२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

चौंथोबाट सबैभन्दा ठूलो दलमा छलाङ मार्दैछ रास्वपा

shivam cement
जनक नेपाल
२०८२ फागुन २१ गते २२:३५
Shares
 चौंथोबाट सबैभन्दा ठूलो दलमा छलाङ मार्दैछ रास्वपा

काठमाडौं : सबै ठिकठाक हुँदो हो त, दुई वर्षपछि २०८४ मा आवधिक निर्वाचनमा हुने थियो । दलहरु मिसन–२०८४ को नारासहित जनतामा गइसकेका थिए । जेनजी आन्दोलनले ल्याएको उथलपुथलले दुई वर्षअघि नै भएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले छलाङ मार्ने प्रष्ट संकेत देखिएको छ ।  

तीन वर्षअघि संसदीय राजनीतिमा उदाएको रास्वपाले बिहीबार सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल बन्ने देखिन्छ । चुनावी अभियानमा देखिएको लहर मतदानसम्मै देखिएपछि उसको जित आंकलन गरिएको हो । चुनाव रास्वपाको पक्षमा पर्नुका मुख्य तीन आधार देखिन्छ । पहिलो, बर्षौदेखि एउटै दललाई मत दिँदैआएका मतदाताले यसपटक मत बदलेको पाइयो । अर्को, नयाँ र पुराना दलको ध्रुबीकरणमा रास्वपालाई लाभ मिलेको छ । तेस्रो कारण, अति दलीयकरण, कुशासन, बेथिति र भ्रष्टाचारबाट उत्पन्न असन्तुष्टि र निराशाको मत पनि रास्वपालाई नै गएको अनुमान छ । रास्वपाको पक्षमा उर्लिएको लहर बहुमतसम्म पुग्ला वा नपुग्दा अहिल्यै भन्न नसकिए पनि प्रतिनिधिसभाको पहिलो दल बन्ने भने निश्चितजस्तै देखिएको छ । 

त्यसो त, रास्वपा अघिल्लो निर्वाचनबाटै उदाएको दल हो । गत स्थानीय तह निर्वाचनमा काठमाडौं, धरान र धनगढीमा स्वतन्त्र उम्मेदवारको जितपछि हौसिएर संचारकर्मी रवि लामिछानेको नेतृत्वमा यो दल खुलेको हो । गठन भएको तीन महिनामै चुनावमा गएको रास्वपाले तत्कालीन माओवादी केन्द्र हाराहारीकै मत ल्याएर २०७९ सालमै संसद्को चौथो ठुलो दल बनेको थियो । त्यतिबेलै काठमाडौं उपत्यका र सहरी मतदाताले रास्वपालाई नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रजस्ता पुराना दलको विकल्पका रुपमा हेरेका थिए । त्यतिबेला प्रत्यक्षतर्फ २१ र समानुपातिकतर्फ ११ लाख मत ल्याएको रास्वपालाई पाँच वर्षपछिको मुख्य शक्ति ठानिएको थियो । युवा नेता र प्रियतावादी नारासहित राजनीतिमा आएको सो दलले दुई वर्षमै त्यो मौका पाएको छ । 

रास्वपाको अहिलेको लहरमा ‘बालेन फ्याक्टर’ले काम गरेको छ ।  काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिँदा बालेन्द्र शाह ‘बालेन’ले दलीय राजनीति नगर्ने प्रतिबद्धता जनाएका थिए । तर, जेनजी आन्दोलनपछिको आकस्मिक निर्वाचनले उनलाई दलमा मात्र पुर्‍याएन्, मेयरको कार्यकाल आधा–अधुरै राखेर प्रधानमन्त्रीको सपना पनि देखायो । एक दशकदेखि प्रधानमन्त्रीको म्युजिकल चियरमा रमाइरहेको तीन दलीय सिन्डिकेटले वाक्क नागरिकको असन्तुष्टि र निराशामा उनले अवसर देखे । अनि, आफैले बारम्बार आलोचना गरेका रवि लामिछानेलाई नेता मानेर रास्वपा प्रवेश गरे । रवि–बालेनको एकता नै चुनावी लहरको मुख्य कारण बन्न पुग्यो । 

बालेनको क्रेज ह्वात्तै बढ्नुका दुई कारण देखिन्छन् । पहिलो, उनी आफै लोकप्रिय र्‍यापर हुन् । सामाजिक सञ्जालमा उनका लाखौं फ्यान छन् । स्वतन्त्र उठेर काठमाडौं महानगरको मेयर जित्नुमा बालेनको त्यही लोकप्रियता अनि, युवा रिझाउने भिन्न चुनावी रणनीतिले काम गरेको थियो । झण्डै तीन वर्षे कार्यकालमा मेयरका रुपमा उनी औसत नै रहे । तर, सामाजिक सञ्जालमा उनको लोकप्रियता घटेन् । महानगरमा उल्लेख्य नतिजा नदेखिए पनि समर्थकले काठमाडौंलाई नै ‘बालेन सिटी’ भन्न थालिसकेका थिए । मेयरबाट राजीनामा दिएर हिजो आफैले अस्वीकार गरेको दलीय राजनीतिमा जाँदासमेत उनले कुनै प्रश्नको सामना गर्नुपरेन् ।  

मुख्य कारण, बालेनलाई रास्वपा सभापति लामिछानेले भावी प्रधानमन्त्रीका रुपमा अघि सारे । उनी प्रधानमन्त्रीहुँदा मुलुकले पहिलोपल्ट मधेसी मुलको कार्यकारी प्रमुख पाउने छ । ५ माघको जनकपुर सभाको यो उद्घोषले सिंगो मधेसमा बालेन लहर ल्याइदियो । ३२ निर्वाचन क्षेत्र र झण्डै ३६ लाख मतदाता रहेको मधेसले एकपल्ट मधेसबाट प्रधानमन्त्री भएको देख्न चाह्यो । मधेसले न रास्वपा चिन्यो, न उसका उम्मेदवार । उसले घण्टी चिन्यो, त्योभन्दा ज्यादा बालेन । त्यो लहर तराई–मधेसभर फैलियो । महोत्तरी पुख्र्यौली घर भए पनि उनले मधेसी पहिचानलाई खासै महत्व दिएका थिएनन् । तर, चुनावले उनलाई पुरापुर मधेसको सपना बनाइदियो । त्यही ‘मधेस कार्ड’ नै रास्वपा पहिलो शक्ति बन्ने मुख्य आधार बन्यो । 

सहरी र पहाडी क्षेत्रमा बालेन पहिल्यै लोकप्रिय छँदैथिए । सम्भवः त्यसैले उनको क्रेज कोशीका पहाडदेखि सुदूरपश्चिमका अछाम–बैतडीसम्मै फैलियो । बालेनको क्रेजले मधेस र पहाडको दूरीसमेत घटाएको देखियो । 

संसदको चौथो शक्ति पहिलो दलमा छलाङ मार्दा तत्कालीन पहिलो दल कांग्रेस र दोस्रो दल एमाले एक–एक तह घटुवामा पर्ने देखिन्छ । निराशामा सपना देखाएर उदाएको रास्वपाका लागि ती बलिया प्रतिपक्ष हुनेछन् । 

सम्बन्धित खबर