
काठमाडौं : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहीबार मुलुकभर समग्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार देशभर गरी ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान छ । काठमाडौं उपत्यकाका तीन जिल्ला मध्ये ६१.९४, ललितपुरमा ३८.३३ र भक्तपुरमा ७२.९ प्रतिशत मत खसेको छ । बिहीबार साँझ आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले यसमा पहिलो पटक मतदान गर्नेहरु नवयुवाको सहभागिता उत्साहपूर्ण रहेको समेत बताए । ‘नवयुवा मतदाता, न्यायिक र प्रशासनिक तथा प्रतिस्पर्धामा रहेका राजनीतिक शक्ति लगायत सबै पक्षले आयोगलाई निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिएका छन्’, भण्डारीको भनाइ थियो ।
सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै भण्डारीले कानुनको अभावमा धेरैतिर बाट सुझाव आए पनि ‘नो भोट’को ब्यवस्था गर्न नसकिएको जानकारी समेत दिए । आयोगले कुनै पनि नागरिकलाई भोट हाल्नै पर्छ भनेर बाध्य पार्न नसक्ने बताउँदै दार्चुला लगायतका केही मतदान केन्द्रमा स्थानीय विषयलाई लिएर असन्तुष्ट मतदाताले भोट नहालेको समेत उनले बताए ।
फागुन २१ गतेका लागि निर्वाचन घोषणा भएको दिन (भदौ २७) का दिन देखि नै अर्जुन दृष्टि दिएको पनि कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए । ‘मतदाताहरू मतदान नै नगरी फर्किएको अवस्था छैन’, उनले थपे ।
जहाँ मतदान गर्न कोही आएनन्
बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गत पर्ने दाङको बबई गाउँपालिका–७ स्थित देउती माध्यमिक विद्यालय तल्लो मलैमा मतदान केन्द्रमा मतदान गर्न कोही पुगेनन्। स्थानीयले बस्ती स्थानान्तरण गर्न लामो समय देखि माग गर्दै आएकोमा थिए। तर उक्त माग पूरा नभएको आक्रोश उनीहरुले यसरे पोखेका थिए । त्यसैगरी ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित टोक्सेल मतदान केन्द्रमा पनि स्थानीयहरू मतदान गर्न नपुगे पछि चार जना कर्मचारीले समानुपातिक मत हालेका थिए । जिल्लाका मुख्य निर्वाचन अधिकृत हरि कोइरालाले १८ गते आयोगका कर्मचारी त्यहाँ पुगेदेखि नै त्यहाँका जनताले ‘यसपालि हाम्रो नो भोट भन्न थालेको जानकारी दिए । ‘हामीले स्थानीय जनप्रतिनिधि र दलका प्रतिनिधिलाई सकेसम्म सम्झाउन भनेका थियौं । मतदानको दिनसमेत पनि त्यो सफल भएन । बिहान मुचुल्का समेत बल्ल बल्ल गरेर दिनभर बस्यौं कसैको भोट नपरेपछि रित्ता बाकस लैजाँदै छौं ’। यसो हुनुको कारण त्यहाँ अस्पताल बनाउनका लागि १६५ रोपनी जग्गा जनताले दिएका र पछि त्यस तर्फ कुनै प्रगति नभएपछि असन्तोष पोख्न यो माध्यम अपनाएका हुनसक्ने पनि कोइरालाले बताए ।
यसपटक निर्वाचनमा एक करोड ८९ लाख ३ हजार ६८९ मतदाता थिए। यसमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष मतदाता, ९२ लाख ४० हजार १३१ महिला मतदाता र २ सय जना अन्य मतदाता थिए। निर्वाचनबाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिक तर्फ १ सय १० गरी कुल २ सय ७५ जना सदस्य निर्वाचित हुनेछन्
निर्वाचनमा यसपटक प्रत्यक्षतर्फ कुल १ एक सय ६५ निर्वाचन क्षेत्रमा ६५ राजनीतिक दलका २ हजार २ सय ६३ र १ हजार १ सय ४३ वना स्वतन्त्र गरी कुल ३ हजार ४ हजार ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमध्ये ३ हजार १७ जना पुरुष र ३ सय ८८ जना महिला उम्मेदवार छन् । अन्यबाट समेत १ जनाको उम्मेदवारी परेको छ । समानुपातिकतर्फ भने कुल ६३ दलबाट ३ हजार १ सय ३५ जनाको उम्मेदवारी छ ।