२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

भूमे–७ को आफ्नै वडा कार्यालय भवन

shivam cement
बालाराम शेर्पाली
२०८२ मंसिर २९ गते २२:२०
Shares
भूमे–७ को आफ्नै वडा कार्यालय भवन

रुकुमपूर्व : रुकुमपूर्वको भूमे गाउँपालिका–७ मा सोमबार बिहान भीड सामान्यभन्दा फरक देखिन्थ्यो । फूलमालाले सजिएको नयाँ प्रशासनिक भवनको आँगनमा उपस्थित स्थानीयहरूमा उत्साह र एउटै प्रश्न थियो, अब हाम्रो काम आफ्नै घरबाट हुनेछ त ? उद्घाटनसँगै त्यसको उत्तर पनि स्पष्ट भयो–हो, हुनेछ । भूमे गाउँपालिका–७ ले स्थानीय सरकार स्थापना भएको करिब नौ वर्षपछि आफ्नै पक्की प्रशासनिक भवन पाएको छ । यसअघि भाडाका र अस्थायी संरचनाबाट सेवा दिँदै आएका स्थानीयवासीका लागि यो भवन केवल भौतिक संरचना मात्र होइन, स्थानीय शासनको पहुँच र अनुभूतिको प्रतिक बनेको छ ।

सोमबारको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघबहादुर श्रेष्ठ र भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले संयुक्त रूपमा भवन उद्घाटन गरेका छन् । प्रमुख अतिथि मेघबहादुर श्रेष्ठले भने,‘जनयुद्ध, गणतन्त्र स्थापना र त्यसपछिका राजनीतिक परिवर्तनकै कारण आज गाउँ–गाउँमा सरकारी सेवा पुग्न सम्भव भएको छ । पहिले सिंहदरबार काठमाडौंमा मात्रै सीमित थियो, आज गाउँमै सरकार छ । स्थानीय सरकार सुदृढ बन्दै जाँदा सेवा पनि जनताको ढोकासम्म पुगेको छ ।’

गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठका अनुसार नयाँ भवन सेवा प्रवाह सुधार गर्ने आधार बनेको छ । उनले भने, ‘यो भवन इँटा–सिमेन्टको संरचना मात्रै होइन, सुशासनको सुरुवात पनि हो ।’ उनका अनुसार पालिकाले सबै वडामा प्रशासनिक तथा सामाजिक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । 

श्रेष्ठले थपे, ‘मध्यपहाडी राजमार्गको छेउमा वडा नम्बर–१ को प्रशासनिक भवन चार महिना अघि नै उद्घाटन भइसकेको छ । पालिकाभित्रका नौवटा वडामध्ये दुई वडामा पक्की संरचना निर्माण भइसकेको छ । बाँकी सात वडामा पनि साना भए पनि आफ्नै भवनबाट सेवा दिइरहेका छौं । अर्को वर्षको यही महिनासम्म वडा नम्बर–३ को भवन उद्घाटन गर्ने योजना छ ।’

उपाध्यक्ष सविना बुढा मगरले भने, ‘वडा कार्यालयको आफ्नै भवन निर्माण हुनु स्थानीय सरकारको संस्थागत विकासको महत्वपूर्ण उपलब्धि हो । जनताको विश्वास जित्ने गरी सेवा दिनु हाम्रो जिम्मेवारी हो ।’

नेकपाका नेता रूपधन कामीले पनि जनयुद्ध र शहीदहरूको बलिदानकै कारण गाउँ–गाउँमा सिंहदरबार पुगेको टिप्पणी गरे । उनले भने, ‘अब राज्य सञ्चालनको जिम्मा केही व्यक्तिमा सीमित छैन, जनतासम्म पुगेको छ ।’

लामो समयदेखि अस्थायी संरचनाबाट सेवा दिँदै आएको वडा कार्यालयका लागि सोमबार ऐतिहासिक दिन सावित भयो । वडाध्यक्ष संगम रोकाले नौ वर्षको प्रतीक्षापछि आफ्नै भवन पाएकोमा खुशी व्यक्त गर्दै प्रशासनिक कामकाज सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।  भवन निर्माणमा जग्गा दान गर्ने ढोटे रोका, धनलाल रोका, वसन्त रोका, फर्के रोका, उजेलसरी रोका, जंगे रोका र संगम रोकालाई गाउँपालिकाले कदरपत्रद्वारा सम्मान गरेको छ ।

भवन निर्माण ठेक्का रोल्पा नगरपालिका–२, शुभम् निर्माण सेवा कम्पनीले २०८० माघ २६ गते पाएको थियो र मिति २०८२ माघ २६ भित्र सम्पन्न गर्नुपर्ने थियो । तर ठेकेदारले एक महिना अघि नै काम सम्पन्न गर्‍यो । नेपाल सरकार र भूमे गाउँपालिकाको समपूरक बजेटमा २ करोड ४९ लाख ७६ हजार १४३ रुपैयाँमा भवन निर्माण सम्पन्न भएको छ ।

सम्बन्धित खबर