
विराटनगर : विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि महानगर सधैं साथ रहने बताएकी छन् ।
अभिनव मिडिया प्रा.लि. विराटनगर र विराटनगर महानगरपालिकाको सहयोगमा सञ्चालित तीनदिने आधारभूत पत्रकारिता तालिमको शनिबार आयोजित समापन कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेकी हुन् ।
उनले समाचार लेख्दा सत्यतथ्यमा आधारित हुनुपर्नेमा जोड दिँदै असल पत्रकारले समाजलाई सही बाटोमा लैजान महत्वपूर्ण भूमिका खेल्ने बताइन् । “पत्रकार समाजको ऐना हो,” उनले भनिन्, “यस प्रकारका तालिमले पत्रकारहरूमा काम गर्ने हौसला बढाउनुका साथै क्षमता अभिवृद्धिमा पनि सहयोग पुर्याउँछ ।”
उपप्रमुख कार्कीले समाचार लेख्दा इमान्दारिता, पारदर्शिता र पत्रकार आचारसंहिताको पालना गर्नुपर्नेमा विशेष जोड दिइन् ।
तालिमका प्रमुख प्रशिक्षक सीमा बस्नेत तथा प्रशिक्षकहरू नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, पत्रकार सुमन सुस्केरा र सूचनाको हक अभियन्ता राजु श्रेष्ठले प्रशिक्षण दिएका थिए । कार्यक्रममा विराटनगरसहित कटहरी, ग्रामथान, रंगेली लगायतका पालिकाबाट उल्लेख्य सहभागिता रहेको थियो ।
तालिममा सहभागी डेविट केसीले असल पत्रकार बन्न सके आफू मात्र नभई समाजलाई पनि सही दिशा दिन सकिने बताए । उनले यस्ता तालिमले पत्रकारितामा थप निखार ल्याउने विश्वास व्यक्त गरे ।
अर्की सहभागी सम्झना कार्कीले तालिमबाट आफूले नजानेका धेरै विषय प्रशिक्षकहरूबाट सरल रूपमा सिक्न पाएको भन्दै खुशी व्यक्त गरिन् ।
यसै अवसरमा विराटनगरको महेन्द्र मोरङ कलेजमा अध्ययनरत बीपीए संकाय अन्तर्गत छैटौं सेमेस्टरकी विद्यार्थी तथा सञ्चारकर्मी विद्धिशा भट्टराईलाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।
संस्थाकी अध्यक्ष चिना थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले तालिमले सहभागीहरूको सीप विकासमा योगदान पुग्ने र निरन्तर लगनशीलता भए सफलता हासिल गर्न सकिने विश्वास व्यक्त गरिन् ।