२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

कपिलवस्तु–विजयनगर जोडिएका सिमावर्ती क्षेत्रमा संयुक्त अनुगमन

shivam cement
धर्मेन्द्रकुमार कुर्मी
२०८२ माघ २६ गते २२:१२
Shares
कपिलवस्तु–विजयनगर जोडिएका सिमावर्ती क्षेत्रमा संयुक्त अनुगमन

कपिलवस्तु : कपिलवस्तुको पशु क्वारेन्टाइन चेकपोष्ट कृष्णनगरले आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत कार्यक्रमअन्तर्गत विजयनगर गाउँपालिकासँग जोडिएका नेपाल–भारत सिमावर्ती क्षेत्रमा संयुक्त नाका अनुगमन गरेको छ ।

नेपाल–भारत सीमाबाट हुने पशुजन्य रोग नियन्त्रण, अवैध पशु आवतजावत रोकथाम तथा कानुनी प्रक्रिया प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले उक्त अनुगमन गरिएको हो । विजयनगर गाउँपालिकासँग जोडिएको भारतको बलरामपुर जिल्लासँग सिमाना जोडिएका क्षेत्रहरूमा गरिएको अनुगमनमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीय व्यवसायी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । संयुक्त टोलीले सीमाबाट हुने पशु तथा पशुजन्य पदार्थको ओसारपसार, क्वारेन्टाइन नियमको पालना र सुरक्षा व्यवस्थाको अवस्था निरीक्षण गरेको थियो । 

कार्यक्रममा पशु क्वारेन्टाइन चेकपोष्ट कृष्णनगरका पशु चिकित्सक दयाराम चौधरीले सीमाबाट भित्रिने पशुमा स्वास्थ्य परीक्षण तथा क्वारेन्टाइन प्रक्रिया अनिवार्य रहेको बताए । सीमावर्ती क्षेत्रमा पशुजन्य रोग फैलिने जोखिम उच्च हुने भएकाले नियमित अनुगमन र सम्बन्धित निकायबीचको समन्वय अत्यन्त आवश्यक रहेको उनको भनाइ थियो । 

सशस्त्र प्रहरी बल नेपाल (बिओपी) डालपुरका सशस्त्र प्रहरी निरीक्षक सिताराम श्रेष्ठले खुला सिमानाका कारण चुनौतीहरू रहेकाले सीमा सुरक्षामा सबै निकायबीच सहकार्य अपरिहार्य रहेको बताए। पशु क्वारेन्टाइन, प्रहरी र स्थानीय सरोकारवालाबीचको समन्वय बढेमा अवैध ओसारपसार नियन्त्रण गर्न सकिने उनले उल्लेख गरे । 

यस्तै, सशस्त्र प्रहरी बल नेपाल (बिओपी) जवाबैराठका प्रहरी निरीक्षक पदम जेठाराले सीमामा निगरानी थप कडा बनाइएको जानकारी दिँदै नियमविपरीत हुने कुनै पनि गतिविधिमा कडाइका साथ कारबाही गरिने बताए ।

प्रहरी चौकी ठकुरापुरका सहायक प्रहरी निरीक्षक पुष्कर सिंह कँवरले सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न प्रहरी सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै स्थानीय व्यवसायी र नागरिकलाई कानुनी प्रक्रिया पालना गर्न आग्रह गरे । 

संयुक्त अनुगमन टोलीले अनुगमनका क्रममा देखिएका चुनौतीहरूको पहिचान गर्दै आगामी दिनमा अझ प्रभावकारी अनुगमन कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सहभागीहरूले यस कार्यक्रमले सीमावर्ती क्षेत्रमा पशु स्वास्थ्य सुरक्षा र कानुनी व्यवस्थाको कार्यान्वयनमा सकारात्मक सन्देश दिएको बताएका छन् । 

ताजा खबर

सम्बन्धित खबर