२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

भूगोलमा पुन मगर, भावनामा कम्युनिष्ट : छिपखोलाको अनौठो विरासत

shivam cement
बालाराम शेर्पाली
२०८२ फागुन ९ गते २२:०५
Shares
भूगोलमा पुन मगर, भावनामा कम्युनिष्ट : छिपखोलाको अनौठो विरासत

रुकुम पूर्व : लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ मा एउटा यस्तो गाउँ छ, जहाँको परिचय भूगोलले मात्र होइन, एउटा विशिष्ट सामाजिक र राजनीतिक चरित्रले दिने गर्छ । त्यो गाउँ हो, छिपखोला । यहाँ पुग्ने जोकोहीलाई लाग्छ, यो गाउँ कुनै आधुनिक बस्ती मात्र होइन, बरु एउटा जीवित ‘राजनीतिक संग्रहालय’ हो, जहाँ दशकौंदेखि ‘एउटै थर र एउटै विचार’ को अविचलित विरासत कायम छ ।

छिपखोलाको सबैभन्दा ठूलो विशेषता यहाँको जातीय स्वरूप हो । यो गाउँमा पुन मगर समुदाय बाहेक अन्य कुनै जातिको बसोबास छैन । गाउँका प्रत्येक घरधुरी एउटै थरका मानिसहरूले भरिएका छन्, जसका कारण छिमेकी बस्तीहरूमा यसलाई ‘पुन गाउँ’ भनेर चिनिन्छ। यहाँको सामाजिक संरचना यति कसिलो छ कि रगतको नाता र राजनीतिक आस्था यहाँ एकै सिक्काका दुई पाटा बनेका छन् ।

कम्युनको त्यो बिर्सिनसक्नु अभ्यास

नेपाली राजनीतिक इतिहासमा छिपखोलाको नाम ‘बलिदान जन–कम्युन’ सँग अभिन्न रूपमा जोडिएको छ । २०६१ भदौ २५ गते तत्कालीन विद्रोही माओवादीले यहाँ सामूहिक जीवन पद्धतिको एउटा प्रयोग सुरु गरेको थियो । सुरुमा ६ र पछि १० परिवारले आफ्नो सम्पूर्ण निजी सम्पत्ति पार्टीकरण गरेर ‘साझा काम, साझा भान्छा र साझा आम्दानी’को अवधारणामा जीवन बिताएका थिए ।

निजी स्वामित्वको अन्त्य गरी सामूहिक श्रममा विश्वास गर्ने त्यो अभ्यास २०६८ सालसम्म चल्यो । आज त्यो कम्युन त इतिहास बनिसक्यो, तर त्यसको जगमा उभिएको ‘सहिद स्मृति पार्क’ ले गाउँको संघर्षपूर्ण विगतलाई अझै पनि ताजा बनाइराखेको छ। साविकका प्वाङ, पोखरा र पिपल गाविसमा राज्यपक्षबाट ज्यान गुमाएकाहरूको नामाकिंत स्तम्भले यो गाउँको विद्रोही चेतलाई प्रतिविम्बित गर्छ । 

विद्रोहको त्यो कालो दिन

२०५२ साल फागुन २९ गते छिपखोलामा घटेको एउटा दुःखद घटनाले गाउँको राजनीतिक दिशा नै बदलिदियो । प्रहरीद्वारा दुई सर्वसाधारणको हत्या भएपछि आक्रोशित बनेको यो गाउँले राज्यसत्ता विरुद्धको विद्रोहलाई आफ्नो गन्तव्य बनायो । विकट भौगोलिक अवस्थितिका कारण तत्कालीन माओवादीका लागि यो सुरक्षित ‘सेल्टर’ मात्र बनेन, बरु एउटा बलियो आधार इलाकाका रूपमा स्थापित भयो । 

यो दुर्गम बस्तीले देशको नीति निर्माण तहमा पुग्ने प्रभावशाली व्यक्तित्वहरू पनि जन्माएको छ । पूर्वमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कार्यालय मुख्य सचिव गणेशमान पुनको यो जन्मथलो हो । २०७० को संविधानसभा सदस्य हुँदै २०७२ मा मन्त्री बनेका पुन र उनकी जीवनसंगिनी कमला रोका (पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य)को राजनीतिक उचाइले छिपखोलालाई राष्ट्रिय चर्चाको केन्द्रमा राखेको छ ।

विचारको ‘लालकिल्ला’

लोकतन्त्रमा बहुदलीय प्रतिस्पर्धा सामान्य मानिए पनि छिपखोलामा भने अन्य दलको उपस्थिति ‘शून्य’ प्रायः छ । यहाँ राजनीति केवल चुनावी एजेन्डा होइन, बरु पुस्तादेखि पुस्तासम्म सरेको एउटा दृढ विचार हो । अन्य दलका उम्मेदवारहरू कहिलेकाहीँ भोट माग्न त पुग्छन्, तर स्थानीयको एउटै जवाफ हुन्छ, ‘यो ऐतिहासिक गाउँ हो, यहाँ गणेशमानको विचार र शहीदको सपना बाहेक अरू केही चल्दैन ।’

एउटै थर, एउटै समुदाय र एउटै राजनीतिक धार बोकेको छिपखोला आज पनि आफ्नो फरक पहिचानसहित पहाडका खोँचहरूमा गर्वका साथ ठिङ्ग उभिएको छ ।

सम्बन्धित खबर