२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

सर्लाही-३ मा चार उम्मेदवारबीच कडा प्रतिस्पर्धा

shivam cement
घनश्याम बलम्पाकी
२०८२ माघ १० गते २२:३९
Shares
सर्लाही-३ मा चार उम्मेदवारबीच कडा प्रतिस्पर्धा

सर्लाही : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सर्लाही क्षेत्र नं. ३ मा चार प्रमुख उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । 

नेकपाका नेता नारायणकाजी श्रेष्ठ, नेकपा एमालेका हरीप्रसाद उप्रेती, राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र साह र नेपाली कांग्रेसका विनोद खनालबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

नारायणकाजी श्रेष्ठ पूर्वगृहमन्त्री हुन् भने हरीप्रसाद उप्रेती पूर्व रक्षामन्त्री हुन् । नरेन्द्र साह संविधानसभा सदस्य रहिसकेका नेता हुन् भने विनोद खनाल नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा क्षेत्रका प्रभावशाली नेताका रूपमा परिचित छन् । 

निर्वाचन नजिकिँदै जाँदा चारै उम्मेदवार आ–आफ्नो पार्टी संगठन, जनसमर्थन र चुनावी रणनीतिका आधारमा मतदाता आकर्षित गर्न सक्रिय देखिएका छन् । गाउँ–बस्तीमा घरदैलो कार्यक्रम, चुनावी सभा तथा मतदातासँग भेटघाटलाई तीव्र बनाइएको छ ।

नेकपाका उम्मेदवार श्रेष्ठले स्थिर सरकार, भ्रष्टाचारमुक्त समाज र विकासलाई मुख्य एजेन्डा बनाएका छन् । एमालेका उम्मेदवार उप्रेतीले अघिल्लो कार्यकालमा दिएका प्रतिबद्धता पूरा गर्ने, अपुरा योजनाहरू सम्पन्न गर्ने तथा किसान र मजदुरका समस्या समाधान गर्ने विषयलाई प्राथमिकता दिएको बताएका छन् । 

रास्वपाका उम्मेदवार साहले नयाँ राजनीतिक संस्कार, पारदर्शिता र सुशासनलाई जोड दिएका छन् भने कांग्रेसका उम्मेदवार खनालले लोकतन्त्र, समावेशिता, सुशासन र स्थानीय विकासलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् । 

२०७९ सालको निर्वाचनमा एमालेका उप्रेतीले रास्वपाका साहलाई झिनो मतान्तरले पराजित गर्दै विजय हासिल गरेका थिए । स्थानीय मतदाताहरूले भने सुशासन, भ्रष्टाचारको अन्त्य, रोजगारी, शिक्षा, स्वास्थ्य, सिँचाइ र कृषि विकासका विषयमा उम्मेदवारहरूबाट स्पष्ट योजना अपेक्षा गरेका छन् । चुनावी प्रतिस्पर्धा रोचक बन्दै जाँदा सर्लाही क्षेत्र नं. ३ को निर्वाचन परिणामलाई चासोका साथ हेरिएको छ । निर्वाचन नजिकिँदै जाँदा यस क्षेत्रमा चुनावी सरगर्मी अझै बढ्ने देखिएको छ ।

सम्बन्धित खबर