२०८२ असोज १७ गते शुक्रवार / Oct 03 , 2025 , Friday
२०८२ असोज १७ गते शुक्रवार
Ads

विकल्पमा नेता तयार नहुँदा एमालेमा कसैले मागेनन् ओलीको राजीनामा 

ओलीकै नेतृत्वमा मंसिर-पुसमा महाधिवेशनको तयारी 

shivam cement
मध्यान्ह
२०८२ असोज १३ गते १६:२७
विकल्पमा नेता तयार नहुँदा एमालेमा कसैले मागेनन् ओलीको राजीनामा 

विघटित संसदको एउटा मुख्य दल नेकपा (एमाले)को सचिवालय बैठकमा भिन्न दृश्य देखियो । बैठकअघि खिचिएको तस्वीरमा हाँसिखुशी देखिए पनि अध्यक्ष केपी शर्मा ओलीको नूर गिरेको थियो, अन्य नेताका अनुहार मलिन देखिन्थे । २३ भदौंको जेनजी आन्दोलन र २४ भदौंको विध्वंसपछि भागाभागको स्थितिमा पुगेका नेताहरु पहिलोपल्ट एकठाउँ भएका थिए । 

तीन साताअघिसम्म सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)सँग सचिवालय बैठक बस्न आफ्नै पार्टी कार्यालयसम्म बाँकी थिएन् । अध्यक्ष ओली मात्र हैन, अधिकांश पदाधिकारीका घर पनि तोडफोड र आगजनीमा परेका थिए । त्यसैले भक्तपुरको गुण्डुस्थित ओलीको नयाँ डेरामा सचिवालय बैठक डाकिएको थियो । 

जेनजी आन्दोलनपछिको परिस्थितिको समीक्षा र पार्टीको नयाँ रणनीति तय गर्न बैठक बसेको थियो । अनौपचारिक छलफल र भेटघाटमा सचिवालयका बहुमत पदाधिकारीहरु अब नेतृत्व परिवर्तन गरेर पार्टी पुर्नगठन गर्नुपर्ने बताइरहेका छन् । तर, पहिलोपटक बसेको सचिवालय बैठकमा कसैले पनि मुख खोलेर अध्यक्ष ओलीको राजीनामा माग्न सकेनन् । घुमाईफिराई पार्टी पुर्नगठन र गम्भीर समीक्षा हुनुपर्ने मत राखेरै बैठक सकियो । 

ओलीको विकल्प खोज्नुपर्ने मत बलियो बन्दै गएकै थियो । आइतबारको बैठकमा यो विषयले प्रवेश पाउने स्वभाविक अनुमान थियो । तर, त्यसो भएन । झण्डै चार घण्टा लामो बैठकमा कसैले पनि ओलीको राजीनामा माग्ने आँट गरेन । त्यसका पछाडि दुई कारण प्रष्ट देखिन्छन् ।

पहिलो, एउटा ठूलो दुर्घटनाबाट बचेर एकसाताभन्दा धेरै सैनिक ब्यारेकमा बसेर फर्किएका ओलीलाई सुरुमै चिढ्याउनुको सट्टा उनको मुड बुझ्नतर्फ पदाधिकारीहरु लागे । गुण्डुमा डेरा सरेदेखि नै ओलीले पदाधिकारीहरुलाई पालैपालो बोलाएर नाडी छामिसकेका थिए । रोचक त, ती भेट हुन् वा सचिवालय बैठक, ओली विगतभन्दा भिन्न शैलीमा प्रस्तुत भएका थिए । यसपटक ओली आफूले धेरै बोल्नेभन्दा पदाधिकारीहरुका कुरा धेरै सुनिरहेका थिए । अघिल्ला बैठकहरुमा फरक मत वा चित्त नबुझेका कुराको तत्कालै खण्डन गरिहाल्ने उनको बानी थियो । तर, यसपटक उनी धैर्यका साथ पदाधिकारीहरुलाई सुनिरहेका थिए । बदलिएको परिस्थितिमा ओली आफैले मार्गप्रशस्त गर्नसक्ने अपेक्षाले पनि पदाधिकारीहरु मुख खोलेरै ओलीबिरुद्ध नखनिएको एक पदाधिकारी बताउँछन् । 

दोस्रो, ओलीले तत्काल नेतृत्व सुम्पन चाहेमा कसलाई अघि सार्ने भन्नेमा पनि एमाले नेताहरु प्रष्ट छैनन । विधानतः अध्यक्षले राजीनामा दिएमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कार्यबहाक भूमिका पाउनसक्छन् । तर, संस्थापन पक्ष उनलाई नेता मानेर जान चाहँदैन् । त्यसको छनक असोज ३ मै दिइसकेको छ । संविधान दिवसमा पोखरेललाई बाइपास गरेर उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको अध्यक्षताका आगजनीले ध्वस्त पार्टी मुख्यालयमा संविधान दिवस मनाइएको थियो ।

ओलीले छाड्ने स्थितिमा पनि कसको नेतृत्वमा पार्टी अघि बढाउने भन्नेमा नेताहरुबीच ठूलो अन्यौल देखिन्छ । ईश्वरलाई संस्थापन पक्षले नस्वीकार्ने स्थिति छ भने अष्टलक्ष्मीलाई अघि बढाउन पूर्वराष्ट्रपति विद्या भण्डारी समूह बाधक बन्ने स्थिति छ । संस्थापन पक्षबाटै उपाध्यक्ष बिष्णु पौडेललाई रोक्न महासचिव शंकर पोखरेल सक्रिय छन् भने ओलीको साथ लिएर पोखरेल अघि बढ्ने स्थिति आएमा रोक्न छुट्टै समूहको गृहकार्यमा उपाध्यक्ष पौडेल लागिसकेका छन् । 

यो स्थितिमा ओलीले सहज रुपमा नेतृत्व हस्तान्तरण गर्ने स्थितिमा आउँदो महाधिवेशनसम्म अहिलेकै नेतृत्वमा जाने मनस्थितिमा नेताहरु देखिन्छन् । यो अन्तरसंघर्ष र अप्ठेरो नजिकबाट बुझेका अध्यक्ष ओली दसैं लगत्तै बोलाइएको सचिवालय बैठकसम्म परिस्थिति आफ्नो पक्षमा सहज बनाउने रणनीतिमा छन् । लगत्तै, बस्ने केन्द्रीय समितिमा बहुमत देखाएर मंसिर अन्तिम साता वा पुस पहिलो साता महाधिवेशनको मिति तोक्ने उनको तयारी छ ।

आफूले राष्ट्रवादी अडान लिएकै कारण भूराजनीतिक चपेटामा पारेर आक्रमण गरिएको ओलीको दाबी छ । राष्ट्रकै कठिन परिस्थितिमा आफूले पार्टी नेतृत्व छाड्दा पार्टी र आन्दोलनले झन् ठूलो धक्का खाने व्याख्या गर्दै आउँदो महाधिवेशनमा अध्यक्ष उठ्ने उनको भित्रि तयारी छ । संस्थापन पक्षका दुई नेता उपाध्यक्ष पौडेल र महासचिव पोखरेलमध्ये एकले अर्कालाई स्वीकार्ने स्थितिमा संरक्षक वा त्यस्तै कुनै पद सिर्जना गरेर नेतृत्व हस्तान्तरण गर्ने कोणबाट पनि गुण्डुमा छलफल भइरहेको स्रोतको दाबी छ । तर, पूर्वराष्ट्रपति भण्डारीलाई आफूपछिको नेता मान्न भने उनी तयार छैनन ।    
 

ADV

सम्बन्धित खबर

Advertise