२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

‘निर्वाचनपछि संसद सर्कस बन्न सक्छ’

shivam cement
सुजन विश्वकर्मा
२०८२ माघ २३ गते २१:०५
Shares
‘निर्वाचनपछि संसद सर्कस बन्न सक्छ’

पोखरा : प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का केन्द्रीय अध्यक्ष परिषद् सदस्य सन्तोष परियारले निर्वाचनपछि संसद ‘सर्कस’ बन्न सक्ने बताएका छन् । 

कास्की जिल्ला समितिको आयोजनामा पोखरास्थित हिमालयन रिडर्स कर्नरमा आयोजित पत्रकार सम्मेलन तथा उम्मेदवार परिचय कार्यक्रममा उनले सो कुरा बताएका हुन् । 

प्रमुख अतिथि परियारले उम्मेदवारहरूलाई शुभकामना दिँदै आउँदो निर्वाचन सामान्य नभई भ्रष्टाचारविरुद्धको निर्वाचन भएको बताए । 

प्रलोपा पार्टीबाट कास्की क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ कर्णबहादुर गुरुङ र क्षेत्र नम्बर २ मा दीपक भण्डारी उम्मेदवार रहेका छन् भने समानुपातिकतर्फ महेश सुनार (गोदार) र दुर्गा गुरुङ उम्मेदवार रहेका छन् । 

उनले भने, ‘यो निर्वाचनले सबैभन्दा भ्रष्टलाई संसदमा पुर्‍याउने अवस्था नआओस् ।’

बजार र भीडको माहोल देख्दा सबैभन्दा खराब पात्र छानिँदैछ कि भन्ने आशंका आफूलाई लागेको परियारले बताए । उनले विचार र सिद्धान्तविहीन तर भोट मात्र खोज्ने प्रवृत्तिको आलोचना गर्दै लोकतान्त्रिक अभ्यास सचेत, अनुशासित र नैतिक नागरिकबाट मात्रै सम्भव हुने धारणा राखे । 

जेन्जी आन्दोलनले मुलुकमा ठूलो राजनीतिक परिवर्तन ल्याएको उल्लेख गर्दै परियारले उक्त आन्दोलनप्रति आफ्नो समर्थन रहेको स्पष्ट पारे । निर्वाचनबाट सधैं असल नेतृत्व मात्रै आउँछ भन्ने ग्यारेन्टी नहुने बताउँदै उनले इतिहासमा तानाशाहहरू समेत निर्वाचनबाटै आएको उदाहरण प्रस्तुत गरे । 

‘यदि नागरिक सचेत भएनन् भने अब बन्ने सरकार जनताको होइन, देशकै पक्षमा नहुन सक्छ,’परियारले भने। पछिल्लो समय चर्चामा आएका तर जवाफदेहिताविहीन अनुहारहरूलाई संकेत गर्दै उनले राजनीति जवाफदेहितामा चल्नुपर्नेमा जोड दिए ।

संसद, संविधान र लोकतन्त्र कमजोर वर्गका लागि आवश्यक हुने भन्दै उनले संसद जलाउने वा विघटन गर्नेहरूलाई पुनः संसदमा किन पठाउने भन्ने प्रश्न पनि उठाए । साथै कलाकार, डाक्टर, इन्जिनियरजस्ता पेशागत पहिचान बोकेकाहरू पेशा छोडेर सांसद बन्ने प्रवृत्तिप्रति आपत्ति जनाउँदै जिम्मेवार नागरिकले आफ्नो स्थानबाटै योगदान गर्नुपर्ने बताए ।

आउँदो निर्वाचनप्रति जनतालाई जिम्मेवार बन्न आग्रह गर्दै परियारले भने,‘यदि हामी सचेत भएनौं भने संसद नीति, नियम र कानुन बनाउने थलो होइन, सर्कस बन्नेछ ।’ उनले निर्वाचन लोकतन्त्रवादीहरूको हो कि लोकप्रियतावादीहरूको हो भन्ने प्रश्न समेत उठाए ।

ताजा खबर

सम्बन्धित खबर