२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

ईस्तियाक र सुधांशुको काँटेको टक्करमा विवेकको ‘इन्ट्री’

shivam cement
जनक नेपाल
२०८२ फागुन १३ गते ०६:३०
Shares
ईस्तियाक र सुधांशुको काँटेको टक्करमा विवेकको ‘इन्ट्री’

काठमाडौं : दिवंगत पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको चुनावी क्षेत्रका रुपमा परिचित छ, बाँके क्षेत्र नम्बर २ । कांग्रेसको राम्रो जनाधार भएर पनि कोइरालालाई चुनाव जित्न भनेसधै हम्मे–हम्मे परिरह्यो । त्यो सकसपूर्ण किस्सा उनी बेलाबखत सुनाइरहन्थे । चुनावको अघिल्लो रातलाई कोइराला ‘कतल कि रात’ भन्थे । त्यही अन्तिम रातले नेपालगन्जको चुनावी नतिजा उलटफेर गरिदिने उनको अनुभव थियो । 

२०७० को संविधानसभा निर्वाचनमा उनलाई कांग्रेसले भावी प्रधानमन्त्रीका रुपमा प्रचार गरेको थियो । तर, उनी बाँके–२ बाट चुनाव जित्नेमा ढुक्क थिएनन् । त्यसैले बाँकेसँगै उम्मेदवारी दिन चितवन–३ पनि पुगे । त्यसबेला उनी दुवै ठाउँबाट चुनाव जित्न सफल भए । तैपनि, कोइरालाले बाँके–२ छाडेनन्, चितवनमा उपनिर्वाचन भयो । 

कोइराला बितेकै दशक भइसक्यो । बाँके–२ को चुनावी नतिजा भने अहिले पनि उस्तै, अनुमान गर्न मुस्किल हुने खालकै छ । नेपालगञ्ज उपमहानगरपालिकाका २२ वटा वडा र डुडुवा गाउँपालिकाका ६ वटा वडा समेटिएको यस निर्वाचन क्षेत्रमा १ लाख ८ हजार २९० मतदाता छन् । यहीँबाट पूर्वप्रधानमन्त्री कोइराला २०४८ यताका पाँच निर्वाचन लडे । तर, कोइराला मात्र होइन्, कुनै पनि सांसद्ले दोहोरिएर चुनाव जित्न सकेका छैनन् । 

चुनावी नतिजा विश्लेषण गर्दा बाँके–२ का मतदाताले हरेक चुनावमा आफ्नो मत परिवर्तन गर्दैआएको पाइन्छ । २०४८ मा चुनाव जितेका कोइराला २०५१ मा राप्रपाका शान्तिशमसेर राणासँग पराजित भए । २०५६ मा कोइराला पुनः फर्किए । २०६४ को संविधानसभामा भने मधेसी जनअधिकार फोरमका सर्वदेव ओझासँग पराजित हुन पुगे । दुई पटक हार बेहोरेका कोइरालालाई अन्तिममा यसै क्षेत्रले देशको प्रधानमन्त्री भने बनायो । 

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँके–२ मा चार उम्मेदवार मुख्य प्रतिस्पर्धामा देखिन्छन् । झट्ट हेर्दा नेपाली कांग्रेसका सुधांशु कोइराला र नेकपा एमालेका ईस्तियाक राईकी बीच काँटेका टक्कर देखिन्छ । तर भित्रभित्रै रास्वपाका विवेक श्रेष्ठ र राप्रपाका ऋषिराज देवकोटाले पनि आफ्नो मत बढाईरहेका छन् । 

एमाले उम्मेदवार ईस्तियाक राई मधेस आन्दोलनबाट उदाएका नेता हुन् । २०६४ यता उनले लडेका चार वटा चुनावमध्ये दुई जित र दुई हार बेहोरेका छन् । उनी मुस्लिम समुदायमा लोकप्रिय मानिन्छन् । मधेस आन्दोलनदेखि संगै आएका समर्थक लिएर यसपटक उनी एमालेबाट चुनाव लड्दै छन् । बाँके–२ मा एमालेको झण्डै १० हजार पपुलर मत रहेको दाबी सो पार्टीको छ । ईस्तियाकले त्यही मतमा आफ्नो व्यक्तिगत लोकप्रियता र मुस्लिम समुदायको विश्वास प्राप्त गरेर चुनाव जित्ने रणनीति बनाएका छन् । आफू सहरी विकासमन्त्री हुँदा गरेको विकासको कामलाई उनले मतदातासँग भोट माग्ने मुख्य आधार बनाएका छन् । ‘मैले गरेका काम नै चुनाव जित्ने मुख्य आधार हो’ उनी भन्छन् । 

ईस्तियाक एकाएक उम्मेदवार बनेपछि एमालेका आकांक्षी स्थानीय नेताहरु असन्तुष्ट छन् । बाँके अध्यक्ष निरक गुरुङ त्यो असन्तुष्टि मिलिसकेको दाबी गर्छन् । ‘यो संकटका बेला सिंगो पार्टी पङ्ती एकजुट भएकार लागेका छौं’ उनले मध्यान्हसँग भने, ‘यसपटक बाँकेका तीन वटै क्षेत्र जित्ने स्थितिमा एमाले छ ।’ 

कोइराला परिवारबाट नयाँ पुस्ताका सुधांशु कोइरालालाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको छ । बाँके– २ मा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको विरासत फर्काउने दाउमा उनी देखिन्छन् । सुधांश सुशील कोइरालाका भाइ डा अरुण कोइराला पुत्र हुन् । उनी अहिले बाँके कांग्रेसको सचिव छन् । कांग्रेसको परम्परागत अन्र्तघात र गुटबन्दीलाई चिरेर पार्टीलाई एक ढिक्का राख्न सके चुनाव जित्न सकिनेमा उनी आशावादी देखिन्छन् । ‘यसपटक कुनै विवाद छैन । सबैको साथ समर्थन लिएर म अघि बढेको छु’ कोइरालाले भने । 

२०७९ को निर्वाचनमा कांग्रेस उम्मेदवार सुदीप नरसिंह राणाले भने जनमत जफ्त भएको थियो । उनले ४ हजार ४०३ मत प्राप्त गर्दा कांग्रेसले समानुपातिकतर्फ १० हजार १ सय ९८ मत प्राप्त गरेको थियो । त्यतिबेला कांग्रेसको असन्तुष्टिको मत राप्रपा नेता धवलशमशेर राणाले तानेको विश्लेषण गरिन्छ । 

राप्रपा महामन्त्री राणा यसपटक चुनावी मैदानमा छैनन् । तर, उनलाई सहमहामन्त्री ऋषिराज देवकोटालाई चुनाव जिताउनुपर्ने चुनौती छ । एमालेसँग तालमेल, कांग्रेस समर्थकको साथ र हिन्दू नारा लिएर राणाले बाँके–२ बाट चुनाव जितेका थिए । चुनावी मैदानमा देवकोटा नयाँ अनुहार हुन् । तर, हिन्दू राष्ट्र र राजसंस्था पुर्नस्थापनाको एजेण्डाप्रति नेपालगन्जको समर्थन रहेकाले आफूले चुनाव जित्ने दाबी उनको छ । ‘हिन्दू राष्ट्रको एजेण्डालाई नेपालगन्जले पुनः अनुमोदन गर्नेमा विश्वस्त छु’ देवकोटाले भने । 

गत चुनावमा राप्रपाका राणा २९ हजार ५७७ मतसहित विजयी हुँदा जसपाबाट उठेका ईस्तियाक राईले २३ हजार ५२० मत प्राप्त गरेका थिए । राणाले चुनाव जिते पनि राप्रपाको समानुपातिक मत भने निकै कम ११ हजार ३८० मत मात्र थियो । जसपाले सबैभन्दा धेरै २० हजार २५१ समानुपातिक मत प्राप्त गरेको थियो । 

ईस्तियाक राई एमालेबाट चुनाव लडेपछि यसपटक जसपाबाट कमरुद्धिन राई उठेका छन् । नेपालगन्ज उपमहानगरपालिकाको उपमेयरबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका उनी जसपाको परम्परागत जनमत जोगाएर चुनाव जित्ने रणनीतिमा देखिन्छन् । 

यी परम्परागत प्रतिस्पर्धी दलहरुको चुनावी गणितलाई यसपटक रास्वपाले अनिश्चित बनाइदिएको छ । रास्वपाका विवेक श्रेष्ठ उम्मेदवारका रुपमा त्यति चिनिएको अनुहार होइन् । तर, रास्वपाप्रति युवा मतदाताको आकर्षणले उनी पनि मुख्य प्रतिस्पर्धामा उक्लिसकेको विश्लेषण भइरहेको छ । नेपाली कम्युनिष्ट पार्टीका दिपेन्द्र विष्ट पनि उत्तिकै उत्साहका साथ चुनावी मैदानमा छन् । गत निर्वाचनमा तत्कालीन माओवादी केन्द्रले ३ हजार ४४ समानुपातिक मत प्राप्त गर्दा रास्वपाले ४ हजार १०३ मत प्राप्त गरेको थियो । 

नेपालगन्जको चुनाव जित्न उम्मेदवारले राजनीतिक र विकासका एजेन्डा मात्र अघि सारेर पुग्दैन् । उम्मेदवारले धार्मिक–सामुदायिक सन्तुलन पनि मिलाउनुपर्छ । ‘यो क्षेत्रमा धेरै मत स्वीङ हुनसक्छ’ नेपालगन्जका पूर्वमेयर विजय गुप्ता भन्छन्, ‘अन्तिम बेला धार्मिक वा साम्प्रदायिक हिसाबले पनि मत जानसक्छ ।’ अहिल्यै धेरै आंकलन गर्न मुस्किल भए पनि बाँके–२ को प्रतिस्पर्धा कांग्रेस, एमाले र रास्वपाबीच त्रिपक्षीय हुने सम्भावना बढेको उनी बताउँछन् । 

जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा कांग्रेस गुमेको विरासत फर्काउने कसरतमा छ भने एमाले उम्मेदवारको व्यक्तिगत प्रभावको लाभ लिने रणनीतिमा छ । रास्वपाले चुनावी लहरलाई नतिजामा बदल्ने आशा लिएको छ भने राप्रपा जित दोहो¥याउने उपायको खोजीमा देखिन्छ । 

सम्बन्धित खबर