
सल्यान : सल्यानको शारदा नगरपालिकाले कुकुरमा देखिने घातक रेबिज रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरेको छ । नगरपालिकाको पशु सेवा शाखाले पालिकाभित्र रहेका छाडा तथा घरपालुवा कुकुरलाई लक्षित गर्दै अभियान सञ्चालन गरेको हो ।
नगरपालिकाका अनुसार गाउँ–वस्तीका साथै खलंगा र श्रीनगर बजारलगायत व्यावसायिक क्षेत्रमा पनि खोप कार्यक्रम जारी रहेको छ । पशु सेवा शाखा प्रमुख तथा पशुचिकित्सक दीपा पौडेलका अनुसार हालसम्म नगरपालिकाका विभिन्न स्थानमा गरी २४६ वटा कुकुरलाई रेबिजविरुद्धको खोप लगाइसकिएको छ ।
रेबिज कुकुरबाट मानिसमा सर्न सक्ने अत्यन्तै घातक संक्रमण भएकाले समयमै नियन्त्रण नगरे मानव र पशु दुवैको जीवनमा गम्भीर जोखिम उत्पन्न हुन सक्ने उनले बताइन् । खोप अभियानमार्फत रोग नियन्त्रणसँगै समुदायमा स्वास्थ्य सचेतना बढाउने लक्ष्य राखिएको उनको भनाइ छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले अभियानलाई क्रमशः सबै वडामा विस्तार गरिने जानकारी दिए । पालिकाभित्रका हरेक कुकुरसम्म खोपको पहुँच पुर्याउने गरी व्यवस्थापन भइरहेको उनले बताए ।
यसैबीच मानव अधिकारकर्मी रामचन्द्र रेग्मीले स्थानीय सरकारद्वारा सञ्चालन गरिएको रेबिजविरुद्धको खोप अभियानलाई सकारात्मक र उदाहरणीय पहल भएको बताएका छन् । उनका अनुसार मानव स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर गरिएको यस्तो अभियान प्रशंसनीय छ ।
नगरपालिकाले रेबिजविरुद्धको अभियानले पशु स्वास्थ्य सुधारसँगै मानव स्वास्थ्य सुरक्षामा पनि महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरेको छ ।