
रुकुमपूर्व : रुकुमपूर्वको भूमे गाउँपालिकाले युवालाई लक्षित गर्दै गाउँमै निःशुल्क कम्प्युटर तालिम र सरकारी तयारी कक्षा सुरु गरेको छ । यस कार्यक्रमले पहाडी भेगका विद्यार्थी र युवालाई अब अध्ययनका लागि शहर धाउनुपर्ने बाध्यता अन्त्य गरेको स्थानीयले बताएका छन् ।
गाउँपालिकाले सुरु गरेको तीन महिनाको ‘बेसिक कम्प्युटर तालिम’ र ‘शिक्षक सेवा तथा लोकसेवा तयारी कक्षा’मा एसइई र कक्षा १२ सकेका विद्यार्थी सहभागी भएका छन् । यसअघि कम्प्युटर सिक्न वा कोचिङ पढ्न रुकुमकोट वा दाङसम्म जानुपर्ने बाध्यताले धेरै युवाको सिकाइ बीचमै रोकिन्थ्यो ।
भूमे–२ की मनिषा पुन भन्छिन्, ‘पहिले कम्प्युटर सिक्न टाढा जानु पथ्र्यो, खर्चिलो पनि थियो । अहिले गाउँमै सुविधा पाउँदा हामीजस्ता विद्यार्थीका लागि निकै सहज भएको छ ।’
त्यसैगरी, शिक्षक सेवा तयारी गर्दै गरेकी भूमे–३ की शर्मिला बुढामगरले गाउँमै तयारी गर्न पाउँदा आत्मविश्वास बढेको बताइन् । उनी भन्छिन्, ‘यसअघिसम्म सहर पुग्न समय र खर्च दुबै लाग्थ्यो । अहिले गाउँपालिकाले कक्षा सञ्चालन गरेपछि पढाइ निरन्तर गर्न सजिलो भएको छ ।’
स्थानीय चित्रा श्रेष्ठ भन्छिन्, ‘अब गाउँमै कम्प्युटर र लोकसेवा तयारी दुवै सुविधा छ । यसले हाम्रो समय, पैसा र अवसर तीनै बचायो । यस्तो कार्यक्रम साँच्चिकै युवामैत्री छ ।’
गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ भन्छन्, ‘शिक्षामा गुणस्तर सुधार गर्दै सीपयुक्त मानव स्रोत विकास गर्नु पालिकाको मुख्य उद्देश्य हो । आजको युग अनुसन्धान, नवीनता र प्रविधिको हो, त्यसैले हामीले युवाको भविष्य लक्षित कार्यक्रम सुरु गरेका हौं ।’
श्रेष्ठले पालिकाभित्रका सबै विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको जानकारी दिए । उनका अनुसार, ‘निःशुल्क कम्प्युटर तालिम मात्र होइन, विद्यालय स्तरमै सूचना प्रविधिको पहुँच विस्तार गर्दै शिक्षामा रूपान्तरण ल्याउने प्रयास भइरहेको छ ।’
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवीलाल बिकले भने, ‘पहाडी युवाले अब शहर धाउनुपर्ने छैन । यस कक्षाले उनीहरूको समय र पैसा दुवै बचाउँछ । यो दीर्घकालीन लगानीले गाउँमै दक्ष जनशक्ति उत्पादनको बाटो खोल्छ ।’
उनका अनुसार महँगो कोचिङ शुल्क र आवागमन खर्चका कारण धेरै ग्रामीण विद्यार्थी सरकारी तयारीबाट बञ्चित थिए । ‘निःशुल्क तयारी कक्षा नै त्यो असमानता घटाउने व्यवहारिक समाधान हो,’ उनले भने ।