
काठमाडौं : नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित साना १० वाम दलबीच बुधबार पार्टी एकता घोषणा भएको छ । नयाँ दलको नाम नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राखिएको छ ।
एकता सम्मेलनलाई सम्बोधन गर्दै संयोजक पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो जेनजी आन्दोलनले आफूहरूलाई सच्चिने अवसर दिएको बताए । सोही आन्दोलनका कारण पार्टी एकता भएको उल्लेख गर्दै भने, ‘जेनजी आन्दोलनले हामीलाई राम्रैसँग घोच्यो । हाम्रा कमजोरीलाई राम्रोसँग उजागर गरिदिनुभयो ।’
प्रचण्डले भाषणमा जेनजी आन्दोलनले सच्चिने अवसर मिलेको बताए पनि एकतापछि बनेको पार्टी नेतृत्वमा पुरानै अनुहार दोहोरिएका छन् । तीन पूर्वप्रधानमन्त्रीहरू पार्टी नेतृत्वको क्रमशः पहिलो, दोस्रो र तेस्रो वरीयतामा छन् । प्रचण्ड पार्टी संयोजक छन् भने माधवकुमार नेपाल सहसंयोजक रहेको सो पार्टी एकताको अन्तिम घडीमा पुगेका झलनाथ खनाल तेस्रो वरीयतामा छन् । उनीपछि वामदेव गौतम र नारायणकाजी श्रेष्ठ छन् । नेतृत्वको यो लहरले नेकपा एमाले र माओवादी केन्द्रबीच ३ जेठ २०७५ मा भएको एकतापछिको सचिवालयको झल्को दिएको छ । तत्कालीन नेकपाको नौ सचिवालय सदस्यमध्ये पाँच नेता अब एउटै पार्टीमा आएका हुन् ।
जेनजी आन्दोलनपछि विघटित प्रतिनिधि सभाका मुख्य दलहरूमा नेतृत्व परिवर्तनको दबाब बढेको थियो । माओवादी केन्द्रले मंसिरमा विशेष महाधिवेशन तोकिसकेको थियो । एकीकृत समाजवादीमा पनि अध्यक्ष नेपाललाई नेतृत्व छाड्न दुई कारणले दबाब थियो । एउटा, जेनजी आन्दोलनको मर्मलाई सम्बोधन गर्दै नेतृत्व हस्तान्तरण गर्न भनिएको थियो । अर्को, उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लगाएको थियो । प्रचण्ड–नेपालले पार्टी एकता गरेर तत्कालका लागि नेतृत्व संकट टारेको आरोप पनि लागेको छ ।
संयोजक प्रचण्ड स्वयंले भने यो आरोपको खण्डन गरेका छन् । ‘हामी यही पदमा बसिराख्नपर्छ भन्ने छैन भनेर माधवजीसँग कुरा गरेका छौं’ एकता सभामा उनले भने, ‘हामीले विचारको निर्माण गर्दै नयाँ पुस्तालाई पार्टी हस्तान्तरण गर्दै लैजान्छौं ।’
पार्टी एकता र नेतृत्वको अनुमोदनमा लामो ताली बज्दा उनी हर्षित थिए । ‘तपाईंहरूले ताली बजाए अनुमोदन गर्नुभएको संयोजक र सहसंयोजक मामुली मात्र होइनन् । इतिहासमा ठुलो भूमिका खेलेका पात्र हौं हामी’ हौसिएका प्रचण्डले थपे, ‘अब यो पार्टीलाई एक नम्बर बन्न अब कसैले रोक्न सक्दैन । कसैलाई टाउको दुखेको हुन सक्छ । कसैलाई निन्द्रा पनि नलागेको हुन सक्छ । तर निन्द्रा नलागे नलागोस् ।’
सहसंयोजक नेपालले विचार, सिद्धान्त मिल्नेसँग एकताको पहल गर्ने र राष्ट्रवादी शक्तिसँग पनि मोर्चाबन्दी गर्ने बताए । सकारात्मक सोच राखेर कसैप्रति पूर्वाग्रह नराखी एकीकृत गर्दै जाने उल्लेख गर्दै उनले भने, ‘तर विदेशी हितका पक्षधर र गणतन्त्रका विरोधीलाई भने पार्टीमा स्थान दिइनेछैन ।’
तेस्रो वरीयताका नेता खनालले भने प्रचण्डसँग केही कुरामा आफ्नो फरक मत भए पनि सिंगो मुलुकलाई एकताबद्ध राख्न वामपन्थीबीच एकताको खाँचो ठानेर आफू आएको बताए । उनी अन्तिम घडीमा मात्र एकतामा जोडिएका थिए । उनले भने, ‘प्रचण्डसँग केही कुरामा फरक मत भए पनि म सिंगो मुलुकलाई एकताबद्ध गर्न वामपन्थीहरू एकताबद्ध हुनुपर्ने अडानमा छु । त्यसैले ढिलो गरेर भए पनि सहभागी भएँ ।’ आफ्नै पार्टी अध्यक्ष नेपाललाई भने उनले बेवास्ता गरेका थिए । अर्का नेता वामदेव गौतमले नेकपालाई १ करोड पार्टी सदस्य भएको पार्टी बनाउन सकिने दाबी गरे ।
जेनजी विद्रोहको सन्देशसहित घोषणा गरिएको भनिए पनि नयाँ कम्युनिस्ट पार्टीका प्रतिबद्धता भने पुरानै छन् । पार्टी र नेताका हकमा केही प्रतिबद्धता गरिएका छन् । पार्टीका सबै नेता तथा कार्यकर्ता उत्पादन र श्रम कार्यमा संलग्न हुने दाबी गरिएको छ । त्यस्तै, कम्युनिस्ट आचरण, अनुशासन र नैतिकताको कडाइका साथ पालना गर्ने, सादा एवं सरल जीवनशैली र पारदर्शी कार्यशैली अबलम्बन गर्ने प्रतिबद्धता जनाइएको छ ।
पार्टीलाई विगतका कामको समग्र समीक्षा गरेर भएका कमीकमजोरी सच्याउँदै कार्यशैलीमा व्यापक सुधार, पुनर्गठन र रूपान्तरण गर्दै अघि बढ्न तत्पर रहने भनिएको छ । यसैगरी पार्टीमा आन्तरिक लोकतन्त्रको सुदृढीकरण गर्न र नेतृत्व विकास एवं हस्तान्तरणको वैज्ञानिक विधि बनाएर लागू गर्ने प्रतिबद्धता पनि गरिएको छ । सो पार्टीले जेनजी पुस्ताका मुद्दा र आकांक्षाको सम्बोधन गर्न प्रतिबद्धता जनाउँदै स्वतन्त्र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न, रोजगारी सिर्जना गर्न र गरिबी अन्त्य गर्न विशेष पहल गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
वाम दलहरूको एकताबारे सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आउन थालेको छ । नेतृत्वमा नयाँ अनुहार नदेखिएकाप्रति माओवादी केन्द्रका जनयुद्धकालीन नेता लेखनाथ न्यौपानेले व्यंग्य गरेका छन् । एकता सम्मेलनमा सहभागी नभएरै घरबाटै उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘ओछ्यानमा बसेर भिडियो हेरेपछि ‘पिँध नभएका लोटा, अनुहार कुच्चिएका, पानीका लौरा, पिङ खेल्दा खेल्दा थाकेका, गन्हाएका नाम मञ्चमा । यसो हेरेको सबै दानेगाई जस्ता, फुकाएपछि आआफ्नै बाटो लाग्ने, फागुन २१ सम्म रहे ठुलो कुरो ।’
जो एकतामा छुटे
१० दलीय एकता भनिए पनि बुधबार घोषणा गरिएको वाम एकता मुख्यतः माओवादी केन्द्र र एकीकृत समाजवादीको हो । ती दुवै दलका केही प्रभावशाली नेताहरू भने एकतामा छुटेका छन् । अध्यक्ष प्रचण्डसँग लामो समयदेखि अन्तरसंघर्ष गरिरहेका माओवादी केन्द्रका पूर्वउपमहासचिव जनार्दन शर्मा प्रभाकर पार्टी एकतामा सहभागी भएनन् । उनलाई पूर्वसचिव राम कार्कीले साथ दिए । एकता सम्मेलनको एक दिनअघि मंगलबारै उनीहरूले छुट्टै पत्रकार सम्मेलन गर्दै प्रगतीशिल अभियान घोषणा गरे । योसँगै प्रचण्ड र प्रभाकरको झन्डै ४० वर्ष लामो राजनीतिक सहयात्रा टुंगिएको छ ।
एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, घनेन्द्र बस्नेत, जीवनराम श्रेष्ठलगायतका नेताहरू पनि पार्टी एकतामा सामेल भएनन् । उनीहरू मंसिर पहिलो साता राष्ट्रिय भेला गरेर पार्टी पुनर्गठन गर्ने तयारीमा छन् । भृकुटीमण्डपमा एकता सम्मेलन सुरु हुनुअघि पत्रकार सम्मेलन गर्दै भुसालले प्रचण्ड, नेपाल वा केपी ओली नेतृत्वमा अब पार्टी बन्न नसक्ने दाबी गरे ।
भुसाललाई पनि एकतामा जोड्न प्रचण्डले बुधबार बिहान मात्र छलफल गरेका थिए । प्रचण्डसँग भेटेर पत्रकार सम्मेलन पुगेका उनले भने, ‘अघि बिहान मात्र पनि मैले प्रचण्डसँग भेटें । मैले प्रस्टसँग भनेको छु, उहाँहरूले छोड्ने सुनिश्चितता नभएसम्म अब पार्टी बन्दैन । प्रचण्ड, माधव होस् र केपी ओलीले छाड्ने सुनिश्चित हुनासाथ हामी एकतामा आउँछौं । त्यो भयो भने जबजको बहस छलफलबाटै टुंगिन्छ ।’
चार वर्षअघि एमाले विभाजनका बेला १० ‘पब्लिक फेस’ नेताहरूले साथ छाड्दा पनि माधव नेपालको हात समातेर एकीकृत समाजवादी दर्ता गराउन सघाएकी नेतृ रामकुमारी झाँक्रीले पनि बाटो अलग गरेकी छन् । बुधबार नै उनीलगायत असन्तुष्ट नेताहरूले पत्रकार सम्मेलन गर्दै एमालेमा फर्किने सन्देश दिएका छन् । उनीहरूले नेकपा एसका देशभरका नेता कार्यकर्तालाई पनि एमालेमै फर्किन आह्वान गरे ।
एकीकृत समाजवादी पार्टीले बहुमतका आधारमा माओवादी केन्द्रसँग एकताको निर्णय लिँदा चर्को आपत्ति गर्दै छुट्टै दल खोलेर समाजवादी यात्रा अघि बढाउने घोषणा गरेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने अन्ततः एकताकै पक्षमा उभिए । तर संस्थापनसँग असन्तुष्ट भुसाल र झाँक्री समूहले वास्ता नगरेपछि उनी एक्लिए । कसैको साथ नपाएपछि अन्ततः उनी युटर्न भए र हतारहतार वामदलहरूको एकता सम्मेलनस्थल पुगे ।