२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

संसदीय मोर्चा बलियो बनाउँदै दलहरू

shivam cement
रुपेश आचार्य
२०८२ चैत ३ गते १०:५२
Shares
संसदीय मोर्चा बलियो बनाउँदै दलहरू

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनपछि प्रमुख दलहरू आ–आफ्ना संसदीय मोर्चा बलियो बनाउनतर्फ लागेका छन् । संसदीय प्रक्रिया र विषयवस्तुबारे अस्पष्टताका कारण सदनमा आवश्यक मात्रामा बहस नहुने गरेको विगतको अनुभव छ । केहीले सांसद पदकै गरिमासमेत जोगाउन नसकेका उदाहरण छन् । 

रास्वपाको सघन बन्द प्रशिक्षण 
झन्डै दुईतिहाइ मत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नयाँ सांसदहरूका लागि अभिमुखीकरण गर्दै छ । महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार, मंगलबार र बुधबार ललितपुरको होटल रोयल टुलिप, ग्वार्कोमा सांसदहरूको अभिमुखीकरण हुनेछ ।

उनले उक्त कार्यक्रममा सहभागी हुने सांसदहरूका लागि सातबुँदे निर्देशन पनि जारी गरेका छन् । कार्यक्रमस्थलमा अन्य व्यक्ति वा पाहुना पनि निषेध गरिएको छ । परिवारका सदस्य, साथी वा अन्यलाई पनि कार्यक्रम भएको होटेलमा नबोलाउन रास्वपाको निर्देशन छ । सांसदहरूले कार्यक्रमस्थलमा परिवारका सदस्य वा अन्य व्यक्तिसँग भेटघाट र फोटो खिच्नसमेत पाउने छैनन् । रास्वपाले प्रत्यक्षबाट १२५ र समानुपातिकबाट ५७ गरी प्रतिनिधिसभामा १८२ सिट जितेको छ ।

कांग्रेस–कम्युनिस्टको सुरसार छैन 

सदनको प्रमुुख प्रतिपक्ष बन्दै गरेको नेपाली कांग्रेसले यसबारे खासै तयारी गरेको छैन  । पाल्पा १ बाट निर्वाचित सांसद सन्दीप रानाले आफूसहित निर्वाचित सांसदहरू राजधानीबाहिरै रहेकाले संसदीय तयारी सुरु भइनसकेको बताए । कांग्रेसमा संसदीय दलको नेताबारे पनि छलफल भएको छैन । 

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीलाई संसदीय दलको नेता चयनमा दबाब नभए पनि संसद्मा प्रभावकारी उपस्थितिका लागि आवश्यक तयारी गरेको देखिँदैन । निर्वाचितहरू अधिकांश बाहिर रहेका र अन्य तयारीसमेत भइनसकेकाले सम्भवतः दोस्रो सातादेखि प्रशिक्षण हुने सल्यान १ बाट निर्वाचित सांसद रमेश मल्लले बताए । 

एमालेको छुट्टै रणनीति 
नेकपा एमालेका लागि यसपटकको संसदीय अभ्यास नितान्त फरक हुनेछ । पार्टीका महत्वपूर्ण पदाधिकारीहरू संसद्बाहिरै रहेकाले उपाध्यक्ष रामबहादुर थापा र सचिव पद्मा अर्यालले नेतृत्व गर्ने सम्भावना देखिन्छ । समानुपातिकतर्फबाट निर्वाचित गुरु बराल २०५१ सालमा समेत प्रतिनिधिसभाको अनुभव लिइसकेका पुराना नेता हुन् । मध्यान्हसँगको कुराकानीमा उनले पार्टी नयाँ र अनुभवी पुस्तालाई सहकार्य तथा समन्वय गरी संसदीय फाँटको गतिविधि अघि बढाइने बताए । ‘नयाँलाई नेपालको संसदीय राजनीतिक मूल्यमान्यता र हालसम्म भएका व्यावहारिक अभ्यासहरूको पूर्ण जानकार बनाएर संसद्मा लगिनेछ,’ उनले भने ।   

विगतमा भएका असल संसदीय अभ्यासका आधारमा फरक उमेर समूूह र फरक पृष्ठभूमि भएका सांसदहरू एकै लयमा चलून् भन्ने उद्देश्य पार्टीले लिएको बरालले बताए । विगतका संसदीय अभ्यासमा भएका कमजोरीबाट पनि शिक्षा लिँदै अघि बढ्नेगरी पार्टीले तयारी गर्ने उनले बताए । तत्काल भने पार्टी अध्यक्ष केपी ओली पितृशोकमा रहेका कारण औपचारिक कार्यक्रम अघि नबढे पनि चैतको तेस्रो साता प्रशिक्षण दिइने उनले बताए ।

पार्टी सचिव पद्मा अर्यालले संसद्को आह्वान भइसकेपछि त्यस्ता तयारी गर्न सक्ने अवस्थामा पार्टी रहेको बताइन् । ‘पुुराना अनुभव भएका नेताहरूको संख्या पनि राम्रै भएकाले संसदीय राजनीतिका मसिना कुरा पनि सिकाउनुपर्ने अवस्था भने छैन,’ उनले भनिन् । 
 

ताजा खबर

सम्बन्धित खबर