२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

सल्यानमा १६ जनाको उम्मेदवारी दर्ता, तीन प्रमुख दलबीच कडा प्रतिस्पर्धाको अनुमान

shivam cement
प्रदीप मगर
२०८२ माघ ६ गते १८:४४
Shares
सल्यानमा १६ जनाको उम्मेदवारी दर्ता, तीन प्रमुख दलबीच कडा प्रतिस्पर्धाको अनुमान

सल्यान : आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सल्यानका विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । दर्ता गराएकामध्ये दुई जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

उम्मेदवारहरु नेपाली कांग्रेसबाट केशबहादुर बिष्ट, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट रमेश कुमार मल्ल, नेकपा एमालेबाट गुलाबजंग शाह, नेकपा (माओवादी केन्द्र)बाट चन्द्रबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिषा नेपाली, नेपाल मजदुर किसान पार्टीबाट लालबहादुर क्षेत्री, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोष कुमार राई, नेसनल रिपब्लिक नेपालबाट दिल्लीबहादुर घर्ती, आम जनता पार्टीबाट मानसिंह कामी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललित चन्द, राष्ट्रिय जनमोर्चा पार्टीबाट कमला डाँगी, संयुक्त नागरिक पार्टीबाट कालिदास बिक, मङ्गोल नेशनल अर्गनाइज बाट बालसिंह घर्ती, श्रम संस्कृति पार्टीबाट धनबहादुर बुढा मगरले मुख्य निर्वाचन अधिकृतको कार्यालय खलंगा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

यस्तै स्वतन्त्रतर्फ ध्रुवराज ओली र जुद्धबहादुर सिंहले पनि मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गदै नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्लले देश हाल विषम र संवेदनशील परिस्थितिबाट गुज्रिरहेको बताएका छन् । उनले देशलाई यो जटिल अवस्थाबाट निकास दिन जिम्मेवार राजनीतिक दलको हैसियतले नेपाल कम्युनिष्ट पार्टीले आफ्नो कर्तव्य पूरा गर्ने प्रतिबद्धता जनाए । वर्तमान राजनीतिक संक्रमणको अन्त्य जनादेशमार्फत गर्ने र मुलुकलाई स्थायित्वतर्फ लैजाने उद्देश्यका साथ आफूले उम्मेदवारी दिएको मल्लको भनाइ छ ।

“देश अहिले विषम परिस्थितिमा छ । यस अवस्थाबाट निकास दिन र संक्रमणको अन्त्य गर्दै स्थायित्वतर्फ लैजान जनताको जनादेश आवश्यक छ,” मल्लले भने । मल्ल अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुन् । यसअघि उनी पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिवका रूपमा कार्यरत रहेका थिए । मल्ल पहिलो पटक प्रत्यक्ष निर्वाचनमा सहभागी हुन लागेका हुन् ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार केशबहादुर बिष्ट पार्टीले देशको मूल राजनीतिलाई सही दिशामा अघि बढाउन आफ्नो उम्मेदवारी दिएको बताएका छन् ।

उनले वर्तमान राजनीतिक अस्थिरताले देशलाई पछाडि धकेलिरहेको उल्लेख गर्दै त्यसको निकास दिन जिम्मेवार नेतृत्व आवश्यक रहेको धारणा राखे । जनताको समग्र आर्थिक र सामाजिक विकास, साथै जिल्लाको उन्नति र प्रगतिलाई केन्द्रमा राखेर आफूले उम्मेदवारी दिएको बिष्टले बताए ।

“अहिले देखिएको राजनीतिक अस्थिरतालाई समाप्त गर्दै देशको राजनीतिलाई सही दिशामा लैजान, जनताको आर्थिक–सामाजिक विकास र जिल्लाको समग्र उन्नति सुनिश्चित गर्न मेरो उम्मेदवारी हो,” बिष्टले भने । बिष्ट जिल्ला सभापति समेत हुन् । उनी २०७४ सालमा जिल्ला समन्वय समिति प्रमुख भइसकेका नेता हुन् भने २०७९ सालको स्थानीय तह निर्वाचनमा छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष पदमा पराजित भएका थिए ।

नेकपा एमालेका उम्मेदवार गुलाबजंग शाहले देश अहिले गम्भीर संकटमा रहेको बताएका छन् । उनले चौतर्फी रूपमा देश र संविधानमाथि चुनौती बढिरहेको उल्लेख गर्दै त्यसको निकास दिन आवश्यक रहेको धारणा राखे । मुलुकलाई स्थायित्वतर्फ लैजाने र समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि आफूले उम्मेदवारी दिएको शाहले बताए । “अहिले देश संकटमा छ । संविधान र राष्ट्रप्रति देखिएको चौतर्फी चुनौतीलाई समाधान गर्दै समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्न मेरो उम्मेदवारी हो,” शाहले भने । शाह हाल पार्टीका कर्णाली प्रदेश इन्चार्ज रहेका थिए । उनी २०७४ सालमा सल्यान प्रदेशसभा ‘क’ बाट निर्वाचित भएका थिए भने २०७९ सालको प्रदेशसभा निर्वाचनमा पुनः पराजित भएका थिए ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर खड्का (असल) पूर्व माओवादी जनमुक्ति सेनाका कमान्डर हुन् । उनी साविक नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका केन्द्रीय सदस्य भई हाल माओवादी केन्द्रको पोलिटब्यूरो सदस्यका रूपमा सक्रिय हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ललित चन्द कर्णाली प्रदेशका महामन्त्री तथा पेशाले इन्जिनियर हुन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार अनिषा नेपाली २०७९ सालको निर्वाचनमा समानुपातिक सांसद रहेका थिए ।

सल्यानमा यस पटक विशेषगरी नेपाली कांग्रेसका केशबहादुर बिष्ट, नेपाल कम्युनिष्ट पार्टीका रमेश कुमार मल्ल र नेकपा एमालेका गुलाबजंग शाहबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । राजनीतिक सरगर्मी बढेसँगै मतदाताको चासो पनि उल्लेख्य रूपमा बढ्दै गएको देखिन्छ ।

सम्बन्धित खबर