
सल्यान : कर्णाली प्रदेशका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) जयराज सापकोटाले आगामी निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन प्रदेश प्रहरी पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
सल्यान जिल्लाको अनुगमनका लागि आइपुगेका डीआईजी सापकोटाले स्थानीयवासी तथा पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रहरीको पहिलो प्राथमिकता शान्ति सुरक्षा कायम गर्ने र अपराध अनुसन्धान रहेको स्पष्ट पारे ।
जनताको सेवालाई केन्द्रमा राखेर प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गर्ने उल्लेख गर्दै उनले नागरिकको सहयोगबिना दिगो शान्ति सुरक्षा सम्भव नहुने बताए ।
‘नागरिक नै वर्दीविनाका प्रहरी हुन्,’भन्दै उनले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमले सकारात्मक नतिजा दिएको बताए । प्रहरी र नागरिकबीचको सहकार्यले मात्र सभ्य र सुरक्षित समाज निर्माण सम्भव हुने उनको भनाइ थियो ।
डीआईजी सापकोटाले निर्वाचनका क्रममा राजनीतिक गतिविधि बढ्ने भएकाले आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन नहोस् भन्नेमा सबै सचेत हुनुपर्नेमा जोड दिए । मतदाताले स्वतन्त्र रूपमा इच्छाएको उम्मेदवारलाई मतदान गर्न पाउने वातावरण बनाउनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै सबै विचारको सम्मानबाट लोकतन्त्र सुदृढ हुने बताए ।
अन्तरक्रियाका क्रममा उनले महिला हिंसा न्यूनीकरण, लागूऔषध दुव्र्यसनजस्ता सामाजिक अपराध नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए । साथै सुरक्षित वैदेशिक रोजगारीका लागि जनचेतना अभिवृद्धि गर्नुपर्ने र पछिल्लो समय सूचना प्रविधिमा आधारित अपराध बढेकाले विद्यालय तहदेखि नै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा स्थानीय सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराए ।
कार्यक्रममा सल्यानका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक (डीएसपी) हेमबहादुर केसीले जिल्लाको शान्ति सुरक्षा व्यवस्थापनलाई व्यवस्थित गर्दै सामाजिक कार्यलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिए। उनले कुनै पनि किसिमका अपराधलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारे ।
डीएसपी केसीका अनुसार सल्यान जिल्लामा सामान्य मतदानस्थलमा तीन, संवेदनशीलमा पाँच र अति संवेदनशील मतदानस्थलमा कम्तीमा सात जनासम्म सुरक्षाकर्मी परिचालन गरिनेछ । जिल्लामा कुल १ सय १७ मतदानस्थलमा २ सय ५ मतदान केन्द्र रहेका छन् भने १ लाख ६२ हजार ४ सय ४९ मतदाता रहेका छन् ।