२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

चुनावी सकसमा विष्णु पौडेल

shivam cement
जनक नेपाल
२०८२ फागुन १५ गते ०६:२०
Shares
चुनावी सकसमा विष्णु पौडेल

जबजब नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री हुन्छन्, बजेटजति रुपन्देहीमा खन्याए भन्ने आरोप लागिरहन्छ । विकास सन्तुलनको कोणबाट हेर्दा त्यो आरोप स्वभाविक पनि हो । पटक–पटक मन्त्री बनेर पौडेलले रुपन्देहीमा अन्र्तराष्ट्रिय विमानस्थलदेखि बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्थायी प्रदर्शनी स्थल, सिद्धबाबा सुरुङमार्ग, सडक सञ्जाललगायतका ठूला आयोजना भित्र्याए । तर, उनै पौडेललाई यसपटक रुपन्देही क्षेत्र नं. २ बाट चुनाव जित्न हम्मे–हम्मे परिरहेको विश्लेषण भइरहेको छ । 

एक लाख ३५ हजार मतदाता रहेको यो निर्वाचन क्षेत्रमा वुटवल उपमहानगरपालिकाका १३ वडा, तिलोत्तमा नगरपालिकाका ६ वटा र सैनामैना नगरपालिकाका ४ वटा वडाहरु पर्छन् । २०५१ सालको  मध्यावधि निर्वाचनमा पाल्पा क्षेत्र नम्बर ३ बाट चुनाव जितेर संसदीय राजनीतिमा आएका पौडेल त्यसयता निरन्तर यहीँबाट चुनाव लड्दैआएका छन् । २०५६ सालको निर्वाचनमा नेपाली कांग्रेसका सूर्यप्रसाद प्रधानसंग झिनो मतान्तरले पराजित भएबाहेक उनले हार ब्यहोर्नुपरेको छैन । पहिलो संविधानसभा निर्वाचनमा एमालेले देशभर धक्का बेहोर्दा पनि पौडेलले चुनाव जितेका थिए । २०७० र २०७४ सालका निर्वाचनमा उनलाई चुनाव जित्न खासै गाह्रो भएन् । २०७० मा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई समेत पौडेलले पराजित गरेका थिए । उनै पौडेललाई २०७९ को चुनावी नतिजाले भने नराम्ररी झस्काईदियो । सो चुनावमा रुपन्देही–२ मा एमालेभन्दा झण्डै ४ हजार धेरै समानुपातिक मतसहित रास्वपा पहिलो शक्तिका रुपमा उदाएको थियो । एमाले उपाध्यक्ष विष्णु पौडेलले १ हजार ३ सय ७० मतको अन्तरले चुनाव जित्दा निकटतम् प्रतिद्वन्द्व रास्वपाकै गणेश पौडेल थिए । 

यसपटक रुपन्देही–२ को चुनावी मैदानमा पौडेलसँगै नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेल, रास्वपाका सुलभ खरेल, नेपाली कम्युनिष्ट पार्टीबाट सुवास पाण्डे (विश्वदिप) र स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसालसहित ३९ जना उम्मेदवार प्रतिस्प्रर्धामा छन् । खास चर्चा भने एमाले उपाध्यक्ष पौडेल र रास्वपाका खरेलबीच छ ।

एमाले उपाध्यक्ष पौडेलले यसपटक अघिल्ला चुनावभन्दा ठूलो चुनौती सामना गर्नुका केही खास कारणहरु छन् । पहिलो, यो चुनाव भदौं २३ र २४ को जेनजी आन्दोलनलाई पृष्ठभूमिमा राखेर हुँदैछ । आन्दोलन र विध्वंसका क्रममा ठूलो मानविय तथा भौतिक क्षति हुँदा तत्कालीन सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । उनको क्याबिनेटमा अर्थमन्त्री थिए, बिष्णु पौडेल । सोही कारण सिंगो एमाले मात्र होइन्, पौडेल पनि यसपटकको चुनावमा रक्षात्मक बनेका छन् । जसका कारण एमाले कार्यकर्ता तथा समर्थक खुलेर भोट माग्न सकिरहेका छैनन् । पार्टी प्रचारको रणनीति नै फेरेर चुनावमा गएको छ । 

अर्को कारण, रुपन्देही एमालेको आन्तरिक विवादले पनि पौडेललाई अप्ठेरोमा पारेको छ । स्थानीय नेताबीच गुटबन्दीमा उनले एउटा पक्षलाई काखी च्याप्ने गरेको आरोप उनीमाथि लाग्दैआएको छ । चुनावी प्रतिस्पर्धा चर्को भएपछि पौडेलले धेरै मेहनत गरेर आन्तरिक विवाद भने मिलाइसकेका छन् ।  

पौडेल दबाबमा पर्नुको मुख्य कारण भने यस चुनावमा रास्वपाप्रति आएको लहर हो । त्यसो त, अघिल्लो चुनावमै रास्वपाले रुपन्देहीमा राम्रो मत ल्याएको थियो । राप्रपासँगको तालमेलले मात्र एमाले क्षेत्र नं. १, २ र ५ मा विजयी भएको थियो । तैपनि, क्षेत्र नं. ४ बाहेक सबैजसो क्षेत्रमा समानुपातिकतर्फ उल्लेख्य मत प्राप्त गरेको थियो । क्षेत्र नं. २ मा त रास्वपा सबैभन्दा लोकप्रिय दल बनेको थियो ।

गत चुनावमै राम्रो प्रतिस्पर्धा गरेको रास्वपा यसपटक जसरी भए पनि जित निकाल्ने रणनीतिमा देखिन्छ । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने लामो समय रुपन्देही कारागारमै बसेका थिए । त्यहीबेलादेखि मिसन–२०८४ को तयारी गरेको रास्वपाले जेनजी आन्दोलनले दुई वर्षअघि नै अवसर आएको ठानेको छ । त्यसैले यसपटक रवि र बरिष्ठ नेता बालेन्द्र शाहले रुपन्देहीको चुनावी माहौल आफ्नो पक्षमा पार्न मेहनत गरिरहेका छन् । अहिलेसम्म रुपन्देही– २ जित्ने, रुपन्देही–३ मा एमालेसँग र रुपन्देही १ मा कांग्रेससँग कडा टक्कर रहेको रास्वपाको आन्तरिक आंकलन छ । रुपन्देही–१ बाट बालेनका सचिवालय सदस्य सुनिल लम्साल उठेका छन् । उनको प्रचारप्रसारका लागि महत्व दिएरै उनी गाउँसम्मै पुगेपछि चुनावी गर्मी झन् बढ्यो । 

रुपन्देहीको माहोल आफू प्रतिकुल बन्दै गएको पौडेलले बुझिसकेका थिए । त्यसैले यसपटक पाल्पाबाट चुनाव लड्ने उनको तयारी थियो । सोही अनुसार पाल्पा क्षेत्र नम्बर २ बाट उनको नाम सिफारिस भई टिकटसमेत लिए । तर, रुपन्देहीका एमाले नेता कार्यकर्ताले उनलाई पाल्पा जानबाट रोके । पौडेलको इच्छाले उल्टै पाल्पा–२ को टिकट नै गिजोलिन पुग्यो । अन्ततः पाल्पामा ठाकुर गैरेले टिकट पाउनुपर्ने एमालेभित्रको अल्पमत पक्षको दबाब र रुपन्देही एमालेको जोडबलमा पौडेल रुपन्देही–२ बाटै चुनाव लड्ने भए । तर, चुनावी माहौल भने उनले चाहेजस्तो सुध्रिइसकेको छैन । 

अन्य दलका नेता कार्यकर्ताले समेत रुपन्देहीको विकासको श्रेय पौडेललाई नै दिने गरेका छन् । सुकुम्बासी समस्याको स्थायी समाधान खोज्न ढिलाई भएकोबाहेक एउटा सांसद्का रुपमा उनीप्रति स्थानीयको खासै गुनासो सुनिँदैन् । तर, यस पटक चुनाव जित्न उनले अहिलेसम्मै सबैभन्दा कडा मेहनत गर्नुपरेको छ । 

रुपन्देही–२ मा यसपटक विष्णु पौडेलबाहेक अरु सबैजसो उम्मेदवार पहिलो पटक चुनाव लड्दै छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका चुन्नप्रसाद पौडेल व्यवसायिक पृष्ठभूमिका छन् । यस पटक कांग्रेसको आन्तरिक एकता र कांग्रेसमा भएको नेतृत्व परिवर्तनपछि उत्साह जागेकाले चुनाव जित्ने माहोल भएको उनी बताउँछन् । विगतमा निस्क्रिय रहेका नेताकार्यकर्ता पनि कांग्रेस उम्मेदवारलाई जिताउन लागिपरेको उनको बुझाई छ । 

रास्वपाका उम्मेदवार सुलभ खरेल उदीयमान कानुन व्यवसायी हुन् । तत्कालीन प्रधानमन्त्री ओलीले गरेको संसद् विघटनको मुद्दामा गरेको गहकिलो बहसले उनी त्यतिबेलै चर्चामा आएका थिए । उनी एमाले अखिलको पृष्ठभूमिबाट आएका युवा नेता हुन् । रुपन्देहीमा रास्वपाको खासै संगठन नभए पनि यस पटक वैकल्पिक दलप्रति मतदाताको रुझान देखिन्छ । त्यसको लाभ खरेलले लिइरहेका छन् । उनको मतको मुख्य आधार नै अन्य दलका असन्तुष्ट समर्थकको मत हो । यति हुँदाहुँदै पनि गत भदौ २४ गते सर्वोच्च अदालतमा भएको आगजनीका सन्दर्भमा उनले समाजिक सञ्जालमा पोखेको आक्रोशले उनी आलोचित भए । उदीयमान अधिवक्ताको त्यो अभिव्यक्ति अशोभनिय त थियो नै, सर्बोच्च, सिंहदरबार, शीतल निवासजस्ता राष्ट्रका सम्पदा जलाउनु सही हो भन्ने वकालत थियो । त्यो अभिव्यक्ति उनलाई महंगो परिरहेको छ । गत मंसिरमा एक मुद्दामा सर्वोच्च अदालतमा बहसकै बेला पनि न्यायाधिशहरुले यही प्रसंग उठाएका थिए । उनले ईजलासमै माफीसमेत मागेका थिए । सो घटनाबाट सुलभले कतिसम्म दबाब झेले भने उनी इजलासमै ंबेहोस भएर ढलेका थिए । 

बहुचर्चित निर्वाचन क्षेत्रहरु झापा–५, सर्लाही–४, दाङ–२, चितवन–३ जस्तै रुपन्देही–२ बारे पनि विभिन्न मिडिया विश्लेषण र सर्वेक्षणका नाममा हारजितका दाबीहरु सार्वजनिक भइरहेका छन् । तर, विष्णु पौडेलको जित सुनिश्चित छ वा उनको संसदीय यात्रामा यसपटक ब्रेक लाग्छ भन्ने अनुमान अहिल्यै गर्न मुस्किल छ । रास्वपा र एमाले दुवैले आफ्नो जित सुनिश्चित रहेको दाबी गरिरहेका छन् । पौडेल स्वयम्ले चुनावी अभियानका सुरुवाती दिनमा केही चुनौती देखिए पनि अहिले समग्र स्थिति सुध्रिएको बताउँछन् । 

पौडेल त्यसै पनि चतुर चुनावी रणनीतिकार मानिन्छन् । उनी पार्टीभित्र जति लोकप्रिय छन्, अन्य दलका स्थानीय नेता कार्यकर्तासँग पनि पौडेलको गहिरो सम्बन्ध देखिन्छ । आफ्नो उम्मेदवार कमजोर देखिएको स्थितिमा प्रतिस्पर्धी दलकै नेता कार्यकर्ताबाट समेत मत प्राप्त हुने एमालेको विश्लेषण छ । विकल्पको खोजीमा रहेका मतदाताहरुको मत रास्वपासँगै हर्क साम्पाङको श्रम संस्कृती पार्टी, स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाललाई समेत बाँडिने अवस्था छ । त्यस्तोमा रास्वपा र एमालेले जित निकाल्न अपनाएका भित्री रणनीतिले पनि नतिजा फेरबदल गर्नसक्ने देखिन्छ । 

सम्बन्धित खबर