
सल्यान : सल्यानमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दुई जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्तोष राई र आम जनता पार्टीका मानसिंगे कामीले औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिएका हुन् ।
उनीहरू दुबै जना मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर निवेदन दर्ता गराएका थिए । मुख्य निर्वाचन अधिकृत प्रल्हाद कुमार योगीका अनुसार उम्मेदवारी फिर्ता प्रक्रिया सम्पन्न भएपछि अब अन्य १० राजनीतिक दलका उम्मेदवार र दुई जना स्वतन्त्र उम्मेदवारसहित कुल १२ जनाको उम्मेदवारी कायम रहेको छ ।
कायम रहेका उम्मेदवारहरूमा नेपाली कांग्रेसबाट केशबहादुर विष्ट, नेकपा (एमाले)बाट गुलाबजंग शाह, नेपाली कम्युनिस्ट पार्टीबाट रमेश कुमार मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललित चन्द, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिसा नेपाली तथा नेकपा (माओवादी केन्द्र)बाट चन्द्रबहादुर खड्काले उम्मेदवारी कायम राखेका छन् ।
त्यसैगरी राष्ट्रिय जनमोर्चाबाट कमला डाँगी, संयुक्त नागरिक पार्टीबाट कालिदास विक, नेपाल मजदुर किसान पार्टीबाट लालबहादुर थापा, नेशनल रिपब्लिक पार्टी नेपालबाट डिल्लीबहादुर घर्ती र मंगोल नेशनल अर्गनाइजेशनबाट वालसिंह घर्ती उम्मेदवार छन् । स्वतन्त्रतर्फ धुर्वराज वली र जुद्धबहादुर सिंहले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी फिर्ता गरेका उम्मेदवारहरूले अन्य उम्मेदवारलाई समर्थन गर्ने निर्णयसमेत सार्वजनिक गरेका छन् । आम जनता पार्टीका तर्फबाट उम्मेदवार मानसिंगे विकले आफ्नो उम्मेदवारी फिर्ता गर्दै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेश मल्ललाई समर्थन गर्ने घोषणा गरेका छन् । त्यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्तोष राईले नेकपा (एमाले)का उम्मेदवार गुलाबजंग शाहलाई समर्थन गर्ने निर्णय लिएका छन् ।
चुनावी माहोल तातिँदै, घरदैलो अभियान तीव्र
चुनाव आउन अब ४२ दिन मात्र बाँकी रहँदा सल्यानमा चुनावी चहलपहल बढ्दै गएको छ । उम्मेदवारहरू आन्तरिक पार्टी बैठक, कोणसभा र भेटघाटसँगै गाउँ–गाउँ, टोल–टोल पुगेर मतदातासँग प्रत्यक्ष संवादमा जुटिरहेका छन् । सामाजिक सञ्जाल र डिजिटल प्रविधिको प्रयोगमार्फत मतदातासँग जोडिने प्रयास पनि तीव्र बनेको छ ।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्लले बागचौर नगरपालिका–२ लस्तमस्थित शहीद खिमबहादुर डिसीका पिता चुडामणि डाँगीबाट टीका र आशीर्वाद लिएर अभियान सुरु गरेका छन् । उनले ‘धेरै सपना बाँड्नेभन्दा काम गरेर देखाउने’ प्रतिबद्धता व्यक्त गर्दै सल्यानको समग्र विकासलाई प्राथमिकतामा राख्ने बताए । नेकपा (एमाले)का उम्मेदवार गुलाबजंग शाहले पार्टीभित्र छलफल सकेर कार्यकर्ता र नेतासँगै जनतामाझ पुग्ने कार्यक्रम अघि बढाएको जानकारी दिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार केशबहादुर विष्टले आन्तरिक तयारी पूरा भएपछि छिट्टै गाउँ–गाउँमा प्रचार सुरु गर्ने बताएका छन् ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र)का उम्मेदवार चन्द्रबहादुर खड्काले शहीद परिवारसँग भेटघाट गर्दै अभियान सुरु गरेको उल्लेख गर्दै ‘मतदातासँग प्रत्यक्ष पुगेर आफ्ना कुरा राख्ने’अभियानमा आफू सक्रिय रहेको बताएका छन् ।