
कपिलवस्तु : कपिलवस्तुमा भारतबाट तस्करी गरेर ल्याइएको १ सय ८१ बोरा युरिया मल बरामद गरिएको छ । स्थानीय तस्कर समूहसँग मिलेर कपिलवस्तुको शिवराज नगरपालिका–७ रुद्रपुरस्थित जय अम्बे प्लाइउड इन्डस्ट्रिज प्रालिको फ्याक्ट्रीभित्र भित्र्याइएको युरिया मल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
ट्रकमा लोड गरिएको उक्त मल नियन्त्रणमा लिई अनुसन्धान भइरहेको सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) तुला चौधरीले जानकारी दिए । उनका अनुसार बरामद भारतीय युरिया मल र प्रयोग भएको ट्रक कृष्णनगर भन्सार कार्यालयलाई बुझाइएको छ । उक्त इण्डस्ट्रिज स्थानीय व्यापारी मनोज कनौडियाको हो ।
स्थानीय प्लाइउड उद्योगहरूले युरिया मललाई प्लाइ टाँस्ने गोंदको रूपमा प्रयोग गर्ने गरेका छन् । कपिलवस्तुमा रहेका करिब एक दर्जन प्लाइउड उद्योगले अवैध रूपमा आयात गरिएको युरिया मल प्रयोग गर्ने गरिएको आशंका छ ।