काठमाडौं : राजनीतिलाई सम्भावनाको खेल देखिरहने नेता पुष्पकमल दाहाल 'प्रचण्ड'मा शुक्रबार त्यस्तो जोश र जाँगर केही देखिएन । बरु, उनको आँखामा २४ भदौको विध्वंशको भय र अन्योल प्रष्टै देखिन्थ्यो ।
आफूलाई लागेका कुरा खुलस्त बोल्ने प्रचण्डको वाणीमा सेल्फ सेन्सरसीप थियो । उनले धेरै कुरा बोले, तर बोल्नै पर्ने विषयहरुमा मौन रहे । देश इतिहासकै ठुलो संकटबाट गुज्रिरहेको बारम्बार दोहोर्याइरहे । राष्ट्रिय स्वाधिनता, नेपालीको आत्मनिर्णयको अधिकारमाथि इतिहासमा कहिल्यै नभएको दबाब र हस्तक्षेप भएको बताए । तर, कसले गर्यो भन्न चाहेनन् । विध्वंशमा नेपाली सेनाको भूमिकाबारे पनि उनी चुपै बसे । तर, केही संकेत गरे अनि, प्रश्नहरु पनि औल्याए ।
जेनजी आन्दोलन भड्किएर २४ भदौंमा विध्वंश चर्किंदा प्रचण्ड विपक्षी दलहरुको बैठक गर्दैथिए । शीर्ष नेताहरुलाई निशाना बनाइएको त्यो घटनामा आफू कसरी बाँचियो भन्नेमै उनी आश्चार्यमा छन् । ‘कहिलेकाहीँ लाग्छ, हामी बचियो कसरी ?’ शुक्रबार केही सम्पादकहरुसँग संवाद गर्दै प्रचण्डले भने, ‘सेनाले बचाएको हो कि ? जनताले बचाएको हो कि ? हाम्रो पार्टीका साथीहरुले बचाएका हुन् कि ? कसले बचायो ?’
विध्वंश बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई त सैनिक हेलिकप्टरबाटै उद्धार गर्नुपर्ने स्थिति आयो । नेताहरुको भागदौड भइरहँदा प्रचण्डका सुरक्षागार्डले बाहिर जाने स्थिति नरहेको जानकारी गराए । प्रचण्ड त्यहीँबाट सैनिक हेडक्वार्टर लगिए । ‘म मात्र त्यस्तो नेता भएँ जसलाई कसैले लगेको पनि हैन, कसैले बोलाएको पनि हैन । सिंहदरबारभित्रै थिए, प्रतिपक्षको बैठकमा । तुलनात्मक रुपमा सुरक्षा यही छ भनेर सेक्युरिटीले भनेपछि त्यहीँ बसे म’ उनले भने, ‘त्यहाँबाट प्रधान सेनापतिसँग सम्पर्क गरेर हामी यही बस्नुपर्ने भयो भनेपछि आफैले सेनासँग सम्पर्क गरेर सेनाकोमा गएको म मात्र रहेछु ।’
त्यसप्रति उनले सेनालाई धन्यवाद पनि दिएका छन् । सेनाको भूमिकाप्रति व्यङ्ग्य मिश्रित केही टिप्पणीहरु भने गरेका छन् । ‘अल्टिमेट्ली हेर्दा त सेनाले बचायो । हामीलाई बचाउने सेनाले सिंहदरबार किन बचाउन सकेन ? सर्बोच्च अदालत र राष्ट्रपति भवन किन बचाउन सकेन ? हेर्दा बडो अनौठो चित्र अनुभूत हुन्छ’ प्रचण्डले भने, ‘जे भए पनि सेनाकै हेडक्वाटरमा बसेर सकुशल आउँदा सेनालाई धन्यवाद त दिनै पर्यो नि । नबचाउन चाहेको भए त हामी मुठीको (माखा)जस्तो भएका थियौं नि, किचिक्कै हुने ठाउँमा पुगेका थियौं । त्यसो त भइएन । के कारणले भइएन ?’ यसो भनिरहँदा प्रचण्डको गला झण्डै अबरुद्ध भएको थियो ।
आफूहरु जोगिनुमा सेनाभन्दा भूराजनीतिक सन्तुलन र चलखेलले काम गरेको उनको भनाइ थियो । ‘गहिरिएर विचार गर्दा हामीलाई भूराजनीतिक शक्ति सन्तुलनले बचाएको होजस्तो लाग्छ । सबैको एउटै कुरा भएको भए हामी जे पनि हुनसक्थ्यौं’, उनले भने,‘नत्र बच्ने स्थिति थिएन ।’
आफै सैनिक हेडक्वार्टरमा सुरक्षा लिन गएको घटनालाई राम्रो वा नराम्रो भन्ने मूल्यांकन गर्ने छुट उनले दिए । त्यहाँ पुगेकैले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधान सेनापति अशोकराज सिग्देलसँग संवाद र परिस्थिति सहज बनाउने व्यापक छलफल गरेको बताए । राष्ट्रपति पौडेलसँग दिनमा ३/४ पटकसम्म छलफल गरिएको र सेनापतिले डाकेको बैठकमा मध्यरातसम्मै बसे । तर, अहिलेको निकासमा आफ्नो भूमिका नगण्य रहेको भने स्वीकारे । ‘तर सबै मैले गरेँ भन्नु चराले चुच्चोमा पानी ल्याएर जंगलको आगो निभाएँ भनेजस्तै हुन्छ’ प्रचण्डले आफै भने ।
जेनजी अगुवा, काठमाडौंका मेयर बालेन शाहलगायतले पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने भनेपछि आफू साक्षी बसेको उनले बताए । राष्ट्रपति पौडेलले राजीनामा दिएर सैनिक ब्यारेकमा पुगेका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस ल्याइसकेका थिए । ओलीले आफैले सिफारिस गरेका कार्कीलाई हाहुको सरकार भन्न नमिल्ने उनी बताउँछन् । ‘एउटा विन्दूमा यो भयानक एपिसोड भयो । अल्लिो प्रधानमन्त्रीको सिफारिसमा तत्काललाई कार्कीलाई प्रधानमन्त्री बनाउने र भर्चुअल मिटिङ गरेरै भए पनि संसद्बाट अनुमोदन गरौं भन्ने मेरो कुरा थियो । त्यो हुन सकेन’ प्रचण्डले भने, ‘संविधान केही ट्याकआउट त भएको छ, त्यसमा हाम्रो असहमति पनि छ तर, तोकिएकै समयमा चुनाव गरेगरी हामी निर्वाचततिरै लाग्नुपर्छ ।’
प्रचण्डले पार्टी नेतृत्व छाड्ने प्रष्ट नबताए पनि भूमिका परिवर्तन गर्ने छनक भने दिएका छन् । सँगै, उनले आफू निष्कृय बस्ने र पलायन हुने स्वभाव नरहेको भने प्रष्टै पारेका छन् । पार्टी अध्यक्षबाट संयोजकको भूमिकामा आएपछिको पहिलो कार्यक्रममा उनले भने, ‘अब म पार्टीको अध्यक्ष भइरहनुपर्छ भन्ने छैन । नयाँ नेतृत्व निर्माण गर्ने पुरानोले नयाँ भूमिका जाने हुनसक्छ ।’
यति भनिसकेपछि प्रचण्डले दलहरुबीच नयाँ सहमतिको प्रस्ताव पनि अघि सारेका छन् । अहिलेको संविधान यथास्थितिमा नजाने जेनजी आन्दोलनले देखाइसकेको उल्लेख गर्दै उनले संशोधन र परिमार्जनका लागि राष्ट्रिय सहमतिको आव्हान गरेका छन् । उनले मुख्यतः तीन विषयमा दलहरुबीच सहमति चाहेका छन् । पहिलो, तोकिएको समयमै आमचुनाव हुने वातावरण बनाउन दलहरु एकठाउँ उभिनुपर्छ । चुनावले नै ट्याकबाहिर पुगेको संविधानलाई फर्काउन सक्छ । दोस्रो, संविधान संशोधनमा दलहरुबीच सहमतिको खाँचो देखेका छन् । तेस्रो, स्वतन्त्रता र स्वाधिनताको रक्षा एवं सुदृढिकरणका लागि दलहरु एकठाउँ उभिनुपर्छ । त्यसका लागि संकटको यो घडीमा एकअर्कालाई दोषारोपण गरेर कोही पनि उम्किन नसक्ने प्रचण्डको भनाइ छ ।