२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

पूर्वाधार अभावले थलियो प्यूठान अस्पताल, ठेकेदार फरार हुँदा भवन अलपत्र

Nada
मधुसुदन भण्डारी
२०८२ चैत १७ गते २१:०८
Shares
पूर्वाधार अभावले थलियो प्यूठान अस्पताल, ठेकेदार फरार हुँदा भवन अलपत्र

प्यूठान : स्वास्थ्य उपचारजस्तो संवेदनशील सेवा दिने स्थल प्यूठान अस्पताल आफैं पूर्वाधार अभावले थलिएको छ । बिहानैदेखि सेवा खोज्दै आउने बिरामीको भीड व्यवस्थापन गर्न अस्पताललाई कठिन भइरहेको छ । 

ncell

भित्र ओपिडी सेवा पुरानै साँघुरा कोठामा खुम्चिएको छ भने बाहिर अत्याधुनिक भवन अधुरै अवस्थामा छरपस्ट निर्माण सामग्री र अलपत्र कामले अस्पताल व्यवस्थापन मात्र होइन, प्रदेश सरकारसमेत आर्थिक र प्रशासनिक दबाबमा पर्ने संकेत देखिएको छ ।

अस्पतालभित्रको अवस्था झन् जटिल छ । पुरानो भवनका साँघुरा गल्लीभरि बिरामी र कुरुवाको भीड हुन्छ । ‘कुन कोठामा जाने, लाइन कहाँ बस्ने थाहा हुँदैन, दिनभरि अलमलमै बित्छ,’ अधिकांश सेवाग्राहीको गुनासो छ । सबै ओपिडी सेवा सीमित कोठाबाट सञ्चालन हुँदा एउटै स्थानमा धेरै विभागको चाप देखिन्छ । यसले स्वास्थ्यकर्मीलाई काम गर्न असहज बनाएको छ भने बिरामीलाई सेवा लिन थप सास्ती खेप्नुपरेको छ ।

पछिल्ला वर्षमा अस्पतालले केही आधुनिक उपकरण भित्र्याए पनि ती प्रयोगमा आउन सकेका छैनन् । पर्याप्त स्थान अभावका कारण उपकरण थन्क्याएर राख्नुपरेको अस्पताल प्रशासन बताउँछ । पूर्वाधार अभावकै कारण प्रविधि निष्क्रिय हुनु स्वास्थ्य सेवाको प्रभावकारितामाथि गम्भीर प्रश्न बनेको छ ।

उता, आधुनिक सेवा विस्तार गर्ने लक्ष्यसहित सुरु गरिएको नयाँ भवन निर्माण कार्य भने दुई वर्षदेखि अलपत्र छ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत शहरी विकास तथा भवन कार्यालय, दाङले बाँकेको नेपालगञ्जस्थित ग्राण्ड डिजाइन कन्स्ट्रक्सन प्रा.लि.सँग २०८० चैत ७ गते २१ करोड ३० लाख रुपैयाँभन्दा बढीमा सम्झौता गरेको थियो। करिब २९ करोड ३९ लाख रुपैयाँ लागत अनुमान गरिएको पाँच तले भवन २०८३ असार ६ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर हालसम्म निर्माण प्रगति करिब २० प्रतिशतमा सीमित छ, पहिलो तलासमेत पूरा भएको छैन ।

No description available.

शहरी विकास तथा भवन कार्यालय, दाङका प्रमुख ईश्वरी प्रसाद देवकोटाले पटक–पटक ताकेता गर्दा पनि काम अघि नबढेको स्वीकार गर्छन् ।‘आवश्यक परे कानुनी प्रक्रिया अघि बढाउँछौँ,’ उनले भने । अस्पताल विकास समितिका अध्यक्ष विजय विराज विष्टका अनुसार ठेकेदार सम्पर्कमा नआउँदा समस्या झन् जटिल बनेको छ । ‘प्रदेश सांसददेखि प्रशासनसम्मले खोज्यौं, तर काम गर्ने वातावरण बनेन । हामी हैरान भइसकेका छौं,’ उनले भने । 

आर्थिक वर्ष २०८०/८१ मा ११ करोड रुपैयाँ निकासा भएकोमा करिब १ करोड बराबरको मात्रै काम भएको छ । चालु आर्थिक वर्षमा थप २ करोड निकासा भए पनि प्रगति सन्तोषजनक छैन । यसले बजेट कार्यान्वयन र अनुगमन प्रणालीको प्रभावकारितामाथि प्रश्न उठाएको छ ।

समयमै निर्माण सम्पन्न नभए संघीय सरकारबाट प्राप्त विशेष अनुदान गुम्ने जोखिम बढेको छ । त्यसो भएमा बाँकी निर्माणको आर्थिक भार प्रदेश सरकारमै थपिनेछ। सार्वजनिक खरिद ऐनअनुसार ठेकेदारले तोकिएको समयभित्र काम नगरेमा जरिवाना, जमानत जफत, ठेक्का रद्द तथा कालोसूचीमा राख्नेसम्मको व्यवस्था भए पनि व्यवहारमा ती प्रावधान प्रभावकारी रूपमा लागू हुन सकेका छैनन् ।

प्यूठान अस्पतालमा प्यूठान मात्र नभई रोल्पा, गुल्मी लगायत आसपासका जिल्लाबाट पनि सेवाग्राही आउने भएकाले चाप अत्यधिक छ । जिल्लाका ९ मध्ये ८ स्थानीय तहमा आधारभूत अस्पताल भवन निर्माण भइसके पनि जटिल सेवा भने जिल्ला अस्पतालमै केन्द्रित छ । यस्तो अवस्थामा जिल्ला अस्पतालको कमजोर भौतिक पूर्वाधार समग्र स्वास्थ्य सेवामाथिको चुनौती बनेको छ ।

प्यूठान अस्पतालको अहिलेको यथार्थ विरोधाभासपूर्ण छ, भित्र बिरामीको चाप र सेवा अभाव छ भने बाहिर करोडौं लगानी अधुरो संरचनामा थन्किएको छ । समयमै भवन निर्माण सम्पन्न भएको भए यही अस्पतालले हजारौं नागरिकलाई सहज, व्यवस्थित र गुणस्तरीय सेवा दिन सक्थ्यो । तर हाल सेवाग्राही सास्ती खेपिरहेका छन् र राज्यको लगानी उपयोगविहीन बनेको छ ।

ताजा खबर

सम्बन्धित खबर