सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा मागेर प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा एमालेका सांसदले बिहीबार संयुक्त बक्तव्य जारी गरेका छन् । एमालेको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री सोडारीलाई अनौपचारिक रुमा यसअघि पनि राजीनामाको आग्रह गरिएको थियो । तर मुख्यमन्त्री सोडारीले राजीनामा नदिने अडान लिएका छन् । जबकी चालु आर्थिक वर्ष २०८१/०८२ सुरु भएसँगै प्रदेश बजेट होलीडेमा गएको छ । मुख्यमन्त्री सोडारीले पेश गरेको बजेट छलफल नै नभई अलपत्र परेकाले प्रदेश बजेटविहीनताको अवस्थामा गएको हो । तर मुख्यमन्त्री सोडारीले राजीनामा दिने अनि ठूला दलहरुले जसरी पनि सरकार फेर्ने निर्णय लिनुको नोक्सानी प्रदेशले खेप्नु परेको छ । दुवै पक्षले लिएको अडान जनादेश बिपरीत हुन् ।
तर विशेष ध्यान दिनुपर्ने शक्ति एकीकृत समाजवादी र मुख्यमन्त्री सोडारी हुन् । त्यसैपनि सोडारीले मुख्यमन्त्रीको दाबी गर्नु नै जनादेश बमोजिम थिएन । ५३ सदस्यीय प्रदेशसभामा चार जना सांसद रहेको नेकपा एकीकृत समाजवादीका नेता सोडारी मुख्यमन्त्री बन्नु जनादेश बिपरीतको कुरा हो । तर हङ पार्लियमेन्ट हुँदा कहिलेकाँही यस्तो परिस्थिति आउँछ । सरकार बनाउनैपर्ने हुन्छ, र अर्को विकल्प नहुँदा थोरै संख्या रहेको दलले पनि सरकारको नेतृत्व गर्न सक्छन् । तर सुदूरपश्चिम प्रदेशको अवस्था त्यस्तो होइन । बरु अघिल्लो सरकारको समीकरण टिकाउन सोडारीलाई मुख्यमन्त्री बनाइएको थियो । अब त्यो समीकरण नै रहेन र नयाँ समीकरणसँग प्रष्ट बहुमत छ भने सोडारीले अडान लिएर प्रदेशलाई बन्धक बनाउनु हुन्न ।
सोडारीले मात्र होइन, एकीकृत समाजवादीको केन्द्रीय नेतृत्वले नै राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकाबारे एकपटक सोच्न आवश्यक छ । तीन प्रतिशतको थ्रेस होल्ड कटाएर राष्ट्रिय दलको मान्यता समेत पाउन नसकेको एकीकृत समाजवादीले अहिले पनि मुलुककै नेतृत्वमा दाबी गरिरहेको छ । माधवकुमार नेपालले पार्टीको नेतृत्व नछोड्ने अडान लिनुमा प्रधानमन्त्री बन्ने लोभ मुख्य कारण देखिन्छ । यसको अर्थ पूर्वप्रधानमन्त्री नेपाललाई अझै मुलुकको नयाँ प्रधानमन्त्री बन्छु भन्ने विश्वास छ । तर उनको उद्देश्य पुरा हुन मुलुक पुरै राजनीतिक अस्थिरतामा फस्नुपर्छ । नत्र दलीय मान्यता समेत पाउन नसकेको एकीकृत समाजवादीका अध्यक्षले प्रधानमन्त्री बन्ने अवसर पाउने छैनन् । अर्थात् एकीकृत समाजवादीले राजनीतिक अस्थिरता चाहने र मुलुकको हित चाहने अथवा प्रधानमन्त्री पद भन्नेबारे प्रष्ट हुनुपर्छ । पक्कैपनि एउटा नेतालाई मुलुकको नेतृत्व गर्ने सपना हुनु स्वभाविक कुरा हो । तर चुनावबाट त्यो सपना पुरा हुन आवश्यक छ ।