रहेको बगर बजारभित्र सञ्चालित विभिन्न पसल तथा व्यवसायहरूमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा ५४ हजार ९ सय २० हजार रुपैयाँ बराबरका म्याद गुज्रेका सामान बरामद गरी नष्ट गरिएको नगरपालिकाका सूचना अधिकारी डा. हेमन्त शाहीले जानकारी दिए ।
म्याद गुर्जेका बरामद सामानहरूमा विभिन्न प्रकारका प्राउन्ड, चिजबल, भ्यासलिन, सोडा, बिस्कुट, सस, मेहेन्दी, सेनेटरी प्याड, कपाल तेल, मसला, जिरा, पापड, भुजा, मैदा लगायतका वस्तुहरू रहेका थिए।
सबैभन्दा बढी म्याद गुज्रेको मैदा बरामद भएको र बरामद गरिएका सम्पूर्ण वस्तु आवश्यक प्रक्रिया पूरा गरी त्रिपुराकोट प्रहरी चौकीमा नष्ट गरिएको नगरपालिकाले जनाएको छ ।
उपप्रमुख घर्ती, सूचना अधिकारी डा. शाही, कृषि अधिकृत दीपेन्द्र ऐडी, पशु प्राविधिक प्रदीप बाबु ढकाल, स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक तुलबहादुर श्रेष्ठ, जयप्रकाश साह (सब इन्जिनियर), राहुल कुमार यादव (सब इन्जिनियर), त्रिपुराकोट प्रहरी चौकीका नायब निरीक्षक याम बहादुर बस्नेत, नगर पालिकाका नगर प्रहरी, त्रिपुराकोट बगर बजार व्यवस्थापन समितिका पदाधिकारीहरु लगाएतको उपस्थितिमा बजार अनुगमन गरिएको थियो ।
नगरपालिकाले पछिल्लो समय बजार अनुगमनलाई तीव्रता दिएको छ । सोही क्रममा त्रिपुराकोट बगर बजारमा सञ्चालनमा रहेका सबै व्यवसायहरूलाई १५ दिनभित्र व्यवसाय दर्ता तथा नवीकरण अनिवार्य गर्न निर्देशन दिइएको छ ।