२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

सुविधाजनक बहुमततर्फ रास्वपा, प्रमुख प्रतिपक्ष बन्ने प्रतिस्पर्धामा कांग्रेस-एमाले

shivam cement
जनक नेपाल
२०८२ फागुन २३ गते ०६:३०
Shares
सुविधाजनक बहुमततर्फ रास्वपा, प्रमुख प्रतिपक्ष बन्ने प्रतिस्पर्धामा कांग्रेस-एमाले

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २०४८ यताकै ठुलो जित निकाल्ने देखिएको छ । शुक्रबार मध्यरातसम्मको मत गणना परिणामअनुसार प्रत्यक्षतर्फ एक सयभन्दा धेरै क्षेत्रमा रास्वपा उम्मेदवारहरूले फराकिलो अग्रता कायम गरेका छन् । यसले प्रतिनिधिसभामा रास्वपाले सुविधाजनक बहुमत सुनिश्चित गर्ने प्रष्ट संकेत छ । 

काठमाडौं उपत्यकाका १५ मध्ये १४ निर्वाचन क्षेत्रमा क्लिन स्वीप गर्दैछ भने मधेश, गण्डकी र लुम्बिनीमा बलियो पकड देखिएको छ । विघटित संसदका दुई ठुला दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रमुख प्रतिपक्ष बन्ने प्रतिस्पर्धा देखिएको छ । नेपाली कम्युनिष्ट पार्टी पनि ती दलभन्दा धेरै कमजोर देखिएको छैन ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनपछि कुनै दलले एकल बहुमत ल्याउन मिश्रित निर्वाचन प्रणालीलाई बाधक ठानिँदै आएको थियो । अहिले पनि २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ प्रत्यक्ष निर्वाचनबाट र ११० समानुपातिक निर्वाचनबाट सदस्यको निर्वाचन हुन्छ । तर प्रत्यक्षतर्फ एक सय सिट कटाउने संकेत देखिएपछि त्यही अनुपातमा समानुपातिक मत आउँदा सजिलै १५० सिट कटाउने रास्वपा नेताहरू बताउँछन् । ‘हाम्रो लक्ष्य बहुमत हो । तर जसरी देशैभर लहर चलेको यसले दुईतिहाइसम्म पुग्नसक्छ,’ रास्वपा उपसभापति डीपी अर्यालले भने ।

राजनीतिक अस्थिरताकै कारण अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षे कार्यकाल पूरा गर्न सकेका छैनन् । २०१५ सालमा दुईतिहाइ बहुमत ल्याए पनि प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको सरकारलाई राजा महेन्द्रले डेढ वर्षमै अपदस्त गरेर पञ्चायती व्यवस्था लागू गरे । २०४८ र २०५६ मा ल्याएको बहुमत कांग्रेसको आन्तरिक कलहले पाँच वर्ष टिकेन । २०७४ मा सुरुमा बाम गठबन्धन र पछि एमाले–माओवादी केन्द्र एकता गरेर तत्कालीन नेकपाले झन्डै दुईतिहाइ बहुमतको जनमत जुटाएको थियो । तर ओली र माधव नेपाल–प्रचण्डको कलहले साढे तीन वर्षमै तितरबितर हुनपुग्यो । 

मतगणनाको नतिजाले आकार लिँदै गएपछि अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संवैधानिक व्यवस्थाले स्थिर सरकार दिँदैन् भन्ने टिप्पणी गलत प्रमाणित हुन लागेको बताएका छन् । उनले भने, ‘अहिलेसम्म गणना गरिएको मत संख्याको आधारमा यो संविधानले बहुमतसहितको स्थिर सरकार दिन सक्दैन भन्ने टिप्पणी फेरि एकपटक गलत प्रमाणित हुने देखिएको छ ।’

२०७९ को स्थानीय तह निर्वाचनमा बालेन शाहजस्तै स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालले पनि रास्वपा बहुमतउन्मुख भएपछि यसपटक मतदाताले गठबन्धन गरेको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘सधै दलले गठबन्धन गर्थे, यसपटक जनताले अभूतपूर्व गठबन्धन गरेका छन् ।’

काठमाडौंमा रास्वपाको क्लिन स्वीप 

शुक्रबार मध्यारातिसम्मको मतपरिणमअनुसार, रास्वपाले काठमाडौं उपत्यकामा क्लिन स्वीप गर्ने देखिएको छ । २०७९ सालको निर्वाचनमा काठमाडौंंका ४ र ललितपुरको एक क्षेत्र जितेको रास्वपाले यसपटक छलाङ मारेको छ । काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्र र भक्तपुरका दुई निर्वाचन क्षेत्रमा जित नजिक देखिएको छ भने ललितपुर १ मा झिनो अग्रता छ । त्यहाँ नेपाली कांग्रेसका उदयशमशेर राणा र रास्वपाका उम्मेदवार बुद्धरत्न महर्जनबीच तीव्र प्रतिस्पर्धा छ । ललितपुर क्षेत्र नं. २ र ३ मा भने रास्वपाको जित पक्का भइसकेको छ ।  

गत निर्वाचनमा काठमाडौंमा चुनावी लहर ल्याएको रास्वपाले यसपटक देशैभर उछाल ल्याएको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेनले अन्तिम चरणमा मात्र उपत्यकामा चुनावी प्रचार रोड शो गरेका थिए । चुनावी प्रचारमा ठुलो हलचल नदेखिएको काठमाडौंमा भित्रभित्रै चर्को आवाजमा घण्टी बजेको छ । 

काठमाडौं–१ बाट रञ्जु दर्शना, काठमाडौं ३ बाट राजुनाथ पाण्डे, काठमाडौं–६ बाट शिशिर खनाल र काठमाडौं–८ बाट विराजभक्त श्रेष्ठ निर्वाचित भइसकेका छन् । काठमाडौं–२ मा सुनिल केसी, काठमाडौं–४ मा पुकार बम, काठमाडौं–५ मा सस्मित पोखरेलले जित्ने निश्चितजस्तै भइसकेको छ । त्यस्तै काठमाडौं क्षेत्र नं. ७ र ९ मा पनि रास्वपा जिततर्फ लम्किएको छ । 

नेपाल मजदुर किसान पार्टीको गढ मानिएको भक्तपुर १ मा पनि यसपटक रास्वपाले चुनाव जित्ने देखिएको छ भने भक्तपुर–२ मा रास्वपाकै राजीव खत्रीले मतान्तर बढाउँदै लगेका छन् । यसरी हेर्दा काठमाडौं उपत्यकाका १५ मध्ये १४ निर्वाचन क्षेत्रमा रास्वपाले जित्ने निश्चितजस्तै भएको छ भने १ क्षेत्रमा तीव्र प्रतिस्पर्धा रहेको छ ।

खुम्चिए मधेशकेन्द्रित दल, राष्ट्रिय दल बन्नै मुस्किल

मधेश आन्दोलनबाट उदाएर राष्ट्रिय राजनीति प्रभावित पार्दैआएका मधेशकेन्द्रित दलहरूका लागि प्रतिनिधिसभा चुनावले थप खुम्च्याइदिएको छ । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा निर्णायक शक्ति बनेको मधेश आधारित दलहरू हरेक चुनावपिच्छे ओरालो लाग्दैआएका छन् । टुटफुट र विभाजनले यी दलहरूको शक्ति क्षयीकरण भइरहेका बेला मधेश छिरेको रास्वपाको लहरले यी दलहरू बढारिने स्थिति आएको हो । 

मधेश राजनीतिबाट केन्द्रमा हस्तक्षेप गर्न नसकेपछि यी दलप्रतिको आकर्षण घट्दै गएको देखिन्छ । गत निर्वाचनमा एमाले मधेशको पहिलो दल बनेको थियो । यी दलहरूले पनि पहाडी जिल्लामा संगठन बिस्तारको कोशिस नगरेका हैनन् । तर उनीहरूलाई राष्ट्रिय दलको रुपमा जनमतले पत्याएन् । 

जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी मधेशका मुख्य दल मानिन्छन् । तीन वर्षअघिको निर्वाचनबाट मधेश प्रदेशमा सीके राउत नेतृत्वको जनमत पार्टी उदाएको थियो भने पश्चिम तराईमा रेशम चौधरी संरक्षक रहेर नागरिक उन्मुक्ति पार्टीले प्रदेश, संघ र स्थानीय सरकारमा उपस्थिति देखाएको थियो । तर यी दुबै दल विभाजित भइ अहिले अस्तित्व संकटमा छन् । 

रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाह बालेनलाई पहिलो मधेशी प्रधानमन्त्रीका रुपमा अघि सारेपछि मधेशमा अरु दलको जनमत कमजोर हुनपुग्यो । मधेशमा प्रत्यक्ष उम्मेदवारभन्दा पनि घण्टी र बालेनकै क्रेज देखिन्छ । जसका कारण मधेश राजनीतिका खेलाडी उपेन्द्र यादव, सीके राउत, राजेन्द्र महतो, राजकिशोर यादवलगायतका नेतालाई चुनाव जित्नै मुस्किल परिरहेको छ । शुक्रबार अबेर रातिसम्म मतगणना भइरहेका क्षेत्रमा मधेशकेन्द्रित दलहरूको आशालाग्दो स्थिति देखिँदैन । रास्वपा र बालेन जादू चलेका बेला झन्डै ४ लाख समानुपातिक मतको थ्रेस होल्ड कटाउन यी दलहरूलाई कठिन भइरहेको छ । 

हुने छैन प्रचण्डसँग म्याजिक नम्बर

बितेको एक दशक ठुला दलका तीन शीर्ष नेताले प्रधानमन्त्रीको कुर्सीलाई म्युजिकल चेयर बनाए । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र साबिकको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पालैपालो प्रधानमन्त्री बने । दुई दलले गठबन्धन गरेर सरकार बनाउने र भत्काउने खेल खेलिरहे । पछिल्लो पटक सरकार अस्थिर बनाएको दोष नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डलाई जान्छ । २०७९ को निर्वाचनमा कांग्रेस र तत्कालीन एकिकृत समाजवादीसँग चुनावी गठबन्धन गरेर चुनाव जिते । लगत्तै, एमाले र रास्वपासँग मिलेर सरकार बनाए । त्यो सरकार पनि तीन महिना टिकेन । प्रधानमन्त्रीका रुपमा प्रचण्डले विश्वासको मत लिएपछि राष्ट्रपति चुनावसम्म आइपुग्दा उनले सत्ता गठबन्धनबाट एमालेलाई आउट गर्दै कांग्रेसलाई इन गरे । त्यसको एक वर्षपछि फेरि कांग्रेसलाई आउट गरेर एमालेलाई भित्र्याए । तत्कालीन माओवादी केन्द्रले ल्याएको ३२ सिटलाई अध्यक्ष प्रचण्डले म्याजिक नम्बर भन्थे । 

रास्वपाको लहर चलेको बुझेपछि सबैभन्दा बलियो क्षेत्र खोज्दै रुकुमपूर्व पुगेका प्रचण्ड भारी मतसहित निर्वाचित भएका छन् । प्रचण्ड १० हजार २ सय ४० मतसहित निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका लिलामणी गौतमले ३ हजार ४ सय ६२ मत ल्याए भने कांग्रेसकी कुसुमदेवी थापाले ३ हजार ८१ मत ल्याएका छन् । 

प्रचण्डले चुनाव जिते पनि अबको संसद्मा उनका समकालीन नेताहरू भने सायदै देखिने छन् । कांग्रेस नेता देउवा चुनावमै उठेनन् । एमाले अध्यक्ष ओली चुनाव जित्ने स्थितिमा छैनन् । नेकपा संयोजक प्रचण्डले रुकुम पूर्वबाट संसद्को ढोका खोले पनि यसपटक उनीसँग न म्याजिक नम्बर छ, न त त्यस्ता नम्बर काम लाग्नेछ ।

सम्बन्धित खबर