
पोखरा : निर्वाचनको माहोल तातेका बेला उम्मेदवार र मतदाताबीच प्रत्यक्ष संवाद गराउने उद्देश्यले ‘समृद्ध राष्ट्र, दूरदर्शी नेतृत्व’ भन्ने नारासहित जेसीआई पोखराले आयोजना गरेको सार्वजनिक बहस (पब्लिक डिवेट) कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा सभागृह हलमा बिहीबार आयोजित कार्यक्रममा प्रतिनिधिसभा प्रत्यक्षतर्फ कास्की जिल्ला क्षेत्र नम्बर २ का उम्मेदवारहरूबीच खुला संवाद कार्यक्रम (ककस) सञ्चालन गरिएको थियो । कुल १७ जना उम्मेदवारमध्ये ११ जनाको उपस्थिति सुनिश्चित गरिएको आयोजकले जनाएको थियो ।
तर कार्यक्रमका लागि निमन्त्रणा गरिएका माधवप्रसाद बास्तोला (नेपाली कांग्रेस) र उत्तम प्रसाद पौडेल (राष्ट्रिय स्वतन्त्र पार्टी) भने कार्यक्रममा सहभागी भएनन् ।
आयोजकका अनुसार दुवै उम्मेदवारसँग पटक–पटक फोन सम्पर्क गर्दा ‘केही समयमा आउने’ जानकारी दिइएको थियो । तर कार्यक्रम सकिँदासम्म उनीहरू उपस्थित नभएपछि सभाहलमा रहेका मतदाताहरूले प्रश्नबाट भागेको र जवाफदेही नदेखिएको टिप्पणी गरेका थिए ।
कार्यक्रम एबीसी टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण भइरहेको थियो । सहभागी नभएका उम्मेदवारले पनि बहसका विषय सुन्न सकून् भन्ने उद्देश्यले उनीहरूतर्फ लक्षित प्रश्नहरू समेत राखिएको सहजीकरणकर्ताले जानकारी दिए ।
अन्य उम्मेदवारको सहभागिता
कार्यक्रममा रश्मि आचार्य (नेपाल कम्युनिष्ट पार्टी (एमाले)), हेमराज थापा पराजुली (नेपाल कम्युनिष्ट पार्टी), हेमजंग गुरुङ (राष्ट्रिय प्रजातन्त्र पार्टी), कुशल गुरुङ (उज्यालो पार्टी नेपाल), ओलबहादुर गुरुङ (मंगोल नेशनल अर्गनाइजेशन), ज्ञानराज गुरुङ (नेशनल रिपब्लिक नेपाल) तथा स्वतन्त्र उम्मेदवारहरू निरञ्जन कोइराला र विष्णु प्रसाद तिमिल्सिना सहभागी भएका थिए ।
बिहान ११ बजेदेखि सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार दीपेन्द्र श्रेष्ठले गरेका थिए । सहभागी उम्मेदवारहरूले आफ्ना योजना, प्रतिबद्धता र उम्मेदवारीको औचित्य प्रस्तुत गर्दै मतदातासमक्ष मतदानको अपिल गरेका थिए ।
बहसमा सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य, पर्यटन र पोखराको दीगो विकास जस्ता विषयमा प्रश्न उठाइएका थिए । सहभागी उम्मेदवारहरूले आ–आफ्नो दल र व्यक्तिगत एजेन्डा स्पष्ट पार्दै आफूहरू निर्वाचित भए कार्यान्वयन गर्ने योजनाबारे धारणा राखेका थिए ।
निर्वाचनको मिति नजिकिँदै जाँदा सार्वजनिक बहसमा अनुपस्थित रहने उम्मेदवारप्रति मतदाताको चासो र आलोचना बढ्दै गएको देखिएको छ । मतदाताले प्रत्यक्ष संवादलाई उम्मेदवारको जवाफदेहिता परीक्षण गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिएका छन् ।