
पोखरा : पोखरा महानगरपालिका वडा नम्बर १० स्थित कालिका माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपकबहादुर थापाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १० का अध्यक्ष राजेश गुरुङ प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिकाको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृतद्वय कृष्णप्रसाद भण्डारी र बद्रीनाथ सुवेदी तथा वडा नं १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँ विशेष अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, शिक्षक–अभिभावक संघ, कलेज सञ्चालक समिति, पूर्वप्रधानाध्यापक, विद्यार्थी तथा छिमेकी विद्यालयका प्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको थियो । कालिका बागिना क्लबद्वारा राष्ट्रिय गान र गुरु वन्दनासँगै पानसमा सामूहिक दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरिएको थियो । विद्यालयका शिक्षक ज्ञानबहादुर थापाले कार्यक्रम सञ्चालन गरेका थिए भने शिक्षकहरूद्वारा स्वागत नृत्य प्रस्तुत गरिएको थियो ।
सभाध्यक्ष दीपकबहादुर थापाले विद्यालयलाई नेपाल सरकारले नमुना विद्यालय घोषणा गरेकोमा खुशी व्यक्त गर्दै विद्यालयको उन्नतिमा वडा कार्यालय र महानगरपालिकाबाट निरन्तर सहयोग प्राप्त भइरहेको बताए । विद्यार्थी प्रतिनिधिका रूपमा कक्षा १० मा अध्ययनरत प्रविना श्रेष्ठले प्रविधिमैत्री शिक्षाले अध्ययनलाई सहज बनाएको र नमुना विद्यालयमा अध्ययन गर्न पाउँदा गर्व लागेको उल्लेख गरिन् ।
विद्यालयका प्रधानाध्यापक श्रीराम आचार्यले वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा हाल २ हजार २०५ विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए । विद्यालयमा बाल विकासदेखि माध्यमिक तहसम्म गरी १२९ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको र चालु आर्थिक वर्षमा ८ करोड ६४ लाखभन्दा बढी खर्च भएको उल्लेख गरे । साथै विद्यालयले राष्ट्रपति रनिङ सिल्ड जित्न सफल भएकोमा खुशी व्यक्त गर्दै भौतिक पूर्वाधार र स्रोत व्यवस्थापनमा थप सुधार आवश्यक रहेको बताए ।
प्रमुख अतिथि वडाध्यक्ष राजेश गुरुङले आफू यही विद्यालयमा अध्ययन र अध्यापन गरेको स्मरण गर्दै विद्यालयको शैक्षिक सुधारका लागि निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए । प्लस टु तहमा होटल व्यवस्थापन र विज्ञान विषय सुदृढ गर्न आवश्यक उपकरण तथा स्मार्ट बोर्ड उपलब्ध गराइने उनले बताए ।
कार्यक्रममा विभिन्न अक्षयकोषबाट जेहेन्दार तथा लक्षित विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो भने सांस्कृतिक प्रस्तुति र विशेष मन्तव्यसहित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो ।