
सर्लाही : नेपाली कांग्रेसका सभापतिसमेत रहेका सर्लाही क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापालाई आफ्नो निर्वाचन क्षेत्र आउने क्रममा बागमतीको कर्मैयामा भव्य स्वागत गरिएको छ ।
चुनावी कार्यक्रमका लागि सर्लाही प्रवेश गरेका थापालाई कांग्रेसका स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणले बागमती क्षेत्रमा फूलमालासहित भव्य स्वागत गरेका हुन् । स्वागत कार्यक्रममा कांग्रेसको झण्डा, प्लेकार्ड तथा पार्टीका नारा गुञ्जिएका थिए ।
स्वागतपछि संक्षिप्त सम्बोधन गर्दै सभापति थापाले लोकतन्त्र, सुशासन र विकासका लागि कांग्रेस प्रतिबद्ध रहेको बताए । उनले सर्लाही क्षेत्र नम्बर ४ को विकास र जनताको समस्यालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
कांग्रेसका जिल्ला सचिव निरज कार्कीका अनुसार थापाको आगमनले क्षेत्र नं. ४ मा चुनावी माहोल थप उत्साहजनक बनेको छ । आगामी दिनमा विभिन्न स्थानमा चुनावी सभा तथा कार्यकर्ता भेटघाट कार्यक्रम तय गरिएको कार्कीले जनाएका छन् ।
थापाको भव्य स्वागतले सर्लाही क्षेत्र नम्बर ४ मा कांग्रेसको जनसमर्थन मजबुत हुँदै गएको संकेत दिएको स्थानीय कांग्रेस नेताहरूको भनाइ छ । थापाको स्वागतका क्रममा पूर्व पश्चिम राजमार्ग अन्तर्गत बागमती पुल वारी पारी केही बेर सवारी साधन रोकिएको थियो ।