२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

रास्वपाको मधेश ‘कार्ड’, निशानामा बालेन

shivam cement
जनक नेपाल
२०८२ माघ २४ गते ०६:४५
Shares
रास्वपाको मधेश ‘कार्ड’, निशानामा बालेन

काठमाडौं : दुई दशकदेखि मधेश राजनीतिमा पकड जमाएका मधेशकेन्द्रित दल र नेताहरूको चुनावी निशानामा अघिल्ला चुनावसम्म कांग्रेस, एमाले र तत्कालीन माओवादी केन्द्र थिए । यसपटक भने रास्वपा र उसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका वरिष्ठ नेता बालेन शाहविरुद्ध खनिएका छन् ।  

बालेन चुनाव लड्न पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली लड्दै आएको झापा–५ बाट उठेका छन् । उनको चर्चा झापामा जति छ, मधेश प्रदेशमा त्योभन्दा कम छैन । बालेन क्रेजले मधेशमा कांग्रेस, एमाले र नेकपाभन्दा धेरै मधेश केन्द्रित दल सशंकित छन् । सोही कारण उनीहरूको निशानामा बालेन परेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव हुन् वा जनमत पार्टीका अध्यक्ष सिके राउत, अथवा आमजनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहका चुनावी सभामा बालेनको आलोचना छुटाउँदैनन् ।  

रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले जनकपुरमा चुनावी अभियान सुरु गर्दासम्म मधेशमा बालेनको खासै चर्चा थिएन । मधेशकेन्द्रित दलहरूले चासोका साथ हेरेका त थिए, रास्वपाको बालेन ‘कार्ड’को प्रभाव पत्याएका थिएनन् । मधेशी समुदायबाट पहिलो प्रधानमन्त्री बनाउने नारासहित जनकपुरदेखि लाहानसम्म पुग्दा मधेशमा बालेनले ठुलै चर्चा पाइसकेका थिए । पहिलो मधेशी प्रधानमन्त्रीको नारा ‘अब कि बार बालेन सरकार’ लाग्न थालेपछि मधेशकेन्द्रित नेताहरू बालेन मधेशीविरोधी भएको भाषण गरिरहेका छन् । 

पूर्वमन्त्री प्रभु साहले बालेनमाथि मधेशका श्रमिक, फुटपाथ व्यवसायी र निमुखा समुदायलाई काठमाडौंबाट लखेटेको आरोप लगाइरहेका छन् । काठमाडौंको मेयर हुँदा तरकारी तथा फलफूल बेच्नेहरूको साइकल खोस्ने, कवाडी व्यवसायीलाई उठीबास लगाउने र फुटपाथमा व्यवसाय गर्न खोज्ने गरिबलाई खेद्ने काम कसले गर्‍यो ?’ उनले पार्टीका चुनावी सभामा निरन्तर भनिरहेका छन् । 

उखु किसान चिसोमा खाली खुट्टा माइतीघर मण्डलामा आन्दोलन गर्न आउँदा बालेनले भेट नदिएकोदेखि मिटरब्याज पीडितहरूलाई खुलामञ्च नदिएकोसम्म आरोप उनको छ । ‘छठ पर्वका लागि काठमाडौंमा घाट बनाउन नदिने व्यक्तिले चुनाव जित्न ‘म मधेशको छोरा हुँ’ भन्ने भाषण गर्न सुहाउँदैन’ साहले भने, ‘बालेन जेनजी आन्दोलन हाइज्याक गर्ने पात्र हुन् । उनले जनताको सेवा गर्छु भन्नु आफैंमा अपत्यारिलो छ ।’ 

जनमत पार्टीका अध्यक्ष सिके राउतले एक कदमअघि बढेर बालेनले मेयर हुँदा हिटलरका नाजी प्रहरीले झैं मधेशीलाई व्यवहार गरेको आरोप लगाएका छन् । ‘काठमाडौंबाट लाखौं मधेशीलाई कुट्दै, लछारपछार गर्दै भगाउनेलाई मधेशले चिन्ने नै छ,’ उनले भनेका छन्, ‘मधेशी शहीदको तस्बिर झुन्डिएको मधेश प्रदेश सभा जलाए । मधेशी शहीदको तस्बिर झुन्डिएका पार्टी कार्यालय जलाए । प्रदेश खारेजीका लागि प्रदेशको भोटसमेत हालेनन्, उम्मेदवार उठाएनन्, यस्ता संघीयताविरोधी, पहिचानविरोधी, मधेशविरोधी तत्वको भ्रम दुई महिनामै तोडिनेछ ।’ 

जसपा अध्यक्ष उपेन्द्र यादवले बालेनलाई फेसबुके प्रधानमन्त्री भन्दै व्यंग्य कसे । ‘उहिले माओवादीले प्रचण्डलाई राष्ट्रपति बनाए । अहिले रास्वपाले बालेन्द्रलाई सामाजिक सञ्जालको प्रधानमन्त्री बनाउँदै छ,’ उनले भने, ‘विभिन्न तत्वले सामाजिक सञ्जाललाई पैसा हालेर बुस्ट गरेर हाइहुइ गर्दैमा देश बन्दैन, देश चल्दैन । यत्ति कुरा जनताले पक्कै बुझेका छन् ।’ 

आजको राजनीतिमा बालेनको कुनै योगदान नरहेको उनको टिप्पणी छ । बालेन र रास्वपा मधेश आन्दोलन, जनजाति आन्दोलन, परिवर्तनकारी आन्दोलनबाट स्थापित संघीय गणतन्त्रलाई खारेजी गर्नुपर्छ भन्ने पक्षमा रहेकाले मधेशले विश्वास नगर्ने बताउँछन् । 

बालेनले सार्वजनिक रूपमा कहिल्यै मधेशकेन्द्रित दल र नेताहरूप्रति टीकाटिप्पणी गरेका छैनन् । तर मधेशी नेता बालेनको यति चर्को विरोध किन गरिरहेका छन् ? मधेश मामिलाका जानकार चन्द्रकिशोर बालेनप्रतिको क्रेजकै कारण प्रतिस्पर्धी दल र नेताहरू आलोचनामा उत्रिएको बताउँछन् । ‘बालेनको लोकप्रियता देखिएकै हो,’ उनी भन्छन्, ‘मधेशमा त्यो ज्वरो घट्दो छ । बालेनमाथि प्रश्न उठ्न थालेको छ । चुनावका बेला यो सबै स्वाभाविक हो ।’

जेनजी आन्दोलनपछि नयाँ दल आउने धेरैको अपेक्षा थियो । तर आन्दोलनको स्वामित्व लिनेगरी कुनै नयाँ दल आएनन् । बरु काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएर मेयर जितेका बालेन आफैंले निरन्तर आलोचना गर्दै आएको रास्वपामा प्रवेश गरेर दलीय राजनीतिमा आए । नयाँ दलप्रति आमनागरिकले जुन अपेक्षा राखेका थिए, त्यसअनुसार उम्मेदवार भने नदेखिएको बताउँछन् राजनीतिक विश्लेषक चन्द्रकिशोर। ‘नयाँप्रति जुन आकर्षण थियो, चुनावमा त्यस्तो अनुहार देखिएन,’ उनी भन्छन्, ‘त्यसैले चुनावी लहरको ज्वरो घट्दै छ । उम्मेदवारहरू बालेनलाई निर्वाचन क्षेत्रमा बोलाउन थालेका छन् ।’ 

काठमाडौंको मेयर हुँदासम्म मधेशी पहिचान लुकाएकाले उनी प्रधानमन्त्री हुँदैमा मधेशको सही प्रतिनिधित्व हुन्छ भन्ने विश्वास आफूलाई नलागेको चन्द्रकिशोरको टिप्पणी छ । ‘निर्वाचित हुनु र प्रतिनिधित्व गर्नु भिन्न कुरा हुन्,’ उनी भन्छन्, ‘बालेन पहाडी बहुल झापाबाट उठ्नु सकारात्मक हो । तर उनले चुनाव जित्दैमा मधेशीको प्रतिनिधित्व हुन्छ भन्न सकिन्न ।’ 

बालेन क्रेजबाट रमधेशसहित देशभरै सामानुपातिक मतमा ठूलो बढोत्तरी हुने रास्वपाको आन्तरिक विश्लेषण छ । भन्नलाई ५० लाखको दाबी गरे पनि अहिलेकै क्रेज निर्वाचनसम्म कायम राख्न सके ३५ लाखसम्म समानुपातिक मत आउने उसको भित्री आंकलन छ । त्यसमा पनि सबैभन्दा ठूलो लहर मधेश प्रदेशमा आउने रास्वपाका नेताहरुको दाबी छ । त्यही आशाले मधेशमा ‘अबकी बार बालेन सरकार’ नारा चर्काइएको छ । पहिलो मधेसी प्रधानमन्त्रीको नारा सबैभन्दा धेरै तराई–मधेशमै बिक्ने ठानेरै पार्टी सभापति रवि लामिछानेले बालेनलाई प्रधानमन्त्रीको प्रस्ताव गरेर पार्टीमा भित्र्याएका छन् । भलै, लामिछानेमाथि थुप्रै कानुनी प्रश्नहरु रहेकाले पनि आँट नगरेका हुनसक्छन् । उनी निर्वाचित हुँदासमेत सपथ ग्रहण गरेर संसद्मा सहभागी हुन पाउने वा नपाउनेसमेत प्रष्ट छैन । आफूमाथि रहेको कानुनी अप्ठेरोमा बालेनलाई भावी प्रधानमन्त्री अघि सारेर उनी उदार देखिएका छन् ।  

रास्वपा नेताहरुले आशा गरेझै मधेशमा बालेनको क्रेज देखिएकाले पनि मधेसकेन्द्रित दलका नेताहरु त्रसिएको देखिन्छ । मधेशबाट बालेन प्रत्यक्ष उम्मेदवार छैनन् । उनको उपस्थितिले बढाउने भनेको रास्वपाको समानुपातिक मत हो । रास्वपा मधेशमा चम्किँदा कांग्रेस, एमाले र नेकपाभन्दा ज्यादा मधेसकेन्द्रित दलको मत काटिने धेरैको अनुमान छ । किनभने, जसपा, जनमत वा प्रभु साहले पाउने धेरै मत असंगठित र लहरमा बग्ने खालको देखिन्छ । पुराना दलसँग तुलनात्मक रुपमा संगठित मत धेरै छ । चुनावी लहरमा मत बगेर जाँदा मधेसकेन्द्रित दललाई थ्रेसहोल्ड कटाउनै मुस्किल हुने खतरा पनि उत्तिकै छ । 

गत निर्वाचनमा मधेशकेन्द्रित दलमध्ये जसपा र जनमत पार्टी मात्र राष्ट्रिय मान्यता प्राप्त दल बनेका थिए । प्रभु साहले एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए । लोसपा र नागरिक उन्मुक्ति पार्टीले भने थ्रेस होल्ड कटाउन सकेका थिएनन् । 

ताजा खबर

सम्बन्धित खबर