२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

लथालिङ्ग शहरका संकटहरु

ADV
२०८१ साउन ९ गते ०६:३५
लथालिङ्ग शहरका संकटहरु

अविरल वर्षा चलिरहेको मौसममा राजधानी उपत्यकाबासीले एकभन्दा बढी समस्या एकैपटक खेपिरहनु परेको छ । लगातार वर्षा भइरहँदा खोला किनारका बस्ती संकटमा छन् । बागमती, बिष्णुमती, धोबीखोला, टुकुचा लगायत खोला किनारका बस्ती डुवानमा परेका छन् । यी खोला आसपासका बस्तीहरुमा पनि बाढी पसेको छ । बाढी पस्नुको कारण खोलाको निकासा रोकिनु रहेको निष्कर्ष नयाँ होइन । अझ यी बस्तीहरु महानगरको निशानामा छन् । काठमाडौं महानगरले सुकुम्बासी बस्ती उठाउने अभियान चलाउँदा खोला किनारहरुका बस्ती संकटमा छन् । त्यस्तै बेला अरु संक्रामक र प्रकोपजन्य रोगहरुको संक्रमण समेत देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार राजधानी उपत्यकामा हैजाको लक्षण पुष्टि भएको छ । 

ललितपुरको एक किशोरमा हैजाको संक्रमण पुष्टि भएको हो । हैजाको संक्रमण पुष्टि हुनुको अर्थ यहाँका अरु मानिसमा समेत खतरा रहेको संकेत हो । हैजा भन्दा अगाडि राजधानी उपत्यकामा डेंगुको संक्रमण देखिएको थियो । राजधानी उपत्यका सहित देशभरका ७३ जिल्लामा डेंगुको संक्रमण देखिएको छ । डेंगुको सवैभन्दा धेरै संक्रमण काठमाडौंमै पुष्टि भएको छ । काठमाडौंपछि तराई मधेशका शहरी जिल्लाहरुमा डेंगुको संक्रमण देखिएको छ । अघिल्ला वर्षहरुमा देशैभर डेंगुको संक्रमण देखिएको थियो । हिमाली र उच्च पहाडी जिल्लाहरुमा समेत देखिएको डेंगुको प्रकोप राजधानी उपत्यकामा देखिनु स्वभाविक हो । किनकि राजधानी उपत्यका भन्दा धेरै जिल्लाहरु उच्च पहाडी छन् । 

अर्थात् राजधानी उपत्यका सहित शहरी क्षेत्रमा एकैपटक अनेक समस्या देखिएको छ । व्यवस्थित शहरीकरण नहुनुको समस्या त्यसैपनि छदैछ । भौतिक संरचना निर्माण, सडक निर्माण र अरु संरचनाहरुलाई व्यवस्थित नगरिदा घना बस्ती रहेको राजधानी शहर जस्ता ठाउँहरु समस्यामा थिए । अझ जताजतै खुलेका सडकहरु बारम्बार भत्किरहनुले समस्या थप बढाएको छ । खानेपानी, ढल जस्ता परियोजना पुनर्निमाण गर्न सडक भत्काइरहने हुँदा अविरल वर्षाका बेला थप समस्या बनेको देखिन्छ । डेंगु फैलाउने लामखुट्टे फैलाउने मात्र नभएर हैजाको सन्त्रास पनि यस्तै लथालिङ्ग अवस्थाका कारण भइरहेको छ । त्यसैले व्यवस्थित शहरीकरण राजधानीबासीको दीर्घकालीन समाधान हो । तर तत्काललाई चाहिँ डेंगु, हैजा, डुबान जस्ता समस्याबाट नागरिकको जीवन रक्षा गर्नु हो । सम्बन्धित निकायले यसतर्फ ध्यान दिन जरुरी छ । 

ADVADV

सम्बन्धित खबर

Advertise