
बझाङ : जयपृथ्वी नगरपालिका अन्तर्गत सामुदायिक र संस्थागत विद्यालय स्तरीय आधारभूत तह (१–३ कक्षा) र (४–५ कक्षा) को अनुलेखन प्रतियोगिता सम्पन्न भएको छ ।
नगरपालिकाभित्रका विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने तथा विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापको मूल्यांकन गर्ने उद्देश्यले जयपृथ्वी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजना गरिएको अनुलेखन प्रतियोगितामा आधारभूत तहका सबै विद्यालयले सहभागिता जनाएका थिए ।
जालपा मावि देवलमा सम्पन्न प्रतियोगितामा (४ देखि ५) कक्षा अन्तर्गत प्रथम स्थान संस्थागत विद्यालय मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कुलकी सुप्रिया मल्लले हात पारेकी छन् भने द्वितीय स्थान सामुदायिक विद्यालय बालमन्दिर आधारभूत विद्यालयकी आयुष्मा परियारले प्राप्त गरेकी छन् ।
त्यसैगरी तृतीय स्थान जालपा माविकी सभ्य खड्काले जित्न सफल भएकी छन् भने सान्त्वना स्थान सुदूरपश्चिम विद्या सदनकी शिला बोहराले हासिल गरेकी छन् ।
त्यस्तै (१ देखि ३) कक्षा सम्मको अनुलेखन प्रतियोगितामा प्रथम स्थान सुदूरपश्चिम विद्या सदनकी ईश्वरी जेठाराले प्राप्त गरेकी छन् भने द्वितीय स्थान मेरिगोल्ड इङ्लिस बोर्डिङका अनुप्रिया सिंहले, तृतीय स्थान सुनिपिपल चौरकी रेश्मा सार्कीले र सान्त्वना स्थान नमुना आविकी समीर परियारले हासिल गरेका छन् ।
जयपृथ्वी नगरपालिका प्रमुख चेतराज बजालको अध्यक्षतामा आयोजना गरिएको उक्त अनुलेखन प्रतियोगितामा नगरभित्रका आधारभूत तहका सबै विद्यालयहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख बजालले विद्यार्थीहरूलाई लेखन सीपमा दक्ष बनाउन यस्ता कार्यक्रमहरू अत्यन्त महत्वपूर्ण हुने बताए ।
उनले भने, ‘विद्या नै धन भएकाले कडा मेहनतका साथ विद्यार्थीहरूले अध्ययनमा ध्यान दिनुपर्छ ।’
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख रतनबहादुर सिंहले अतिरिक्त क्रियाकलापहरूलाई थप प्रभावकारी बनाउनेतर्फ जयपृथ्वी नगरपालिका निरन्तर लागिरहेको बताए । उनले आगामी दिनमा पनि यस्ता गतिविधिहरूलाई निरन्तरता दिँदै विद्यार्थीहरूको मनोबल बढाउन विविध कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै सामाजिक विकास समितिका अध्यक्ष शिवराज जैसीले विद्यालयमा पाठ्यक्रमका विषयवस्तु मात्र नभई अतिरिक्त सिर्जनात्मक क्रियाकलापमा समेत विद्यार्थीलाई सहभागी गराउने उद्देश्यले यस्ता कार्यक्रमलाई प्राथमिकता दिइने बताए ।
त्यसैगरी कार्यक्रमका अतिथिका रूपमा रहेका प्रमुख प्रशासकीय अधिकृत नैनबहादुर सिंहले समयसापेक्ष रूपमा विद्यार्थीहरूको बौद्धिक विकास गर्ने कार्यक्रमहरू सञ्चालन गर्दै जाने बताए ।
उनले भने,‘शिक्षा नै विकासको मूल आधार भएकाले नगरपालिकाबाट गर्न सकिने नवीनतम कार्यमा कुनै कञ्जुस्याइँ गरिनेछैन ।’
त्यस्तै शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत देवेन्द्र प्रसाद जोशीले अनुलेखन प्रतियोगिता विद्यार्थीहरूको भाषा र लेखन क्षमता विकासका लागि महत्वपूर्ण हुने भएकाले आगामी दिनमा अन्य विधामा पनि यस्ता प्रतिस्पर्धाहरू गरिने बताए ।
विद्यार्थीहरूको सक्रिय सहभागिताले यस्ता क्रियाकलाप अझ प्रभावकारी हुने विश्वास पनि उनले व्यक्त गरे ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने सबै विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधि, विद्यालयका शिक्षकहरू, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।