२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

प्रभावकारी बन्दै समुदायमा सञ्चालित ‘बुबा कक्षा’

ADV
सन्तोष पौडेल
२०८१ जेठ २५ गते १४:२२
प्रभावकारी बन्दै समुदायमा सञ्चालित ‘बुबा कक्षा’

बर्दिया : बर्दियाको बारबर्दिया नगरपालिकाको समुदायमा सञ्चालित ‘बुबा कक्षा’ प्रभावकारी बन्दै गएको छ । कक्षामा बुबाहरुको नियमित उपस्थितिसँगै उनीहरुको बानी र व्यवहारमा परिवर्तन आउन थालेपछि ‘बुबा कक्षा’ प्रभावकारी देखिएको हो ।

बारबर्दिया नगरपालिका वडा नं २ नारायपुरका ६४ वर्षीय चन्द्रप्रसाद थारुले ‘बुबा कक्षा’ले समुदायमा परम्परागत सोच, मान्यता र गलत अभ्यासलाई हटाउन सहयोग गरेको बताए । कक्षामा सहभागी हुनुअघि घरको काम महिलाले मात्र गर्नुपर्छ भन्ने बुझेका उनले अहिले भने घरको काममा बुहारीलाई सघाउन थालेका छन् । उनी भन्छन्, 'फुर्सदको समय नातीनतिनासँग बिताउँछु, उनीहरुसँगै खेल्न ब्यस्त हुन्छु ।' आजभोलि बुहारीले नभ्याउँदा घरआँगन सफा गर्न पनि आफैं जुट्ने गरेको थारु बताउँछन् । छोरा जागिरे भएका कारण ‘बुबा कक्षा’मा आफू सहभागी भएको उनको भनाइ छ ।

काखको १४ महिनाकी छोरीलाई स्याहार्नुका साथै घरको सबै काम भ्याउनुपर्ने नारायणपुरकै गंगारानी थारुलाई आजभोलि घरधन्दामा श्रीमानले सहयोग गरेपछि धेरै सहज भएको छ । उनी भन्छिन्, ‘आजभोलि त काम पनि छिट्टै सकिन्छ, थकानको महसुस पनि हुँदैन ।'

समुदायमा बुबा कक्षा सञ्चालन गरिएपछि खोप केन्द्र र स्वास्स्थ केन्द्रमा गर्भवती तथा सुत्केरी महिलाहरुसँगै बुबाहरुको सहभाागितासमेत बढेको आधारभूत स्वास्थ्य केन्द्र कुम्रागाउँका सिनियर अहेव रामेशवर थारुले जानकारी दिए । गर्भवती चेकजाँच गर्न आएका महिलाहरुमार्फत बुबा बनेकोमा शुभकामना दिँदै नियमित चेकजाँजमा श्रीमतीसँगै आउनका लागि स्वास्थ्य संस्थाले आमन्त्रण गर्ने गरेको पनि उनले बताए । थारुका अनुसार ‘बुबा कक्षा’ सञ्चालनसँगै आमन्त्रण पत्र पठाउँदा स्वास्स्थ केन्द्रमा गर्भवती तथा सुत्केरी महिलाहरुसँगै बुबाहरुको सहभाागिता बढेको हो ।

बाल हेरचाहमा पुरुष संलग्नता प्रवर्द्धन गर्न समुदायमा बुबा समूह गठन गरी बारबर्दिया र ठाकुरबाबा नगरपालिकामा ‘बुबा कक्षा’हरु सञ्चालन गरिएको छ । सशक्त बालिका परियोजनाअन्तर्गत बालबालिकाको हेरचाह र घरको जिम्मेवारीमा बुबा अर्थात पुरुष अभिभावकहरुको संलग्नतालाई बढावा दिने उद्देश्यले बुबा कक्षा सञ्चालन गरिएको सशक्त बालिका परियोजनाका परियोजना संयोजक मनोज पौडेलले बताए । उनका अनुसार बारबर्दिया र ठाकुरबाबा नगरपालिकामा १६ वटा ‘बुबा कक्षा’हरु सञ्चालनमा छन् ।

कक्षामा लैङ्गिकता, लिङ्ग, लिङ्गभेद र पुरुष, बुबा हुनुको सौभाग्य, स्वस्थ गर्भावस्था, गर्भवती जीवनसाथीलाई सहयोग र साथ, शिशुको जन्म र बुबाको जिम्मेवारी, बालबालिकाहरूको हेरचाह, बालबालिका हुर्काउने कार्य, अपाङ्गता वा सीमितता भएका बालबालिकाको पहिचान, हेरचाह, स्वास्थ्य र सरसफाइ र विपद्‍मा बुबाको भूमिकालगायतका विषयमा छलफलका माध्यमबाट सहजीकरण गरिने राधाकृष्ण थारु जनसेवा केन्द्रकी फिल्ड सुपरभाइजर विनिता चौधरीले बताइन् । 

प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा बर्दियाको बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, गेरुवा गाँउपालिका र राजापुर नगरपालिकामा सन् २०२३ जुलाईदेखि सशक्त बालिका परियोजना सञ्चालित छ । परियोजनाले बालबालिकाको प्रारम्भिक अवस्थादेखि उनीहरुको सर्वाङ्गिण विकासका क्षेत्रमा कार्य गर्दै आइरहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise