अर्जुन बिष्ट/मध्यान्ह
रुकुम पश्चिम : नेपाली काँग्रेसको आसन्न चौधौं केन्द्रीय महाधिवेशनको तालिका अनुसार अहिले विभिन्न जिल्लाहरुमा अधिवेशन भैरहेको छ । केही जिल्लामा अधिवेशन सम्पन्न भैसकेको छ भने केही जिल्लामा नेतृत्व चयन सहमतिमा भैरहेको र कतै निर्वाचन सम्पन्न भैसकेको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिएका छन् ।
उनका अनुसार जिल्ला अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन प्रक्रिया अघि बढेको र कतै निर्वाचन भएर मतगनणा शुरु भइसकेको र कतै निर्वाचन भइरहेकोछ ।
यसै क्रममा कर्णाली प्रदेशका डोल्पा, सल्यान र जाजरकोटमा नेपाली कांग्रेसले नयाँ नेतृत्व चयन गरेको छ । सल्यानमा केश बहादुर विष्ट र डोल्पामा दीपेन्द्र बहादुर शाही निर्वाचन प्रणालीमार्फत जिल्ला सभापतिमा निर्वाचित भएका छन् भने जाजरकोटको सभापतिमा वेदराज सिंह सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।
नेपाली कांग्रेस डोल्पाको सभापतिमा दीपेन्द्रबहादुर शाही निकटतम प्रतिस्पर्धी अंगदकुमार बुढालाई ७९ मतले पछि पार्दै शाही बिजयी भएका छन् ।
शाहिले २ सय ३७ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी उम्मेदवार बुढाले १ सय ५८ मत प्राप्त गरेका हुन् ।
डोल्पामा मतदान बुधबार सकिएको छ। सभापतिमा निर्वाचित शाही देउवा पक्षीय नेता हुन् । निर्वाचन समितिका अनुसार अन्य कार्यसमितिमा पनि शाही नेतृत्वकै प्यानल बिजयी भएका छन् । महाधिवेशन प्रतिनिधिको मतगणना भने हुन बाँकी नै छ ।
त्यस्तै उपसभापतिमा लवकुमार शाही, पूर्णबहादुर शाही, सचिवमा दशरथ रोकाय, हिक्मतबहादुर शाही र सह सचिवमा सुरेन्द्रप्रसाद महत र लक्ष्मणकुमार शाही बिजयी भएका छन् । डोल्पामा ५ सय १९ मतदातामध्ये ४ सय ३९ मत खसेको थियो ।
सल्यानमा पनि देउवा प्यानलकै उम्मेदवार बिजयी भएका छन् । जस अनुसार जिल्ला सभापतिमा ६ सय १२ मत प्राप्त गरि केश बहादुर विष्ट निर्वाचित भएका हुन् । अर्का उम्मेदवार ध्रुवराज पुरीले ६०७ मत प्राप्त गरेका थिए । सभापतिमा बिजयी बिष्टले जम्मा ५ मतले जितेका छन् ।
मंगलबार सकिएको निर्वाचनको मतगणना अनुसार उप सभापतिमा चक्र देवकोटा र शन्तोष केसी बिजयी भएका छन् भने सचिवमा प्रकाश भण्डारी र एकराज बुढाथोकी निर्वाचित भएका छन् ।
जाजरकोटमा वेदराज सिंह सर्वसम्मतरुपमा सभापतिमा निर्वाचित भएका छन् । स्थानीय कार्यदलले आइतबार सभापतिसहित सम्पूर्ण जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको नेपाली काँग्रेस जाजरकोटले जनाएको छ । नवनिर्वाचित सिंह देउवा वा पौडेल कुन पक्षका हुन् भन्नेबारे खुलेका छैनन् ।
यस्तै जिल्ला उपसभापति खड्क विसी र रत्न खड्का, सचिवमा हरिशचन्द्र बस्नेत र तेजविक्रम शाह निर्वाचित भएका छन् ।
यसअघि देशभरका वडा र पालिकाहरुमा अधिवेशन सम्पन्न गरिसकेको काँग्रेस मंसिर २४ देखि २६ सम्म हुने १४औं महाधिवेशनको दौडाहामा रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies