२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

रवि–बालेन भेटले दिन खोजेका पाँच सन्देश

shivam cement
नरेश राना
२०८२ पुष १० गते १६:४७
Shares
रवि–बालेन भेटले दिन खोजेका पाँच सन्देश

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो वार्ताका संयोजक कुमार बेनको ललितपुरस्थित निवासमा उनीहरूबीच भेटवार्ता भएको हो । 

लामिछाने गत शुक्रबार जेलमुक्त भएसँगै राजनीतिक गतिविधिमा निकै सक्रिय छन् । उनले मूलतः नयाँ राजनीतिक दल, केही शक्तिशाली व्यक्ति र जेनजीका प्रतिनिधिहरूसँग छलफल गर्दै आएका हुन् । 

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभालाई लक्षित गर्दै लामिछानेले भेटवार्तालाई तीव्रता दिएका छन् । यद्यपि लामिछाने र बालेनबीच भएको भेटलाई नेपाली राजनीतिक वृत्तले अर्थपूर्ण ढंगले हेरेको छ । 

बिहीबार भएको उनीहरूबीचको भेटवार्ताबारे औपचारिक विवरण भने सार्वजनिक गरिएको छैन । विवरण सार्वजनिक नभए पनि वार्ताले केही महत्त्वपूर्ण सन्देश भने दिन खोजेको छ । 

पहिलो, वैकल्पिक राजनीतिक शक्तिबीचको संवादले मुख्यधारको राजनीतिक दल रास्वपा र मेयर बालेन जस्ता दुई प्रभावशाली व्यक्तिबीचको भेटले वैकल्पिक राजनीति एकअर्काबाट टाढा छैन भन्ने सन्देश दिएको छ । असहमति हुँदाहुँदै पनि संवाद सम्भव छ भन्ने प्रष्ट संकेत गरेको छ । 

दोस्रो, शासन र भ्रष्टाचारविरोधी एजेन्डामा साझा धारणा रहेको पाइन्छ । रवि र बालेन दुवैको सार्वजनिक छवि सुशासन, पारदर्शिता र भ्रष्टाचारविरोधसँग जोडिएको छ । भेटले यी मुद्दामा सैद्धान्तिक सहकार्यको सम्भावनाको ढोका खोलिदिएको छ । 

तेस्रो, औपचारिक गठबन्धन होइन, ‘इश्यू–बेस्ड’ सहकार्य हुने आकलन गरिएको छ । यो भेटलाई तत्कालीन राजनीतिक गठबन्धनको सुरुवात भन्दा पनि मुद्दा केन्द्रित समझदारीको अभ्यासका रूपमा बुझ्न सकिन्छ । पार्टीभन्दा एजेन्डा मिलनको सन्देश दिएको देखिन्छ ।

चौथो, युवा र निराश मतदातालाई लक्षित गरेको छ । राजनीतिप्रति वितृष्णा बढिरहेका बेला, उनीहरूको भेटले युवा तथा निराश मतदातालाई वैकल्पिक आशा दिन खोजिएको सन्देश प्रवाह गरेको छ ।

पाँचौ, आगामी राजनीतिक समीकरण, भविष्यको चुनाव, आन्दोलन वा नीतिगत दबाबका लागि जाँच जस्तो पनि देखिन्छ । औपचारिक घोषणाभन्दा अघि राजनीतिक वातावरण मापन गर्ने प्रयासका रूपमा लिन सकिन्छ ।

रवि–बालेनबीच भएको बिहीबारको भेटले तत्काल गठबन्धनको घोषणा नभए पनि राजनीतिमा नयाँ सम्भावनाका ढोका खुल्न सक्ने आकलन गरिएको छ ।

सम्बन्धित खबर