
बर्दिया : बर्दियाको गेरुवा गाउँपालिका–६ मा अवस्थित साइनो कृषि सहकारी संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले लाहानु थारुको अध्यक्षतामा नौ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ । साथै, विभिन्न उपसमितिहरूको नेतृत्व पनि तोकिएको छ । जसअनुसार ऋण उपसमितिको संयोजकमा बाँधु थारु, लेखा उपसमितिमा मानबहादुर थारु, शिक्षा उपसमितिमा रामकुमारी थारु तथा सल्लाहकार उपसमितिको संयोजकमा विष्णुप्रसाद चौधरी चयन भएका छन् ।
सभाको उद्घाटन गर्दै गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले स्थानीय किसानको आर्थिक सशक्तीकरणका लागि सहकारी संस्था महत्वपूर्ण भूमिका रहेको बताए । उनले मुलुकमा आत्मनिर्भरता र समग्र ग्रामीण विकासमा सहकारीको भूमिका धेरै रहेको बताए ।
साधारण सभाको अवसरमा उत्कृष्ट धान तथा गहुँ बिउ उत्पादक कृषक लाहानु थारु र महेन्द्र थारु, उत्कृष्ट पशुपालन व्यवसायी मानबहादुर थारु तथा उत्कृष्ट सेयर सदस्य राजकुमारी थारु सम्मानित भएका थिए ।
गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा सोनाहा विकास समाज नेपालद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत २०७१ सालमा साइनो कृषि सहकारी संस्था स्थापना भएको थियो । सहकारीले स्थापना कालदेखि नै कृषक तथा स्थानीय समुदायको आर्थिक उत्थानमा निरन्तर योगदान पुर्याउँदै आएको छ । हाल सहकारीमा ४ सय १३ जना सेयर सदस्य आबद्ध छन् । संस्थाको सेयर पुँजी १२ लाख ९५ हजार ८ सय रुपैयाँ पुगेको छ । यस्तै, मासिक बचततर्फ ५९ लाख ९३ हजार ७ सय ४३ रुपैयाँ र व्यक्तिगत बचततर्फ १४ लाख ३२ हजार ४ सय ३१ रुपैयाँ निक्षेप संकलन रहेको संस्थाले जनाएको छ ।
सहकारीले हालसम्म ६३ लाख २५ हजार ७ सय ६१ रुपैयाँबराबरको ऋण लगानी गरी सदस्यहरूको व्यवसाय प्रवर्धन तथा जीविकोपार्जन सुधारमा सहयोग पुर्याउँदै आएको छ ।