
सल्यान : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सल्यान जिल्लाबाट ४ हजार १ सय ४२ जना विद्यार्थी सहभागी हुने भएका छन् । परीक्षा आगामी चैत १९ गतेदेखि २९ गतेसम्म जिल्लाका १९ परीक्षा केन्द्रमार्फत सञ्चालन हुने शिक्षा विकास तथा समन्वय इकाइ सल्यानले जनाएको छ ।
इकाइका सूचना अधिकारी कपिलकुमार जोशीले यस वर्ष परीक्षा साधारण, प्राविधिक र ग्रेड वृद्धि (सुधार) गरी सञ्चालन हुनेछ । प्राविधिक धारामा २५२ जना र ग्रेड सुधारतर्फ ८६ जना विद्यार्थी सहभागी बताए । उनका अनुसार परीक्षा मर्यादित, शान्त र भयरहित वातावरणमा सञ्चालन गर्न आवश्यक प्रशासनिक र व्यवस्थापकीय तयारी तीव्र रूपमा अघि बढाइएको छ ।
परीक्षा तयारीका क्रममा प्रत्यक परीक्षा केन्द्रमा सिट योजना, परीक्षा कक्षको व्यवस्था, मूल्यांकन तालिका, स्वास्थ्य सुरक्षा उपाय र शिक्षक तथा कर्मचारीको परिचालन सुनिश्चित गरिएको छ । इकाइले परीक्षार्थी र शिक्षक दुवैका लागि सहज वातावरण सुनिश्चित गर्न सबै तयारी पूरा भएको जानकारी पनि दिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ सल्यानले सबै परीक्षा केन्द्रमा स्वच्छता, पानी, स्वास्थ्य सुरक्षा उपकरण र आपतकालीन व्यवस्था सुनिश्चित गरी तयारी पूरा गरेको जनाएको छ ।