
काठमाडौं : रामेछापकी फुर्वा शेर्पा त्रिभुवन विश्वविद्यालयको व्यापार प्रशासन (बिबीए) कार्यक्रममा सर्वोत्कृष्ट भइन् । ३.९८ जिपिए प्राप्त गर्दै भाइस चान्सलर पदक हात पारेकी उनले नेपालमै उच्चशिक्षा हासिल गरी सेवा गर्ने इच्छा व्यक्त गरिन् । ‘मैले आर्जन गरेको ज्ञानसिप यही देशमै लगानी गर्न चाहन्छु,’ उनले भनिन्, ‘मेरो उच्चशिक्षा प्राप्ति मेरो व्यक्तिगत प्राप्ति मात्र होइन, राज्यको पनि हो । यसर्थ म मेरै देशमा सेवा गर्न सक्छु । बाहिर जाने कुनै रुचि छैन ।’
गोल्ड मेडल प्राप्त गर्दै गर्दा उनले पाठ्यक्रमसँग सम्बन्धित विषयसँग मिल्ने देशबाहिरका विभिन्न भाषाका पुस्तक अध्ययन गर्दा परीक्षामा लेखन र अंक प्राप्त गर्न सहज भएको अनुभव पनि सुनाइन् । विद्यार्थीका लागि पाठ्यपुस्तकबाहेकका अन्य पुस्तक अध्ययन उपयोगी हुने शेर्पाको बुझाइ छ ।
स्नातकोत्तर तहमा राजनीतिशास्त्र विषयबाट प्रतिभा पौडेल विश्वविद्यालय गोल्ड मेडलिस्ट बनिन् । उनले वडाकाजी मरिचमान सिंह पदक र ललित चन्द पुरस्कार प्राप्त गरिन् । विद्यार्थी राजनीतिमा सक्रिय रहँदै उत्कृष्ट नतिजा ल्याएकी पौडेलले प्राज्ञिक क्षेत्रमा भविष्य देखेको बताइन् । उनी विद्यार्थी नेता पनि हुन् । नेकपा (क्रान्तिकारी कम्युनिस्ट पार्टी)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा आबद्ध पौडेलले विद्यार्थी राजनीति गर्दै अध्ययन अघि बढाएको बताइन् ।
सक्रिय राजनीतिभन्दा अब प्राज्ञिक क्षेत्रमा उभिन चाहेको उनको भनाइ छ । पौडेलले भनिन्, ‘लामो समयदेखि राजनीतिमा आबद्ध छु । यद्यपि राजनीतिबाट टाढा हुनुहुँदैन । तर पछिल्लो समय राजनीति सेवाभन्दा व्यापारमुखी देखिन्छ । यो राम्रो होइन, यसलाई सुधार गर्न हामीजस्ता युवाको खाँचो छ । हामीबाटै सुधारको प्रयास गर्ने हो ।’
पौडेलले राजनीति गर्नेहरू पढ्दैनन्, अध्ययन गर्दैनन् भन्ने जबर्जस्त हाबी भाष्य चिर्न हामीले गहिरो अध्ययन, कडा मेहनत गर्नुपर्छ । ‘राजनीति गर्ने विद्यार्थी पढ्दैनन् भन्ने धारणा गलत छ । राजनीति गर्दै पढ्ने र वैचारिक बहस गर्ने विद्यार्थीहरू पनि प्रशस्तै छन्,’ उनले भनिन् ।
एमए अर्थशास्त्रतर्फ कमल पौडेलले पनि सर्वोत्कृष्ट नतिजा ल्याउँदै तीनवटा पदक जिते । सरकारी सेवामा कार्यरत पौडेलले जागिरसँगै अध्ययन गरेर सफलता हासिल गरेको बताए । दीक्षान्त समारोहले अध्ययन, अनुसन्धान र निरन्तर मेहनतबाट नेपालमै उत्कृष्टता सम्भव छ भन्ने सन्देश दिएको सहभागीहरूको भनाइ छ । उनले भने, ‘अर्थशास्त्र बुझ्न र उक्त शास्त्रबाट ज्ञान लिने सानैमा भोक थियो । जागिरका कारण बिहान, दिउँसो, साँझ, बिदाको समय र फुर्सदमा सयम मिलाएर अध्ययन गर्थे, राम्रो नतिजा आयो ।’
अर्थशास्त्र अध्ययन गरेर प्राप्त गरेको ज्ञानलाई प्रयोगमा ल्याउने बताएका छन् । जागिरसँगै समय निकालेर मेहनत गरेर अध्ययन गरेपछि सोचेभन्दा धेरै राम्रो नम्बर आएको उनको भनाइ छ । जागिर गरेर पढ्न गाह्रो हुन्छ भन्ने यदाकदा सुन्छु । तर अध्ययनलाई निरन्तरता दियो भने सफलता मिल्छ ।
गोरखा नारेश्वरका आर्किटेक्चर इन्जिनियर सौरभ कोइरालाले त्रिभुवन विश्वविद्यालयको एमए समाजशास्त्रमा ३.७० जिपिए ल्याउँदै सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन् । समाज बुझेर डिजाइन र योजना गर्नुपर्ने महसुसपछि उनले समाजशास्त्र रोजेको बताए । आंशिक रूपमा इन्जिनियरिङ काम गर्दै समाजशास्त्र अध्ययन गरेका सौरभलाई त्रिविको ५१औं दीक्षान्त समारोहमा सुमन रिजाल पदक प्रदान गरिएको छ । देशमै बसेर समाजशास्त्र र इन्जिनियरिङलाई जोडेर अनुसन्धान र सरकारी क्षेत्रसँग सम्बन्धित काम गर्ने उनको लक्ष्य छ ।
देशमै बसेर समाज र इन्जिनियरिङलाई जोडेर अनुसन्धान गर्ने लक्ष्य छ । निकट भनिष्यमा सरकारी क्षेत्रसँग जोडिएर पनि काम गर्ने सोचमा छु,’ कोइरालाले भने ।
शेर्पा, पौडेलद्वय, कोइराला प्रतिनिधि विद्यार्थी मात्रै हुन् । त्रिभुवन विश्वविद्यालयका झन्डै तीन दर्जन बढी शैक्षिक विभागबाट उच्चअंक प्राप्त गर्ने थुप्रै विद्यार्थीहरू छन् । उनीहरूले देश र जनताका लागि निकै सराहनीय कार्य गरेको त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्र (शिक्षा) केन्द्रीय विभागका प्रमुख एवं सहप्राध्यापक श्याम प्रसाद फूएलको भनाइ छ ।
विद्यार्थीहरूको नतिजाले आफूहरू खुसी भएको फूएल बताउँछन् । विद्यार्थीहरूले गरेको कडा मेहनत र अध्ययनको प्रशंसा गर्दै उनले भने, ‘हामीले वर्षौंदेखि गरेको मेहनतको फल विद्यार्थीमार्फत फलेको देख्दा निकै खुसी लाग्छ । आफूले पढाएका विद्यार्थीहरूले नेपालमै केही गरून् भन्ने चाहना हाम्रो पनि हुन्छ ।’
त्रिविमा अध्ययन गर्ने अधिकांश विद्यार्थी निम्न र मध्यमवर्गका हुने उनी बताउँछन् । विद्यार्थीहरू हामीले सोचेभन्दा गहिरो अध्ययन गर्ने भएकाले उत्कृष्ट अंक प्राप्त गर्छन् । विद्यार्थीको उत्कृष्टता नै आफ्नो प्रतिफल भएको सहप्राध्यापक फूएलको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोहमा प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले ज्ञानलाई सेवासँग, सिपलाई सदाचारसँग र सफलतालाई समाजप्रतिको योगदानसँग जोड्न आग्रह गरिन् । ४ लाखभन्दा बढी विद्यार्थी रहेको विश्वविद्यालयमा प्राध्यापक विद्यार्थी अनुपात सन्तुलनमा राख्दै गुणस्तरीय शिक्षा दिनु चुनौतीपूर्ण रहेको उनको भनाइ थियो ।
प्रमुख अतिथि तथा सन् २०१५ का भौतिकशास्त्रतर्फका नोबेल पुरस्कार विजेता प्राध्यापक डा. ताकाआकी काजिताले निरन्तर खोज, अनुसन्धान र अध्ययनले नै विश्वस्तरीय उपलब्धि सम्भव हुने अनुभव सुनाए ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति महावीर पुनले अबको विश्वले डिग्रीभन्दा पनि सिप र क्षमतालाई महत्व दिने उल्लेख गर्दै ज्ञान र सिपलाई समाज परिवर्तनमा प्रयोग गर्नुपर्नेमा जोड दिए । उपकुलपति प्राडा. दीपक अर्यालले दीक्षान्तलाई उज्वल भविष्यको सुरुवातका रूपमा व्याख्या गर्दै सिकेको ज्ञान व्यवहारमा उतार्न आग्रह गरे ।
यस वर्ष विभिन्न तहमा उत्तीर्ण भएका ८९ हजार १ सय ९१ विद्यार्थीमध्ये १६ हजार ३ सय ८० जनाले औपचारिक रूपमा दीक्षा ग्रहण गरेका छन् । काठमाडौंमा आयोजित समारोहमा स्नातकदेखि विद्यावारिधिसम्मका विद्यार्थी दीक्षित भएका हुन् । दीक्षितमध्ये स्नातक तहका ११ हजार २ सय ३४, अधिस्नातक १४, स्नातकोत्तर ४ हजार ८ सय ६०, एमफिल १ सय २० र विद्यावारिधि १ सय ५२ जना छन् । उत्कृष्ट नतिजा ल्याउने विभिन्न संकायका २२ जना विद्यार्थीलाई दीक्षान्त पदक प्रदान गरिएको थियो ।