२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

शपथ ग्रहणको नयाँपन र सांस्कृतिक इम्प्रेसन

himalayanlife
रुपेश आचार्य
२०८२ चैत १३ गते १६:३२
Shares
शपथ ग्रहणको नयाँपन र सांस्कृतिक इम्प्रेसन

काठमाडौं : नयाँपनको सन्देशसहित सत्तामा आएका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आफ्नो शपथ ग्रहण समारोहलाई पनि फरक शैलीमा प्रस्तुत गरेका छन् । परम्परा र आधुनिकताको संयोजन देखिएको उक्त समारोहले आम जनताको ध्यान खिचेको छ ।

शुक्रबार १२:३४ बजेका लागि तय गरिएको शपथ ग्रहण निर्धारित समयमै सीमित नरही सांस्कृतिक आयामसहित अघि बढाइएको थियो । राष्ट्रपति रामचन्द्र पौडेल स्वयं शपथ गराउन उभिएपछि घडी हेरेर मुहूर्तको प्रतीक्षा गरिएको दृश्यले कार्यक्रमको औपचारिकता र महत्त्व झल्काएको थियो ।

समारोह सुरु हुनुअघि सात जना ब्राह्मणद्वारा गरिएको शंखनादले स्थल गुञ्जायमान बनेको थियो । त्यसपछि १०८ जना बटुकहरूले वैदिक मन्त्रसहित स्वस्तिवाचन गरे भने १०७ जना बौद्ध भिक्षुहरूले अष्टमंगल पाठ गरेका थिए। हिन्दू र बौद्ध परम्पराको समिश्रणले कार्यक्रमलाई बहुसांस्कृतिक स्वरूप दिएको थियो ।

शपथ ग्रहण स्थललाई पनि नेपाली सांस्कृतिक पहिचान झल्किने गरी सजाइएको थियो । मिथिला चित्रकला र किरात समुदायको ‘सिलाम साक्मा’ जस्ता सांस्कृतिक तत्वहरूले उपस्थितहरूको ध्यान तानेका थिए ।

प्रधानमन्त्री शाह आफ्नो परिचित शैली- कालो पोशाक र कालो चस्मामा मञ्चमा उपस्थित भएका थिए, जुन दृश्य नेपालका शपथ समारोहहरूमा सामान्यतया देखिँदैन थियो । उनले राष्ट्रभाषा नेपालीमै शपथ ग्रहण गरेका थिए ।

शपथपछि उनले निर्वतमान प्रधानमन्त्रीसँग अंकमाल गर्दै बधाई साटासाट गरे । त्यसलगत्तै आमा, पत्नी र छोरीलाई मञ्चमै बोलाएर बधाई लिँदै छोरीलाई काखमा राखेर तस्बिर खिचाएको दृश्यले कार्यक्रमलाई भावनात्मक बनाएको थियो ।

समारोहमा भगवान शिव र पार्वतीको भेषमा दुई जनाको उपस्थिति पनि देखिएको थियो, जसले सांस्कृतिक प्रस्तुति थप आकर्षक बनाएको थियो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल 'प्रचण्ड', माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई उपस्थित भई बधाई दिएका थिए । राष्ट्रपति कार्यालयले सबै पूर्वप्रधानमन्त्रीलाई निम्तो दिएको भए पनि पिता मोहनप्रसाद ओलीको निधनका कारण शोकमा रहेका केपी शर्मा ओली भने उपस्थित हुन सकेनन् ।

सम्बन्धित खबर