२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

डोल्पाका स्थानीय तहको बेरुजु रकम १ अर्ब, सबैभन्दा बढी ठुली भेरीको

ADV
पुर्ण कुमार
२०८१ साउन ३ गते २०:५९
डोल्पाका स्थानीय तहको बेरुजु रकम १ अर्ब, सबैभन्दा बढी ठुली भेरीको

डोल्पा : डोल्पाका आठवटै स्थानीय तहले वित्तीय अनुशासनको ख्यालै नगरी सरकारी बजेट खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष ०७९/०८० को प्रतिवेदनअनुसार सरकारी बजेट खर्च गर्दा स्थानीय तहले अपनाउनुपर्ने वित्तीय अनुशासन बेवास्ता गरी सरकारी रकम जथाभावि दुरुपयोग गरेको पाइएको हो । 

दुई नगरपालिका र ६ वटा गाउँपालिका रहेको डोल्पामा करार कर्मचारी नियुक्तिमा पेस भएको बिल भर्पाइभन्दा धेरै भुक्तानी भएको पाइएको छ । खरिद नियमावलीविपरीत सामग्री खरिद गरिएको देखिन्छ । त्यस्तै इन्धन, खाना खर्च तथा जनप्रतिनिधिको सेवा सुविधामा मनपरि ढंगले विकास बजेट खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

विकास बजेट भागबन्डा गर्ने, अनावश्यक भ्रमण गर्ने, परामर्शदाताका नाममा मिलोमतोमा करोडौं भुक्तानी गर्ने र आवश्यक कागजात बिना नै करोडौं भुक्तानी गरेको पाइएको छ । त्यतिमात्र नभइ पालिकाका कर्मचारीका नाममा लाखौं पेस्की रकम दिने र उक्त रकम व्यक्तिगत खातामा हालेर सरकारी कार्यक्रम चलाउने गरेको समेत महालेखाले जनाएको छ ।

महालेखाका अनुसार डोल्पाका आठ स्थानीय तहको कुल बेरुजु रकम १ अर्ब, ८६ करोड ४० लाख ४० हजार रुपैयाँ रहेको पाइएको छ । ८ पालिकामध्ये सबै भन्दा बढी ठुलीभेरी नगरपालिकामा बेरुजु रकम बढी रहेको छ ।

त्रिपुरासुन्दरी नगरपालिका

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकामा आव ०७९/०८० मा संघ प्रदेशबाट अनुदान प्राप्त रकमको चरम दुरुपयोग भएको पाइएको छ । नगरपालिकाको हालसम्मको कुल बेरुजु २६ करोड १० लाख ४० हजार छ । जसमा असुल गर्नुपर्ने मात्रै ८२ लाख ७६ हजार छ। प्रमाण पेस गर्नुपर्ने १ करोड ५० लाख ४२ हजार, नियमित गर्नुपर्ने ५ करोड ३ लाख ८४ हजार र पेस्की बाँकी ६४ लाख ९३ हजार बेरुजु छ ।

यो आँकडा हेर्दा प्रत्येक वर्ष नगरपालिकाको बेरुजु थपिँदै गएको देखिन्छ । आव ०७८/०८९ मा नगरपालिकाको कुल बेरुजु १८ करोड ४७ लाख ५७ हजार थियो। परीक्षणबाट हालसम्म ४२ लाख ७० हजार ९ सय ३८ मात्र घटेको देखिन्छ । 

नगरपालिकाले विभिन्न भुक्तानीबाट कर कट्टी गरिएको रकम पनि राजस्व खातामा दाखिला गर्ने नगरेको र सामाजिक सुरक्षा, दिगो सरसफाइ आयोजना तथा गरिबसँग विशेश्वर कार्यक्रमको ४ करोड ९९ लाख ६२ हजार ७ सय २४ रुपैयाँ रकमको वित्तीय विवरण अर्थात् सुत्रमा समावेश नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

आव ०७९/०८० मा मात्रै नगरपालिकाले पदाधिकारी खर्चमा ८८ लाख ७ हजार, खाना खाजा खर्चमा ३१ लाख ७१ हजार ५ सय ७६ र सवारी भाडा खर्चमा मात्रै २७ लाख १७ हजार ५ सय ९० खर्च गरेको पाइएको छ ।

महालेखाको प्रतिवेदनअनुसार नगरपालिकाबाट गरिने विभिन्न भुक्तानी र जनप्रतिनिधि र कर्मचारीको भ्रमण खर्चमा वास्ताविक रकमभन्दा धेरै भुक्तानी भएको उल्लेख गरिएको छ ।

ठुलीभेरी नगरपालिका

जिल्लाको ठुलीभेरी नगरपालिकामा पनि आर्थिक अनुशासन कायम नगरेरै सरकारी रकम दुरुपयोग भएको पाइएको छ । जिल्ला भित्रका अरु स्थानीय तह भन्दा यो पालिकामा बेरुजु रकम बढी छ । नगरपालिकाको हालसम्म ४३ करोड ३७ लाख ३७ हजार बेरुजु कायम रहेको छ । यो बेरुजु जिल्लाका सबै स्थानीय तहभन्दा धेरै हो । 

जसमा असुल गर्नुपर्ने ६४ लाख ४३ हजार, कागजात पेस गर्नुपर्ने ३ करोड ५७ लाख ३५ हजार र नियमित गर्नुपर्ने ३ करोड ५५ लाख ३ हजार रहेको छ। त्यसैगरी पेस्की बाँकी ६२ लाख ५६ हजार छ। नगरपालिकाको आव ०७८÷०७९ सम्म ३४ करोड ९८ लाख बेरुजु रहेको थियो । 

त्रिपुरासुन्दरी जस्तै ठूलीभेरी नगरपालिकामा पनि नियमविपरीत करार कर्मचारी भर्ना गरेर विकास बजेटबाट तलब भत्ता खुवाएको विषय नियमविपरीत भएको भन्दै यस्तो नगर्न महालेखाले सचेत गराएको छ ।

जगदुल्ला गाउँपालिका

यस्तै वित्तीय अनुशासन कायममा जगदुल्ला गाउँपालिका अन्य स्थानीय तहको तुलनामा पहिलो नम्बरमै रहेको छ । तर, पनि कतिपय कुराहरूमा यस गाउँपालिकाले मनपरि ढंगबाट खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

हालसम्म गाउँपालिकाको कुल बेरुजु ४ करोड ४ लाख २५ हजार छ । जसमा असुल गर्नुपर्ने ४ लाख ६६ हजार, कागजात पेस गर्नुपर्ने ६२ लाख ४३ हजार, नियमित गर्नुपर्ने १ करोड ६४ लाख ९७ हजार छ । पेस्की बाँकी ६१ लाख ९० हजार रहेको छ । पालिकाले कानुन नै नबनाएर कर्मचारी कल्याण कोष खडा गरी ५ लाख ७० हजार जम्मा गरेको भन्दै उक्त रकममा अनियमितता भएको महालेखाले आफ्नो प्रतिवेदनमा जनाएको छ ।

मुड्केचुला गाउँपालिका

मुड्केचुला गाउँपालिकाको कुल बेरुजु २१ करोड ५२ लाख ९५ हजार छ । जसमा असुल गर्नुपर्नेमा ५३ लाख ३५ हजार, कागजात पेस गर्नुपर्नेमा ५ करोड २७ लाख ३० हजार, नियमित गर्नुपर्ने २ करोड ५१ लाख ६५ हजार र पेस्की बाँकी २ लाख ५० हजार छ । उक्त पालिकामा पनि नियम बिपरित करार कर्मचारी भर्ना गरेको र फोटोकपी बिल भर्पाइका आधारमा विकास योजनाको रकम भुक्तानी गरेको पाइएको छ । खाना तथा विविध खर्चमा ३५ लाख खर्च गरेको पाइएको छ। गाउँपालिका भित्रका मुख्य ओहोदामा बसेका कर्मचारीले नै  दोहोरो भ्रमण खर्च सुविधा लिएको पाइएको छ । 

काइके गाउँपालिका

यस्तै काइके गाउँपालिकाको हालसम्मको कुल बेरुजु ७ करोड ८३ लाख १५ हजार छ । जसमध्ये असुल गर्नुपर्ने १९ लाख ९९ हजार, प्रमाण पेस गर्नुपर्ने २६ लाख १९ हजार र नियमित गर्नुपर्ने १ करोड १३ लाख ४० हजार छ । पेस्की बाँकी ३ हजारमात्र छ ।

डोल्पोबुद्ध गाउँपालिका

उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध गाउँपालिकाको कुल बेरुजु ११ करोड ६२ लाख ९१ हजार रुपैयाँ छ । जसमा असुल गर्नुपर्ने ५३ लाख ६१ हजार, प्रमाण पेस गर्नुपर्ने १ करोड १९ लाख ६३ हजार, नियमित गर्नुपर्ने ९ लाख ५७ हजार र पेस्की बाँकी १ करोड ८४ लाख १५ हजार रुपैयाँ छ । पालिकाले खाना तथा विविध खर्चमा ४ लाख रुपैयाँ खर्च गरेको छ ।

त्यसैगरी विभिन्न निर्माण कम्पनीका नाममा दिएको ९८ लाख ५० हजार रुपैयाँ पेश्की अझै फट्र्योट हुन सकेको छैन। पालिकाले एउटा आयोजना रकम छुट्टयाएर अर्को कार्य क्षेत्र बाहिरको आयोजना दिएको पाइएको छ ।

छार्काताङसोङ गाउँपालिका

उपल्लो डोल्पामै पर्ने छार्काताङसोङ गाउँपालिकाको कुल बेरुजु ६ करोड ५३ लाख ७१ हजार रुपैयाँ छ । जसमा असुल गर्नुपर्ने २ लाख ८३ हजार, प्रमाण पेस गर्नुपर्ने ६६ लाख ७५ हजार, नियमित गर्नुपर्ने ९० लाख ८६ हजार र पेस्की बाँकी ४१ लाख ६३ हजार रुपैयाँ छ । यस गाउँपालिकाले खाना तथा विविध खर्चमा २१ लाख ११ हजार ३ सय ३० रुपैयाँ खर्च गरेको छ। आर्थिक सहायतामा मात्रै ३२ लाख ७५ हजार खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । पालिकाले आफ्नै बजेट सुत्रमा हाले बापत कर्मचारीलाई ९८ हजार भत्ता दिएको पाइए पछि यस्ता खर्च कटौत गर्न महालेखाले सचेत गराएको छ ।

जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धी ऐनविपरीत प्रमुखको स्वकीय सचिव राखी ४ लाख ५६ हजार भुक्तानी गरेको पाइएको छ । यसलाई मलेपले अनियमित खर्चका रूपमा व्याख्या गरेको छ । डोजरको इन्धन खरिद र ढुवानीमा मात्रै ६९ लाख २५ हजार र मर्मतमा १६ लाख ९९ हजार खर्च गरेको पाइएको छ। त्यसैगरी गाउँपालिकाका प्रमुख, उपप्रमुखले जिल्लाभित्र भ्रमण गरेबापत लिएको ६१ हजार पाँच सय रुपैयाँ  महालेखाले असुल गर्नुपर्ने जनाएको छ ।

यस पालिकाले पदाधिकारीहरूलाई मात्रै ३८ लाख ७६ हजार ६ सय रुपैयाँ अघिल्लो आवमा भुक्तानी गरेको पाइएको छ । त्यति मात्र नभई कर्णाली प्रदेशको पदाधिकारीको सेवा सुविधासम्बन्धी ऐनविपरीत जनप्रतिनिधिहरूलाई यातायात खर्चबापत २ लाख १६ हजार रुपैयाँ भुक्तानी गरेकोमा महालेखाले असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेको छ। गाउँपालिकाले सोलार, ग्याँस चुलो, औषधिलगायतका करोडौं रकम बराबरका खरिदहरू प्रक्रियानै नपु¥याइ खरिद गरेको विषय महालेखाको प्रतिवेदनमा उठाइएको छ ।

शे–फोक्सुन्डो गाउँपालिका 

उपल्लो डोल्पामै पर्ने शे–फोक्सुन्डो गाउँपालिकाको कुल बेरुजु २ करोड ३५ लाख ८६ हजार रुपैयाँ छ । जसमा असुल गर्नुपर्ने १३ लाख ८ हजार, प्रमाण पेस गर्नुपर्ने ५५ लाख ४३ हजार र नियमित गर्नुपर्ने ५६ लाख ५७ हजार रुपैयाँ छ । अन्य पालिका जस्तै यस पालिकामा पनि विकास बजेट खर्चको अवस्था सन्तुलित नभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । 

ADVADV

सम्बन्धित खबर

Advertise