२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

सल्यानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

shivam cement
प्रदीप मगर
२०८२ माघ २ गते २२:०८
Shares
सल्यानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

सल्यान : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सल्यानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालत सल्यानमा शुक्रबार आयोजित एक कार्यक्रमबीच कार्यालयको उद्घाटन गरिएको हो ।

निर्वाचन आयोगले सल्यान जिल्ला अदालतका न्यायाधीश प्रलाहद योगीलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ । कार्यालय उद्घाटन गर्दै मुख्य निर्वाचन अधिकृत योगीले निर्वाचन आयोगको निर्देशनअनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आफू प्रतिबद्ध रहेको बताए । 

उनले निर्वाचनलाई प्रजातन्त्रको मेरुदण्डका रूपमा उल्लेख गर्दै सफल निर्वाचनका लागि सबै सरोकारवाला पक्षको भूमिका महत्वपूर्ण हुने र सबैबाट सहयोग आवश्यक रहेको धारणा राखे ।

कार्यालय स्थापना भएपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरी सोही अनुसार निर्वाचनसम्बन्धी सम्पूर्ण काम अगाडि बढाइने जानकारी मुख्य निर्वाचन अधिकृत योगीले दिए । 

उनका अनुसार कार्यालयमा सहायक निर्वाचन अधिकृतसहित ७ जना कर्मचारी खटाइएको छ भने निर्वाचन कार्यालयसँग आवश्यक समन्वय गरी काम गरिनेछ । ‘निर्वाचनको विकल्प भनेकै निर्वाचन हो। यसलाई शान्तिपूर्ण, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय पूर्ण निष्पक्षताका साथ काम गर्नेछ,’ उनले भने । 

उनले निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्तादेखि मतदान र मतगणनासम्मका सबै प्रक्रिया पारदर्शी ढंगले अघि बढाइने प्रतिबद्धता समेत व्यक्त गरे । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी महेन्द्र सापकोटा, सुरक्षा निकायका प्रमुखहरू, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतलगायतको उपस्थिति रहेको थियो । 

सम्बन्धित खबर