
ललितपुर : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा लमजुङमा प्रत्यक्षतर्फ १६ वटा राजनीतिक दलबाट तीनवटै क्षेत्रमा एक÷एक जना र २६ स्वतन्त्र गरी ७४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता गराएका छन् । मनोनयन प्रक्रिया उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी गोमा धमला घिमिरेले जानकारी दिइन् ।
मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार मंगबलार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म ललितपुरका तीनवटा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता कार्यक्रम सञ्चालन गरिएको थियो ।
ललितपुर १ नं. निर्वाचन अधिकृतको कार्यालयका अनुसार १६ ओटा दल र १२ जना स्वतन्त्र गरी २८ जना उम्मेद्वारी दर्ता गरेका छन् ।
त्यसमध्ये नेपाल मजदुर किसान पार्टी र राप्रपाबाट एक जना र एकजना स्वतन्त्र गरी तीनजना महिला र २५ जना पुरुषले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत इशा सुवेदीले जानकारी दिइन् ।
ललितपुर २ नं. निर्वाचन अधिकृतको कार्यालयका अनुसार १६ ओटा दल र ७ जना स्वतन्त्र गरी २३ जनाले उम्मेद्वारी दर्ता गरेका छन् ।
त्यस मध्ये नेपाल मजदुर किसान पार्टी र जनता समाजवादी पार्टी नेपालबाट एक जना गरी दुईजना महिला र २१ जना पुरुषले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीले जानकारी दिइन् ।
ललितपुर ३ नं. निर्वाचन अधिकृतको कार्यालयका अनुसार १६ ओटा दल र ७ जना स्वतन्त्र गरी २३ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । त्यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र नेपाल मजदुर किसान पार्टीबाट एक जना र दुई जना स्वतन्त्र गरी पाँच जना महिला र १८ जना पुरुषले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिए ।
यस पटक पनि महिला उम्मेदवारको संख्या तुलनात्मक रूपमा निकै कम देखिए पनि समावेशीरुपमा सौहाद्र्धरुपमा उम्मेद्वारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालय ललितपुरले जानकारी दिएको छ ।
निर्वाचन कार्यक्रम अनुसार मनोनयन दर्ता भएका उम्मेदवारको सूची साँझ ५ बजेदेखि ७ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गरिएको छ । माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिने व्यवस्था गरिएको छ ।
उजुरीमाथि जाँचबुझ तथा निर्णय माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म गरिनेछ भने माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म योग्य उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । त्यसैगरी, माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने र दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।
उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएकोमा निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार तथा सम्पूर्ण सरोकारवालालाई धन्यवाद व्यक्त गरेको छ ।