
प्यूठान : प्यूठान अस्पताल, बिजुवारमा पहिलोपटक डायलासिस सेवा सञ्चालनमा आएसँगै प्यूठानसहित आसपासका जिल्लाका मिर्गौला बिरामीलाई ठुलो राहत मिल्ने भएको छ । अबसम्म नियमित उपचारका लागि जिल्ला बाहिर धाउन बाध्य बिरामीहरूले आफ्नै जिल्लामै सेवा पाउने छन् ।
प्यूठान नगरपालिका–२ का ५२ वर्षीय पहलमान बिष्टले यसअघि डायलासिसका लागि बुटवलमा बसोबास गर्नुपरेको स्मरण गर्दै अहिले जिल्लामै सेवा उपलब्ध हुँदा समय र खर्च दुबै बचत भएको बताए । “अब उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटेको छ,” उनले भने ।
अस्पतालले चैते दशैंको अवसर पारेर औपचारिक रूपमा सेवा सुरु गरेको हो । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सुवास पौडेलका अनुसार मिर्गौला बिरामीलाई स्वास्थ्य अवस्थाअनुसार हप्तामा दुई पटकसम्म डायलासिस गर्नुपर्ने हुन्छ ।
उनले प्यूठानमै सेवा सुरु हुनु प्यूठान, रोल्पा पूर्ण रूपमा तथा गुल्मी र अर्घाखाँचीका आंशिक बिरामीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । सेवा विस्तारका लागि स्वास्थ्य सेवा विभाग अन्तर्गत नर्सिङ महाशाखामा आवश्यक प्रक्रिया अघि बढाइसकिएको पनि उनले जानकारी दिए ।
डायलासिस सेवा सञ्चालनका लागि करिब १ करोड ७६ लाख रुपैयाँ लगानी गरिएको छ । यस परियोजनाको पहल लायन्स क्लब अफ प्यूठानले गरेको हो, जसमा ७५ प्रतिशत लागत क्लबले व्यहोरेको छ भने बाँकी २५ प्रतिशत स्थानीय तहहरूले व्यहोर्ने प्रतिबद्धता जनाएका छन् ।
अस्पतालमा हाल ८ वटा डायलासिस मेसिन जडान गरिएको छ । तीमध्ये ६ वटा मेसिन (एक आपतकालीनसहित) दैनिक दुई सिफ्टमा सञ्चालन हुनेछन् भने २ वटा मेसिन आकस्मिक अवस्थाका लागि जगेडामा राखिएको छ ।
जिल्लामा हाल करिब ८६ जना बिरामी नियमित डायलासिसमा निर्भर छन् । यसअघि सेवा अभावका कारण उनीहरू लमही, बुटवल, नेपालगञ्ज र काठमाडौंसम्म पुग्न बाध्य थिए । अब भने जिल्लामै सेवा उपलब्ध भएपछि छिमेकी रोल्पा, अर्घाखाँची र गुल्मीका बिरामीले समेत सहज रूपमा उपचार पाउने अपेक्षा गरिएको छ ।
डायलासिस सेवा सुरु भएसँगै स्वास्थ्य सेवामा पहुँच विस्तार हुनुका साथै बिरामीको आर्थिक भार घट्ने र जीवनस्तर सुधारमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।