२०८२ चैत १२ गते बिहिवार / Mar 26 , 2026 , Thursday
२०८२ चैत १२ गते बिहिवार
Ads

त्रिवि परिसरमा थप ५० मृत काग फेला, आज टौदहवरपर अध्ययन गरिने

himalayanlife
रुपेश आचार्य
२०८२ चैत १२ गते ०६:२०
Shares
त्रिवि परिसरमा थप ५० मृत काग फेला, आज टौदहवरपर अध्ययन गरिने

काठमाडौं : कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा बुधबार थप ५० कागहरू मृत भेटिएका छन् । मंगलबार ठुलो संख्यामा कागहरू मृत भेटिएका थिए । जाँचका क्रममा ती कागमा बर्डफ्लु संक्रमण पुष्टि भएको थियो । 

कीर्तिपुर नगरपालिका तथा पशुस्वास्थ्य विभागको संयुक्त टोलीले बुधबारसमेत त्रिवि परिसरमा मृत पक्षीको खोजी जारी राख्ने निर्णय गरेको थियो । नगरपालिकाकी पशुसेवा प्रमुख सुशीला गैरेले बुधबार त्रिवि परिसरको राज्याभिषेक उद्यानमा मृत पक्षी खोज्ने कार्य सपन्न भएको जानकारी दिइन् । यसबारे मध्यान्हसँग कुरा गर्दै उनले भनिन्, ‘कीर्तिपुर नगरपालिकाकै ६नं वडामा पर्ने टौदह क्षेत्रमा पनि केही स्थानमा पक्षी मरेको भेटिएको भन्ने खबर छ, भोलि (बिहीबार) त्यता जान्छौं,’ उनले भनिन् । 

त्रिविको सर्वाधिक खुला तथा ठुला बोटविरुवायुुक्त स्थानका रूपमा रहेको वीरेन्द्र राज्याभिषेक उद्यानमा एक सातादेखि मरेका कागहरू फेलापरेका थिए । त्यो स्थानलाई विद्यार्थीहरूले छहारीमा बसेर पढ्ने तथा समतल ठाउँमा क्रिकेट खेल्न प्रयोग गर्दै आएका थिए । 

प्रयोगशाला परीक्षणबाट बर्डफ्लू पुष्टि भएपछि नगरपालिका र पशुसेवा विभागको टोलीले मंगलबार मरेका कागहरू संकलन गरी खाडल खनेर पुुरेको थियो । 

पशुसेवा विभागका वरिष्ठ पशुचिकित्सक मुकुल उपाध्यायका अनुसार डुलुवा पक्षीमा पर्ने कागमा फिरन्ते चराहरूबाट बर्डफ्लु संक्रमण भएको हुन सक्छ । केही वर्षअघि राजधानीस्थित बेलायती राजदूतावास परिसरमा पनि यसैगरी कागमा बर्डफ्लु संक्रमण देखिएको थियो । 

समस्या फैलिन नदिन पशुु सेवा विभागले कुखुरा, बट्टाई वा कालिजपालक किसानलाई जंगली चराचुरुंगी, कुकुर वा बिराला जान नसक्ने गरी खोरको व्यवस्थापन गर्न तथा खुला ढंगले चराचुरुंगी नपाल्न अपिल गरेको छ । 

सम्बन्धित खबर