
काठमाडौं : भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाहको सचिवालय सदस्यका रूपमा केही वर्ष काम गरेका व्यक्ति हुन् – सन्दीप राना । शाहको सचिवालयमा रहेर उनले तीन वर्षभन्दा धेरै समय काम गरेका थिए ।
भारतबाट फर्केर आन्तरिक पर्यटन प्रवर्धनको काममा लागेका सन्दीप नेपाली भाषा, संस्कृतिको संरक्षण र प्रवर्धन र शिक्षा क्षेत्रको उत्थानमा सक्रिय छन् । उनै राना यसपटक पाल्पा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
२१ फागुनमा सम्पन्न निर्वाचनमा देशैभरि ‘घन्टी’ बज्यो र जताततै ‘बालेन–बालेन’को हावा चल्यो । परिणामस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन नै नभएका र उम्मेदवार नै नचिनिएका क्षेत्रमा समेत घन्टीले ठूलो मतान्तरले जित्यो ।
त्यत्तिकै अप्रत्याशित तरिकाले पाल्पा क्षेत्र नं. १को नतिजा पनि आएको हो । जहाँ घन्टीको आवाज मधुुरो सुनिएको मात्र होइन, ३४ वर्षसम्म वामपन्थीले मात्र जित्दै आएको क्षेत्रमा नेपाली कांग्रेसका ३८ वर्षे उनै सन्दीप रानाले जिते । यो जित नेपाली कांग्रेसका लागि त खडेरीमा जोगिएको फूलसरह भएकै छ, पाल्पाको राजनीति थाहा पाएकालाई भने छक्क पार्ने नतिजा ।
विगतमा पाल्पाका सबै क्षेत्र ‘कांग्रेसले ठुलो मतान्तरले हार्ने’ क्षेत्र मानिन्थे । बहुदल प्राप्तिपछि २०४८ सालबाहेकका निर्वाचनमा नेपाली कांग्रेस पराजित हुँदै आएकाले कांग्रेसकै नेताहरूले जित्नसक्ने सम्भावना नभएको क्षेत्रका रूपमा राखेका थिए, पाल्पा १ लाई ।
देशैभरि प्रतिकूल अवस्था सिर्जना भएका बेला ३८ वर्षीय रानाले एमालेको विरासत भत्काउँदै त्यस्तो ठाउँबाट ३४ वर्षअघि गुमेको कांग्रेसको विरासत फिर्ता ल्याउन सफल भए । पछिल्लो अर्थात् २०७९को प्रतिनिधिसभा निर्वाचनमा फराकिलो मतान्तरसहित निर्वाचित भएका एमाले उम्मेदवार नारायणप्रसाद आचार्यलाई एक हजार ५१७ मतले पछि पार्दै सन्दीप प्रतिनिधिसभा सदस्य निर्वाचित भए । निकटतम प्रतिद्वन्द्वी आचार्यले १६ हजार ८१९ मत प्राप्त गर्दा रानाले कुल १८ हजार ३३६ मत ल्याएका थिए ।
विसं २०४४ सालमा रामपुर नगरपालिका–४, गिजिनडाँडामा जन्मिएका राना नेपाल विद्यार्थी संघका स्कुले कार्यकर्ता हुन्, सन्दीप । क्याम्पस जान थालेपछि नेवि संघ पाल्पाको जिल्ला कार्यसमिति सदस्य हुँदै सक्रिय राजनीतिमा लागेका रानाको पदीय हैसियत कांग्रेसको महासमिति सदस्य र लुम्बिनी प्रदेश सदस्यसमेत हो ।
नेपालमा राजनीति गर्दागर्दै उच्चशिक्षाका लागि दिल्ली विश्वविद्यालय पुगेका सन्दीपले त्यहाँ राजनीतिशास्त्र र कानुनको अध्ययन थालेका थिए । स्वदेशमा जस्तै त्यहाँ पनि विद्यार्थी राजनीतिको गतिविधिमा संलग्न भएका उनी नेपाल विद्यार्थी संघ भारतको सभापति, विश्व विद्यार्थी युवा संघको अन्तर्राष्ट्रिय सचिव, अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानको अध्यक्षसमेत भए । भारतमै रहँदा त्यहाँ भारतीय जनता पार्टीको सरकार आयो । नरेन्द्र मोदी प्रधानमन्त्री र भाजपाका तत्कालीन अध्यक्ष राजनाथ सिंह गृहमन्त्री बनेपछि अमित शाह भाजपा प्रमुख बने ।
उनै भाजपा अध्यक्ष शाहको सचिवालयमा रहेर सन्दीपले केही वर्ष काम गरेका हुन् ।
विसं २०७२को विनाशकारी भूकम्प, कोरोना महामारीको समयमा रानाले स्थानीयलाई सहयोग गरेका थिए । सन्दीप पूर्वी पाल्पामा शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन तथा खेलकुद क्षेत्रको विकाससँगै स्वरोजगार सिर्जना गर्न, स्थानीय, कला, संस्कृतिको जर्गेना तथा प्रवद्र्धनमा समेत निरन्तर सक्रिय थिए ।
भारतबाट फर्किएपछि पाल्पाको कांग्रेस राजनीतिमा सक्रिय उनी अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ बन्दसूचीमा थिए । हाल नेपाली कांग्रेसको महासमिति सदस्य तथा लुम्बिनी प्रदेशका सदस्यसमेत छन् ।
सन्दीपलाई स्कुलमा छँदा २०६० सालमा आफैले नेविसंघको सदस्यता दिएको पाल्पा कांग्रेस सभापति हिमालदत्त श्रेष्ठले बताए । उनी भन्छन्, ‘सन्दीप सामान्य परिवारको केटा हो, पढ्ने र काम पनि गर्ने हिसाबले भारत गएको थियो । उसको सक्रियताका कारण अमित शाहको सचिवालयमा काम गर्ने मौका पायो ।’
सन्दीप प्रत्यक्ष निर्वाचनको टिकटका लागि एकल सिफारिस हुनुमा अरू कारण नभएर पाल्पा क्षेत्र नं. १ पहिलेदेखि नै कांग्रेसको कमजोर क्षेत्र मानिनु रहेको सभापति श्रेष्ठ बताउँछन् । ‘२०४८ सालमा कालुराम रानाले जितेको यो क्षेत्रमा २०५१ सालदेखि एमालेले मात्र जितिरहेको थियो । त्यसका आधारमा अरू साथीहरूले छाडेपछि राना एकल सिफारिसमा परेका हुन्,’ उनले भने ।
स्थानीय मुद्दाबारे जानकार र अन्तराष्ट्रिय राजनीतिक मुुद्दाहरूमा एक्पोजर पाएका सन्दीपलाई यसपटक पाल्पा १का मतदाताले जिताइदिएका हुन् । युवा उम्मेदवारलाई टिकट दिनुपर्ने कांग्रेसका स्थानीय कार्यकर्ताको अपिल पनि थियो । सोहीअनुसार नेपाली कांग्रेस क्षेत्र नं. १ले सन्दीपलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा एकल सिफारिस गरेको थियो । उक्त सिफारिसअनुसार उम्मेदवार भएका सन्दीपले देशव्यापी रास्वपाको लहर आउँदासमेत जित निकाले । अब उनको भूमिका संघीय संसद्मा रहेर नीति बनाउने र सरकारको कामकारबाहीको निरन्तर निगरानी र खबरदारी गर्नेमा केन्द्रित हुनेछ ।
मध्यान्हले यसबारे सोध्दा सन्दीपले आफू सानै उमेरदेखि नेवि संघको राजनीति गरेर हुर्किएको र पछि नेपाली कांग्रेसको राजनीतिमा लागेको बताए । भाजपा अध्यक्ष शाहको सचिवालयमा कार्यरत रहँदाको प्रसंगमा भने उनले बोल्न चाहेनन् ।