२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

एकै बेञ्चमा आए कांग्रेस, एमाले र नेकपा

himalayanlife
रुपेश आचार्य
२०८२ चैत १३ गते ०६:३०
Shares
एकै बेञ्चमा आए कांग्रेस, एमाले र नेकपा

काठमाडौं : नवनिर्वाचित प्रधिनिधिसभा सदस्यले बिहीबार शपथ लिएसँगै तल्लो सदनको कारबाही ६ महिनापछि नौलो स्वरूप र भावभंगीमा फर्किएको छ ।    

सदन बानेश्वरबाट सिंहदरबार पुगेको मात्र होइन पात्र, प्रवृत्ति  र परिवेश नै नितान्त नौलो अनुभूति हुने गरी फेरिएका छन् । हिजोका शक्तिशाली सत्तापक्ष अहिले कमजोर प्रतिपक्षी दीर्घामा धकेलिएका छन् । एक सय ८२ जनाले सत्तापक्षबाट ‘हुन्छ’ भन्दा ‘हुन्न’ भन्नेहरूको स्वर धेरै मसिनो हुने अवस्था बनेको छ । सदनबाट देशको ध्यान आफूतिर तान्न सक्ने थुपै सदस्य यसपटक त्यहाँ छैनन् । अधिकांशः नयाँ हिजोका तुलनामा निकै कम उमेरका माननीयको बाहुल्य छ । 

हिजोको आफ्नै शक्ति र अहिलेको सत्तापक्षको शक्तिभन्दा निकै कमजोर संख्यामा छन्, प्रतिपक्षीहरू । शपथ गर्न जाँदै गर्दा र फर्केर आएपछि तिनले सञ्चारकर्मीलाई दिएको प्रतिक्रियाले उनीहरू सदनभित्र चुप लागेर नबस्ने देखिन्छ । 

देशभरबाट जितेका एक मात्र स्वतन्त्र सांसद महावीर पुनले  सत्तारुढ पार्टीको व्यवहारमा आफ्नो भूमिका निर्भर हुने बताए । ‘मेरो तरिका के छ भने जिन्दगीमा जे आइपर्छ त्यही गर्ने । कहीँ पछि नहट्ने,’ उनको भनाइ थियो । यसबाहेक शिक्षामा राजनीतिको अन्त्य गर्न र वैज्ञानिक प्रवर्तनका लागि खबरदारी गर्ने पनि उनले बताए । 

श्रम संस्कृतिलाई मानक बनाएर पूर्वबाट उदाएका हर्क साङपाङले आफ्नो पार्टीलाई प्रतिपक्षमै बस्न जनादेश भएको बताए । सत्ता पक्षबाट कस्तो प्रस्ताव आउँछ, त्यसले सदनमा आफ्नो भूमिका निर्भर गर्ने उनको भनाइ छ । ‘हाम्रो  सिर्जनात्मक सहयोग र आलोचनात्मक समर्थन हुनेछ,’ उनले भनेका छन् । पुराना पार्टीका ठाउँमा श्रमसंस्कृति पार्टी र रास्वपाले मत पाउनुको अर्थ अब अकर्मण्यताले छुट नपाउने भन्ने रहेको पनि उनले बताए । 

एमाले सांसद क्षितिज थेबे सदनमा आफ्नो पार्टीको संख्या कमजोर भए पनि प्रतिपक्षी आवाज उठाउन र सरकारको गलत कदमविरुद्ध खबरदारी गर्न पर्याप्त भएको धारणा राख्छन् । जनादेशअनुसार सत्ता पक्षका गतिविधिको मिहीन अध्ययन गर्ने र आवश्यक कदम चाल्ने उनले बताए । एमालेका अर्का सांसद सुहाङ नेम्वाङले सत्तापक्षका सबै कार्य विरोधयोग्य नहुने बताउँदै गुण र दोषका आधारमा सदनमा भूमिका खेल्ने बताए । 

नेपाली कांग्रेसकी उर्मिला थपलियाले सरकारका कामकारबाहीको निगरानी राख्न र गलत कार्यलाई सदन हुँदै सडकसम्म ल्याउन संख्या पर्याप्त भएको बताइन् । संविधान, लोकतन्त्र र राष्ट्रिय सवालमा सरकार कसरी प्रस्तुत हुन्छ, प्रतिपक्षको भूमिका त्यसले निर्धारण हुने उनको भनाइ छ । 

नेपाली कम्युनिस्ट पार्टीका सासंद रमेश मल्लले सरकारले राम्रै गरोस् भन्नेमा आफूहरूले शुभकामना दिएको बताए । ‘फलेको वृक्ष निहुरियोस्, अन्य शक्तिलाई बेवास्ता गरेर अघि बढनुहुँदैन भन्ने हाम्रो निष्कर्ष छ ।’ प्रतिपक्ष समूह सानो छ, हामी मिचिहाल्छौं भन्ने प्रवृत्तिले हिजोको राजनीतिमा समस्या ल्याएको पनि उनले बताए । ‘सदनमा सानो संख्यामा तर सशक्त प्रतिपक्ष छ, उसलाई साथै लिएर हिँड्दा राम्रो हुन्छ,’ उनको भनाइ थियो ।  

विगतमा जस्तै आफूले देशहितको पक्षमा सशक्त आवाज उठाउने राप्रपाका ज्ञानेन्द्र शाही बताउँछन् । विगतको राजनीतिलाई जनताले अस्वीकार गरेको अवस्थामा पुरानै प्रवृत्ति दोहोर्‍याउने छुट सरकारलाई नभएको उनको धारणा थियो । ‘देशहितका लागि जुनसुकै हदमा उत्रेर पनि काम गर्न तयार छु,’ उनको भनाइ थियो ।

सम्बन्धित खबर