
कपिलवस्तु : इलाका प्रहरी कार्यालय कृष्णानगरमा नेपाल प्रहरी र ट्राफिक प्रहरीहरूको निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज छन्द (कालेबाबु)–नारायणी आँखा अस्पतालको सहकार्यमा आयोजित यस कार्यक्रममा कृष्णानगर र सो मातहतका प्रहरी कर्मचारीलाई आँखा जाँच गरिएको थियो ।
ईलाका प्रहरी कार्यालय कृष्णानगरका प्रहरी निरीक्षक कृष्ण बहादुर कुँवरका अनुसार, गर्मीको मौसममा धुलो उड्ने परिस्थितिमा डिउटी गर्ने प्रहरीहरूको आँखाको स्वास्थ्य सुनिश्चित गर्न यो कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा ६० भन्दा बढीको आँखा जाँच गरिएको थियो ।
कार्यक्रम अन्तर्गत ९ जना प्रहरीलाई निःशुल्क चश्मा प्रदान गरिएको थियो भने अन्यलाई आवश्यक अनुसार आइ–ड्रप वितरण गरिएको थियो । कार्यक्रममा आँखा अस्पतालका विशेषज्ञ डाक्टरहरू पनि उपस्थित थिए ।