
ललितपुर : निर्वाचनको स्वतन्त्रता, स्वच्छता, निश्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्नका लागि निर्वाचन पर्यवेक्षण महत्वपूर्ण हुनेमा जोड दिइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र बालबालिका शान्ति क्षेत्र अभियान (सिजप)को संयुक्त आयोजनामा शुक्रबार आयोजित निर्वाचन पर्यवेक्षकहरुका लागि अभिमूखीकरण कार्यक्रममा इन्सेकका अध्यक्ष विजयराज गौतमले २०४८ सालदेखि इन्सेकले पर्यवेक्षण गर्दै आएको स्मरण गर्दै २०८२ साल फागुन २१ गते सम्पन्न हुन लागेको निर्वाचन पर्यवेक्षणका लागि इन्सेकले केन्द्र, सातवटै प्रदेशका साथै ७७ वटै जिल्लामा रहेका प्रतिनिधिमार्पmत पर्यवेक्षण गर्ने बताए ।
अध्यक्ष गौतमले इन्सेकले मतदान अघि मतदानका दिन र मतदान पछि पनि पर्यवेक्षण गर्ने र मतदानका दिन संक्षिप्त प्रतिवेदन निर्वाचन आयोगलाई पेश गर्ने जानकारी दिए ।
इन्सेका सूचना अधिकारी कृष्ण गौतमले यस वर्षको निर्वाचन आवधिक नभइ विशेष अवस्थामा हुन लागेकोले निर्वाचनको निश्पक्षताका लागि पर्यवेक्षकहरुले जिम्मेवार र जवाफदेही भएर भूमिका खेल्नुपर्ने बताए ।
निर्वाचन आयोगका कानून अधिकृत मोहनराज जोशीले निर्वाचन पर्यवेक्षणका लागि निर्वाचन आचार संहिता महत्वपूर्ण हुने उल्लेख गर्दै संस्थागत, व्यक्तिगत, कुटनैतिक र विदेशबाट विशेषज्ञहरुबाट पनि पर्यवेक्षण गर्ने स्मरण गर्दै इन्सेकलगायत ७ वटै प्रदेशमा कम्तिमा एक सयवटा मतदान केन्द्रमा पर्यवेक्षण गर्ने बताए ।
निर्वाचन निर्देशिका २०७९ को दफा २६ मा पर्यवेक्षण संस्था र दफा २७ मा पर्यवेक्षकले पर्यवेक्षण गर्ने स्मरण गर्दै पर्यवेक्षकहरुले खटाइएको स्थानमा पर्यवेक्षण गर्नुपर्ने र निर्वाचन आयोगले परिचयपत्र उपलब्ध गराइ सवारी पास अनुमती लिएर मात्र माघ २० गते जारी कार्यविधिअनुसार प्रमुख जिल्ला अधिकारीको सिफारिसमा सवारी सञ्चालन गनुपर्ने जानकारी दिए ।
कानून अधिकृत जोशीले निर्वाचनमा दलहरुको, मतदाताहरुको सहभागिता, मतदान अधिकृतको अनुमती लिएर मात्र मतदान केन्द्रमा, मत गणना स्थलमा प्रवेश गर्ने, निर्वाचन परिणम घोषणा गर्दा मुचुल्का गराउदाको अवस्था तथा मतदाताहरुलाई मतदान स्थलमा प्रवेश गर्न अवरोध भएमा तत्काल निर्वाचन आयोगलाई जानकारी दिन आग्रह गरे ।
उनले आयोगले निर्वाचन पर्यवेक्षकले पालना गर्नु पर्ने आचार संहिता सम्बन्धमा सरकारी वा सार्वजनिक संस्थाले त्यस्तो निकाय वा संस्थाको वा कुनै परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेद्वारको पक्ष÷विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने बताए ।
पर्यवेक्षण गर्न आयोगबाट अनुमती लिनु पर्ने र अनुमती लिएका संस्थाहरुले ३० दिनभित्र आय व्यय विवरण आयोगसमक्ष पेश गर्नु पर्ने उल्लेख गर्दै पर्यवेक्षकले उम्मेद्वार वा दलहरुको पक्ष विपक्षमा टिका टिप्पणी गर्न नहुनेमा जोड दिए ।
निर्वाचन आयोगले केन्द्रीय आचारसंहिता अनुगमन समिति, विषयगत उपसमितिहरु, निर्वाचन आचारसंहिता अनुगमन टोली, जिल्ला आचारसंहिता अनुगमन समितिलगायत जिल्ला तहबाट समेत अनुगमन हुने उल्लेख गर्दै फागुन ७ गतेसम्म ७० वटा स्पष्टिकरण र पत्राचार गरेको र ४३ वटा स्पष्टिकरण र जवाफ प्राप्त भएको आयोगले जानकारी दिएको छ ।
कार्यममा इन्सेकका निर्देशक भार्गब काफ्लेले मतदानस्थलमा कुनै द्विविधा पर्दा पर्यवेक्षकलाई साक्षिमा दस्तखत गराउने गरेको विषयमा राखेको जिज्ञासामा कानून अधिकृत जोशीले त्यसो नगर्न सुझाव दिए ।
इन्सेक कोशी प्रदेश संयोजक मनोहर पोखरेल, लुम्बिनी प्रदेश संयोजक भोला महत, सुदुर पश्चिम प्रदेश प्रलेख अधिकृत कृष्ण वि.क.लगायतले सामाजिक सञ्जालमा नाम पहिचान गर्न नसक्ने व्यक्तिले गरेका आचारसंहिता बिपरितका पोष्टहरुको विषय, उम्मेद्वारले निर्वाचन अवधीका लागि बैंक खाता खोलेर कारोबार गर्नु पर्ने, निर्वाचन आयोगले तोकेको जरिवाना नतिर्नेहरुलाई आयोगले के गर्छ भन्नेलगायत विषयमा प्रश्न गरेका थिए ।
कानून अधिकृत जोशीले उम्मेद्वारका प्रतिनिधिका नाममा बैंक खाता खोल्न नहुने उल्लेख गर्दै निर्वाचनमा पारदर्शिता र जवाफदेहिताका लागि कानून पालना गर्नु पर्ने दायित्वका साथै कानूनअनुसार कारबाही हुने जानकारी दिए ।
कार्यक्रममा बालबालिका शान्ति क्षेत्र अभियान (सिजप)का अध्यक्ष तिलोत्तम पौडेलले निर्वाचनमा बालबालिकाको प्रयोग भएको विषयमा निर्वाचन आयोगले दलहरु र उम्मेद्वारहरुलाई त्यसो नगर्न र प्राप्त उजुरीको भए गरेको कार्वाहीका विषय संख्यात्मकरुपमा विज्ञप्तिमार्पmत जानकारी दिनुपर्नेमा जोड दिए ।
उनले निर्वाचनमा बालबालिकाको प्रयोगले उनीहरु हिंसाको शिकार हुन सक्ने र विद्यालयलाई शान्ति क्षेत्रकारुपमा विकास गर्न बाधा पर्नेमा ध्यानाकर्षण गरे ।
कार्यक्रममा भौतिक उपस्थिति र अनलाइन माध्यमबाट ४१ जना पर्यवेक्षकहरुले सहभागिता जनाएको इन्सेकका निर्देशक मदन पौडेलले जानकारी दिए ।