२०८२ कार्तिक १ गते शनिवार / Oct 18 , 2025 , Saturday
२०८२ कार्तिक १ गते शनिवार
Ads

दलित बस्तीमै सञ्चालित नमुना सरकारी विद्यालय 

shivam cement
बालाराम शेर्पाली
२०८२ कार्तिक १ गते १८:००
दलित बस्तीमै सञ्चालित नमुना सरकारी विद्यालय 

रुकुमपूर्व : दलित बालबालिकाले पहिलोपटक आफ्नै गाउँमै आत्मसम्मानका साथ शिक्षा लिने वातावरण  पाएका छन् । रुकुमपूर्वको भूमे गाउँपालिका–९ डाडागाउँमा रहेको श्री मदन स्मृति आधारभूत विद्यालय देशकै पहिलो ‘शुद्ध दलित बस्ती’मा सञ्चालनमा आएको सरकारी विद्यालयका रूपमा परिचित बन्दै गएको छ । डाडागाउँका ६५ घरधुरी सबै विश्वकर्मा (दलित) समुदायका हुन् । यही बस्तीमा रहेको विद्यालयले जातीय समावेशिता, सामाजिक पहिचान र शैक्षिक पहुँचको दृष्टिले दुर्लभ उदाहरण प्रस्तुत गरेको छ ।

२०६४ सालमा सहादत प्राप्त जनमुक्ति सेनाका मदन सुनारको स्मृतिमा स्थापना गरिएको यो विद्यालयमा हाल बाल विकासदेखि कक्षा ५ सम्म पठनपाठन हुँदै आएको छ । गाउँमा अन्य कुनै जातिको प्रवेश छैन र विद्यालय पनि दलित समुदायकै सक्रियतामा सञ्चालन हुँदै आएको छ । प्रधानाध्यापक चेतराम नेपालीका अनुसार विद्यालयमा जातीय घुलमिल नभए पनि भेदभावको कुनै अनुभूति छैन । “यहाँका बालबालिकाले आत्मसम्मानका साथ पढ्न पाएका छन्, जुन अरू धेरै ठाउँमा सहज छैन,” उनले बताए । हाल विद्यालयमा ५० विद्यार्थी अध्ययनरत छन् भने ४ जना शिक्षक (२ पुरुष, २ महिला) कार्यरत छन् ।

विद्यालयमा शौचालय, पिउने पानी, छात्रवृत्ति, खाजा र पाठ्यपुस्तक पर्याप्त मात्रामा उपलब्ध छन् । विद्यार्थी अकेश सुनार र सनीता महर भन्छन्, “हामीलाई खाजा, छात्रवृत्ति र पुस्तक समयमै पाइन्छ, पढ्न सहज छ ।” विद्यालयका संस्थापक अध्यक्ष पलबहादुर विकका अनुसार सुरुदेखि नै दलित बालबालिकाका लागि सुरक्षित र सहज शिक्षण वातावरण बनाउने प्रतिबद्धता रहँदै आएको छ ।

बालविकास शिक्षिका एलिसा महरका अनुसार गाउँमा जातीय भेदभावको अनुभूति कहिल्यै भएको छैन, जसले विद्यार्थीहरूमा आत्मविश्वास बढाएको छ । शिक्षिका जीवनरेखा सुनार भन्छिन्,“शिक्षक, अभिभावक र समुदायबीचको सक्रियताले विद्यालयका धेरै समस्या समाधानमा सहयोग पुर्‍याएको छ ।” गाउँपालिका कार्यपालिका सदस्य भागिलाल दमाईका अनुसार, विद्यालयले गुणस्तरीय शिक्षा दिन सके अन्य ठाउँका बालबालिकालाई पनि आकर्षित गर्ने क्षमता  राख्छ।“राज्यले यस्ता विद्यालयलाई विशेष प्राथमिकतामा राख्नुपर्छ,” उनले भने ।

वडाध्यक्ष विनोद बुढाले विद्यालयमा शिक्षक अभाव, डेस्क–बेञ्च कमीजस्ता समस्या रहेको बताए । “पोषणका लागि अण्डा वितरण कार्यक्रम सञ्चालन भइरहेका छन्, पाठ्यक्रम सुधारतर्फ पहल भइरहेको छ, अझ नयाँ योजना ल्याउने तयारी छ,” उनले जानकारी दिए ।

श्री मदन स्मृति आधारभूत विद्यालय जातीय समावेशिता, सामाजिक न्याय र शिक्षामा पहुँचका दृष्टिले राष्ट्रिय स्तरमै अनुकरणीय नमुना बन्दै गएको छ । यस्तो विद्यालयलाई थप स्रोतसाधन र नीतिगत प्राथमिकता दिइएमा दलित बस्तीहरूमा गुणस्तरीय शिक्षाको नयाँ ढोका खुल्ने सम्भावना देखिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise